विद्यार्थी शून्य शिक्षक ३ 

तृप्ति शाही

बैतडी — दशरथचन्द नगरपालिका १० मा रहेको ज्ञानेश्वर आधारभूत विद्यालयमा विद्यार्थी शून्य छ । सहयोगीसहित शिक्षकको संख्या भने ४ छ । गत वर्षसम्म १२ विद्यार्थी भए पनि यो शैक्षिक सत्रमा भने कोही भर्नै भएनन् । ‘हामीहरू हाजिर लगाएर घर फर्किन्छौं । विद्यालय लगभग बन्द जस्तै छ,’ प्रधानाध्यापक माया विष्टले भनिन् । 

०४८ सालमा स्थापना भएको विद्यालयमा पोहोरसम्म विद्यार्थी भर्ना हुने गरे पनि यो वर्ष कोही आएनन् । ‘विद्यालय मर्ज गर्नुको विकल्प छैन,’ विष्टले भनिन् । नगरपालिकाको यो वडामा ४ विद्यालय छन् । अन्यको अवस्था पनि उस्तै हो । २ माध्यमिक र २ आधारभूत विद्यालय रहेको वडाका अन्य ३ विद्यालयमासमेत विद्यार्थी संख्या न्यून छ । शान्ति आधारभूत विद्यालयमा ४ जना मात्र छन् ।

दानेश्वर नागार्जुन माविमा २ सय र दानेश्वर माविमा १ सय ५० विद्यार्थी रहेको दानेश्वरका प्रधानाध्यापक हरकसिंह विष्टले बताए । अधिकांश अभिभावकको आकर्षण निजी बोर्डिङमा भएकाले सामुदायिकमा विद्यार्थी कम भएको शिक्षकहरू बताउँछन् । ‘बजार क्षेत्रको बसाइसराइको प्रभाव र अभिभावकमा निजीको आकर्षणले हाम्रोमा विद्यार्थी संख्या न्यून छ,’ विष्टले भने, ‘विद्यार्थी संख्या थोरै भएका वडामा आधारभूत विद्यालय मर्ज हुने तयारीमा छन् ।’

विद्यालय बन्द हुने अवस्था आएकोप्रति भने स्थानीय ज्येष्ठ नागरिकहरू पनि चिन्तित छन् । आफ्नै गाउँमा निकै मिहिनेत गरी स्थापना गरिएका विद्यालयहरू बन्द हुने अवस्थामा पुग्दा पनि युवा पुस्ताले चासो नराखेकोउनीहरूको गुनासो छ । ‘वर्षौंअघि श्रमदान गरी स्थापना गरेका विद्यालय बन्द हुँदा नरमाइलो लागेको छ,’ भटालाकी जयन्ती विष्टले भनिन्, ‘हाम्रा बुढापाकाहरूले मिलेर बनाए ।

अहिले बन्द हुने अवस्था आउनु राम्रो होइन ।’ छोराछोरीलाई बोर्डिङ पढाउने लहर चलेकाले यो अवस्था आएको उनको भनाइ छ ।
सामुदायिकमा विद्यार्थी संख्या न्यून हुने समस्या पहिल्यैदेखि रहेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । दरबन्दी मिलानको समस्या रहेकाले विद्यार्थी संख्याभन्दा शिक्षक कम भएका विद्यालय रहेको उनले बताए । संघीय सरकारको ऐन पारित हुने तयारीमा रहेकाले लामो समय यो समस्या नरहने उनले बताए । ०७१ देखि दरबन्दी मिलानको प्रयास सुरु भएको उनको भनाइ छ ।

सामुदायिकमा विद्यार्थी घट्दै जानु चिन्ताको विषय भएको दशरथचन्द नगरपालिका उपप्रमुख मीना चन्द बताउँछिन् । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम जारी राखेको बताउँदै उनले आगामी दिनमा विशेष योजनासाथ अघि बढ्ने बताइन् । उनले सामुदायिक विद्यालयहरूलाई नमुना बनाउन पालिकाले ठोस योजना बनाएर कार्यक्रमहरू सञ्ञ्चालन गरिरहेको दाबी पनि गरिन् । ‘सबै विद्यालयमा कक्षा १ देखि नै अनिवार्य अंग्रेजी माध्यमबाट पढाइ हुने ब्यवस्था गरिरहेका छौं,’ उनले भनिन् ।

प्रकाशित : असार २५, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

बर्सेनि बिरुवा रोपिन्छ, जोगिँदैन

गणेश चौधरी

टीकापुर — वन जंगल विस्तार गर्न बर्सेनि वर्षायाममा रुख रोपिन्छ । वन कार्यालयले निःशुल्क बेर्ना पनि वितरण गर्छ । तर रोपिएका रुख भने जोगिएको पाइँदैन ।कैलालीमा मात्र वन कार्यालयले वर्षेनी करिब ५ लाख बेर्ना तयार गरी वितरण गर्छ । आधा मात्र बेर्ना जोगिएको भए कैलालीको वन निकै बाक्लो र हराभरा हुनुपर्ने थियो ।

तर त्यसो हुन सकेको छैन । संरक्षणकर्मी विजयराज श्रेष्ठ ०४२/४३ तिरबाट वन कार्यालयमा नर्सरी बनाई बेर्ना वितरण गरेको देख्दै आएको बताउँछन् । उनले भने, ‘वृक्षरोपण मात्र भन्दा पनि जोगाउन जरुरी छ । वितरित बेर्ना २५ प्रतिशत मात्र जोगिए धेरै हुन्छ ।’

स्थानीय तह, वन कार्यालय, रानी जमरा कुलरिया सिँचाइ आयोजनालगायत कार्यालयको रकमबाट बेर्ना उत्पादन हुने र यहाँका सामुदायिक वन, संघ संस्था र व्यक्तिलाई बृक्षरोपणका लागि बेर्ना दिने गरिएको छ । सामुदायिक भन्दा व्यक्तिले लगाएका बेर्ना जोगिएका छन् ।

उनले भने, ‘कैलालीमा करिब डेढ लाख रुख मात्र नीजि वनमा रुख रहेको प्रमाणिकरण छ तर नीजि वनमा कम्तिमा २० लाख रुख हुनुपर्छ ।’ वर्षेनी बेर्ना वितरण गरिए पनि कति रुख जोगिएका छन् वनसँग कुनै तथ्यांक छैन । कार्यालयसंँग नर्सरीमा बेर्ना उत्पादन गर्ने र वितरण गर्नेसम्मको योजना रहेको वन डिभिजन कार्यालय पहलमानपुरका सहायक वन अधिकृत रविकुमार निधिले बताए ।

‘बेर्ना निःशुल्क वितरण गर्ने सरकारी नीति छ,’ उनले भने, ‘निःशुल्क पाउने भएर बिरुवा हुर्काउन माया नगर्ने गरिएको हो कि जस्तो पनि छ । परिणाम देखिएको छैन ।’ यसपाली बेर्ना लग्नेको लिखित जानकारी लिएर बेर्ना दिने र आउँदो वर्षसम्म कति जोगिए भन्ने रेकर्ड राख्ने सोचमा आफू रहेको निधिले बताए ।

प्रकाशित : असार २५, २०७६ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्