३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अपांग दम्पतीको गोठमा बास

गणेश चौधरी

टीकापुर — गोठको एक छेउमा एक हल राँगा । अर्को छेउमा गोठाला थारूको सुत्ने खाट । ओछ्यान नजिकै खाना पकाउने चुल्हो । महिना दिनअघिको हावाहुरीले घर भत्काएपछि गोठालाको परिवार छिमेकी आफन्तको गोठमा आश्रय लिइबसेका छन् ।

अपांग दम्पतीको गोठमा बास

जानकी गाउँपालिका १ दुर्गौली किस्मतपुर मुक्तकमैया बस्तीका ५० वर्षीय गोठाला थारू र श्रीमती रिस्मी चौधरी दुवै अपांग हुन् । जेठ २३ को हावाहुरीले घर भत्काएपछि उनीहरू विस्थापित भएका हुन । दम्पती नै अपांग भएकाले घर बनाउन नसक्ने भएपछि आफन्त विश्राम डगौरा थारूको गोठमा आएर बसेको उनीहरूले बताए ।


‘श्रीमतीको पहिलादेखि एउटा हात चल्दैन,’ गोठालाले भने, ‘गएको फागुनमा गाडाबाट खस्दा म पनि उठ्न बस्न नसक्ने भएको हुँ ।’ पैसा नभएर उपचार गराउन नसकेको उनले बताए । ‘उपचार गराउन पारि इन्डियाको सिंगाही गएँ । फेरि आउनु भनेको थियो,’ उनले भने, ‘पैसा पनि भएन । त्यहाँसम्म लैजाने मान्छे पनि भएनन् ।’


गाडाबाट लडेर कम्मरमुनि नचल्ने भएपछि गोठाला ४ महिनादेखि बिस्तरामै छन् । दिसापिसाब जान पनि आफैं सक्दैनन् । उनले भने, ‘बूढीले दिसापिसाब सोहर्छे ।’ उनीहरूका ३ छोरा छन् । एउटा विद्यालय जाने उमेरका छन् भने दुई जुम्ल्याहा भर्खर २ महिनाको भएका छन् । मुक्तकमैया भएकाले एक कट्ठा मात्र जग्गा छ । दम्पती नै अपांग भएकाले मजदुरीको काम पनि गर्न नसक्दा खान–लाउन समस्या रहेको उनले बताए ।


‘हावाहुरीले घरको छाना उडाएपछि छाना छाउन पैसा पनि भएन । कसैले छाना छाउन सहयोग पनि गरेनन्,’ गोठालाले भने, ‘सरकारले पनि सहयोग गरेन । कसले सहयोग गर्छ भन्ने हामीलाई थाहा नै भएन ।’


उनीहरूको अपांगता परिचयपत्र पनि बनेको छैन । ‘हिँडडुल गर्न नसक्नेले कसरी जाने परिचय बनाउन जानू,’ गोठालाले भने । दुर्घटनामा पर्नुअघिसम्म परिवारको गुजारा राम्रैसँग चलेको थियो । कमैया मुक्तिको घोषणापछि उनले आफूले पाएको जग्गामा सानो घर बनाएर बसेका थिए । छोरालाई नजिकैको सिद्धबाबा स्कुलमा भर्ना गरेका थिए । उनी थला परेपछि शुल्क तिर्न नसक्दा छोराको स्कुल पनि छुटेको छ ।


चार दाजुभाइ भए पनि आफू अप्ठेरोमा पर्दा कसैले सहयोग नगरेको उनले दुखेसो पोखे । ‘मेरो उपचार गराइदेऊ, निको भएपछि कमाएर पैसा तिरिदिउँला पनि भन्छु । कसैले मानेनन्,’ उनले भने, ‘उपचार पाए त मेरो खुट्टा चलिहाल्ला भन्ने लाग्छ । मर्न नसकिने बाँच्न पनि गाह्रो भयो ।’

प्रकाशित : असार २९, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?