कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विपदमा तीनै तहको तयारी

धनगढी — प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले आपसी समन्वयमा सम्भावित विपद पूर्व तयारी गरिरहेको बताएका छन्  । स्थानीय बासिन्दाहरू यतिबेला बाढी र पहिरोको त्रासमा छन्  ।

‘स्थानीय तह नै विपद् ब्यवस्थापनका लागि पहिलो र बलियो आधार भएकोले उनीहरूलाई नै जिम्मेवार बनाइरहेका छौं’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘कैलालीमा बाढी, कटान लगायतका विपद् आइलागेको अवस्थामा तत्काल गर्नुपर्ने कार्यमा तयारी गर्न उनीहरूको सम्पर्क र समन्वयमा छौं ।’

क्षति न्यूनीकरण र उद्धारका लागि सबै सुरक्षा निकायलाई पनि तयारी अवस्थामा राखिएको उनले बताए । ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेका छौं’ प्रजिअ बोहराले भने, ‘तत्काल आवश्यक उद्धारका सामग्री पनि खरिद गरेर राखिएको छ ।’

पीडितलाई उद्धार गरिसकेपछि चाहिने राहत सामग्री खरिद गरिएको र थप प्रदेश सरकारलाई अनुरोध गरिएको उनको भनाई छ । प्रशासन, स्थानीय निकाय र प्रदेश सरकार मिलेर विपद्को पूर्व तयारीमा जुटेको उनले बताए । धनगढी उप–महानगरपालिकाले पनि विपद्को पूर्व तयारी सुरु गरेको बताएको छ ।

नगरप्रमुख नृप बहादुर वडले सम्भावित क्षति न्यूनिकरण गर्न टोलटोलमा समितिहरू गठन गरिएको बताए । ‘समितिमार्फत स्थानीय बासिन्दालाई सतर्क रहन र जोगिने उपायका बारेमा जानकारी गराइने गरेको छ,’ उनले भने, ‘रेडक्रस, प्रशासन र प्रदेश सरकारसँग समन्वय गरेर विपदको पूर्व तयारी गरिरहेका छौं ।’


आन्तरिक मामिला तथा कानुन मन्त्रालयका योजना तथा विपद् ब्यवस्थापन महाशाखाका शाखा अधिकृत लक्ष्मण शाहले प्रदेश सरकारले राहत पूर्व तयारी सामग्री खरिद गर्न जिल्ला प्रशासनमा आवश्यक रकम पठाइएको बताए । उनले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग विपदको अवस्थाबारे समन्वय भइरहेको बताए ।कैलालीमा डेढ बर्षयता प्राकृतिक विपदमा परेर ९ जनाले ज्यान गुमाएका छन् । फरकफरक भूगोल भएको जिल्ला भएकाले कैलालीमा विपद्का विभिन्न जोखिम रहेको उनले औल्याए ।

मन्त्रालयकाअनुसार डेढ बर्षयता प्रदेशमा विपद्मा ज्यान गुमाउनेहरूको संख्या ५२ पुगेको छ । तीमध्ये कैलालीमा ९ जनाको मृत्यु भएको छ । अछाममा ४, डडेल्धुरामा ८, बैतडीमा २ जनाको मृत्यु भएको अधिकृत शाहले बताए । यस्तै डोटीमा ४, बाजुरामा ८, दार्चुलामा २ र सबैभन्दा बढी बझाङमा १५ जनाले ज्यान गुमाएको उनले बताए ।


पूर्वतयारी अभावमा जेठमा आएको हावाहुरीबाट क्षति पुगेका परिवारहरूलाई तत्काल सहयोग गर्न नसकेका उनीहरू वर्षामा हुन सक्ने बाढीको चपेटाबाट पीडितहरूलाई जोगाउन र कम क्षति गर्न सम्भाव्य उपायको तयारी गरिरहेको बताउँछन् ।

प्रकाशित : असार २९, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?