१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हावाहुरी पीडितका दुःख- 'अझै पाइएन राहत'

प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘बारम्बार ताकेता गर्दा पनि सम्बन्धित स्थानीय तहका कार्यालय राहत बुझ्न आएनन्’ 
निर्मला खडायत

(धनगढी) — प्रदेश सरकार र स्थानीय तहले घोषणा गरेको राहत रकम हावाहुरी पीडितले अझै पाउन सकेका छैनन् । जेठ तेस्रो साता आएको हावाहुरीले धनगढी उपमहानगरका २ हजार २५० परिवारको घरमा क्षति पुगेको थियो । कैलालीभर ९ हजार ७४९ घरमा क्षति भएको थियो ।

हावाहुरी पीडितका दुःख- 'अझै पाइएन राहत'

‘हुरी आएको तेस्रो दिन वडा कार्यालयबाट स्थानीयले क्षतिको विवरण संकलन गरेका हुन्,’ मिलनपुर मुक्त कमैया शिविरकी अगनीदेवी चौधरीले भनिन्, ‘छिटै राहत पाइन्छ भन्थे, अहिलेसम्म कोही फर्केनन् ।’ उनले अधिकांश घरमा हुरीबतासले छाना उडाएर लिएको बताइन् । ‘राहतको आश्वासन पाएकाले केही दिन कुरेर बस्यौं । तर कसैले सुनुवाइ नगरेपछि ऋण गरेरै मर्मत गर्‍यौं,’ उनले भनिन् ।


प्रदेश सरकारले पूर्ण क्षति भएका घरपरिवारलाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार दिने घोषणा गरेको थियो । घोषित रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रशासनलाई उपलब्ध गराएको थियो । प्रशासनले स्थानीय तहलाई निकासा दिने प्रकृया मिलाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत लक्ष्मण शाहले बताए ।


‘हामीले समयमै प्रशासनमा रकम पठाइसकेका हौं,’ शाहले भने । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई रकम उपलब्ध गराउने प्रकृया निर्धारण गरेको थियो । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्थानीय तहले रकम लिने चासो नदेखाएको बताए ।


‘बारम्बार ताकेता गर्दा पनि सम्बन्धित स्थानीय तहका कार्यालय राहत लिन आएनन्,’ उनले भने ‘धनगढीलगायत पालिकाहरूले भर्खरै लिए, टीकापुर, चुरे, मोहन्याल र जानकीले अझै लिएका छैनन् ।’


भजनी गाउँपालिकाले आफ्नो क्षेत्रमा खासै क्षति नभएकाले राहत रकम लिन नमानेको उनले बताए । प्रदेश सरकारबाट ४ करोड ४१ लाख, १५ हजार उपलब्ध गराएको थियो ।


धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयबाट प्रदेश सरकारले उपलब्ध गराएको १ करोड २२ लाख २६ हजार रकम प्राप्त भएको बताए । स्थानीय तहहरूले पनि राहत दिने घोषणा गरेका थिए । धनगढी उपमहानगरपालिकाले पूर्ण क्षतिलाई ६ हजार र आंशिकलाई ३ हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।


आफैंले घोषणा गरेको रकमसमेत कार्यालयले उपलब्ध गराएको छैन । ‘साउनभित्र राहत रकम सबै पीडित परिवारलाई उपलब्ध गराउछौं,’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए । संकलित तथ्यांकमा ३ जना पूर्ण क्षति भएका छन् भने, अन्य आंशिकमा परेका उपमहानगरले जनाएको छ ।


‘हावाहुरीले घरको छानो उडाएपछि छिमेकीबाट जस्तापाता उधारोमा किनेर मर्मत गरेकी छु,’ मिलनपुर शिविरकै हलिया चौधरीले भनिन्, ‘घर पुनर्निर्माणका लागि नभए पनि मर्मतको उधारो तिर्न पुगे हुन्थ्यो ।’ नगरप्रमुख–उपप्रमुख बस्तीमै आएर राहत दिने आश्वासन दिए पनि अहिलेसम्म नपाएकोमा उनको गुनासो थियो ।


हावाहुरीले जिल्लाभर ९ हजार ७४९ घरमा क्षति भएको जिल्ला विपत् ब्यवस्थापन समितिले जनाएको छ । समितिकै समन्वयमा ३ हजार ९९४ परिवारलाई तत्काल पाल वितरण गरिएको प्रजिअ बोहराको भनाइ छ । हावाहुरीबाट ज्यान गुमाएका २ जनाका नजिकका हकदारलाई ६ लाख २५ हजार उपलब्ध गराइएको बोहराले बताए ।


मृत्यु भएका टिकापुरका लहानु डगौंराका हकदारलाई १ लाख र गोदावरीका वीरबहादुर चौधरीका परिवारलाई ५ लाख उपलब्ध गराएको उनले बताए । धनगढी उपमहानगरपालिका बाहेकका स्थानीय तहले हावाहुरी पीडितलाई १ करोड १८ लाख ५६ हजार राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


हावाहुरीबाट पीडित भएका एकल महिला, सुत्केरी, विपन्न तथा असहायका परिवारलाई भने केही गैरसरकारी संघ–संस्था र युवा समूहहरूले घर पुनर्निर्माणमा सघाएको प्रजिअ बोहराले बताए । रोटरी क्लबले ४२ घरका लागि जस्तापाता दिएको र २ घरका लागि उद्योग वाणिज्य संघले जस्तापाता सहयोग गरेको बोहराले बताए । सशस्त्र प्रहरी र युवा संघले समेत घर मर्मतमा सघाएका थिए ।


प्रकाशित : असार २६, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?