३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिँचाइ कुलो नमुना

बैतडी — अधिकांश उपभोक्ता समितिलाई समयमै सम्पन्न नगरेको, गुणस्तरहीन काम, आर्थिक अनियमितता, टाढाबाठाको रजाइँलगायतका आरोप लाग्ने गरेको छ  । तर, बैतडीमा दुर्गम गाउँको एक उपभोक्ता समितिले गरेको कामको भने चौतर्फी प्रशंसा भएको छ  ।

डिलासैनी गाउँपालिका ६ चौसेरामा ३० वर्ष उमेर समूहका युवाहरूले निर्माण गरेको सिँचाइ योजनाको यतिबेला जिल्लाभर प्रशंसा भएको छ । ५ जना पुरुष र ४ महिला रहेको डोलवे सिंचाइ योजनाका अध्यक्ष हरीश नाथ नेतृत्वको युवा समूहको उपभोक्ता समितिले प्रदेश सरकारबाट आएको १८ लाख बजेटबाट नमुना सिंचाइ कुलो निर्माण गरेका हुन् ।


६ सय मिटर लम्बाइको उक्त कुलो २५ सेमी चौडा छ । स्थानीय लिउडे खोलाबाट ल्याइएको कुलो अनुगमन गर्दा अनुगमनकर्ताहरू उत्साहित भएको जिल्ला समन्वय समितिले जनाएको छ ।


जिससका समन्वय अधिकारी नवीनचन्द्र पाण्डेले भने, ‘प्राविधिकको सल्लाहअनुसार गरेको डिजाइनभन्दा मजबुत निर्माण गरेका रहेछन् ।’ युवाहरूले यसरी नै विकास निर्माणका काममा समुदायलाई सघाउनुपर्ने उनले बताए । योजना हेर्ने इन्जिनियर प्रियव्रत जोशीले बैतडीमा भएका राम्रा योजनामध्ये युवाहरूको समूहले निर्माण गरेको उक्त सिंचाइ योजना उत्कृष्ट भएको बताए । उनले भने, ‘गिट्टी, बालुवा, सरिया, सिमेन्टको प्रयोगमा कुनै त्रुटि र कमसल प्रयोग छैन । उनीहरूले जिल्लामै राम्रो सन्देश दिएका छन् ।’


२ सय घरधुरी लाभान्वित हुनेगरी बनेको सिंचाइ कुलोको कामप्रति स्थानीय पनि सन्तुष्ट छन् । राजनीतिक पूर्वाग्रह नराखी गाउँका जनतालाई सुविधा दिनुपर्छ भन्ने सोचका साथ काम भएकाले खुसी लागेको स्थानीय नरेन्द्र नाथले बताए ।

‘आगामी योजनाको जिम्मेवारी यस्तै भावना भएका युवाहरूलाई दिएमा समूदायको विकास हुन्छ,’ उनले भने । तलतिर चौलानी नदी बगे पनि पानीको अभावले यहाँको खेतमा रोपाइँ हुन नसकेर किसानहरू मकै मात्रै लगाउन बाध्य थिए ।

कुलो बनेपछि खेतमा धान फलाउन सकिने भएको भन्दै किसानहरू खुसी छन् । उपभोक्ता समितिका अध्यक्ष हरीश नाथले ढिलो गरी बजेट आएकाले समयमै काम सक्न सकस भएको बताए । गाउँलेलाई मिलाएर काम गराउँदा काम सजिलै पूरा भएको उनको भनाइ छ ।

प्रकाशित : असार २९, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?