कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साक्षर घोषणाको होडबाजी

बाजुरा — बाजुराका स्थानीय तहमा साक्षरता घोषणा गर्ने प्रतिस्पर्धा छ  । बडिमालिका नगरपालिकाका ५ वटा वडा एकैदिन गत शुक्रवार साक्षर घोषणा गरिएका छन्  ।

साक्षर घोषणाको होडबाजी

खप्तड छेडेदहले जेठमा घोषणा गरेर आफूलाई जिल्लामै पहिलो साक्षर गाउँपालिकाको पहिचान गरायो । त्यस लगत्तै हतार हतार गौमुलले पनि साक्षर गाउँपालिका घोषणा कार्यक्रम गर्‍यो । कूल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भएको बताउँदै घोषणा गरिएको थियो ।


‘राम्रोसँग तथ्यांक नै संकलन नगरी धमाधम साक्षर घोषणा गर्ने प्रतिस्पर्धा भइरहेको छ,’ गौमुल–७ का स्थानीय विश्वराज जैसीले भने ‘मापदण्ड पुरा नगरी घोषणा गर्ने हतारो उचित होइन ।’ सरकारले साक्षर वर्ष २०७६ लाई तीब्र बनाएको छ । सोहीअनुसार बाजुराका स्थानीय तह पनि सक्रिय देखिएका हुन । साक्षर घोषणा गर्नका लागि सरकारले निर्धारण गरेका सुचकमध्ये ५० प्रतिशत पुरा गर्नैपर्ने प्रावधान छ ।

आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्याल्कुलेटर चलाएर हिसाब गर्न सक्ने, क्यालेण्डर हेरेर तिथीमिति बताउन सक्ने, १ देखि १ सयसम्मका अंक भन्न र लेख्न सक्ने, मातृभाषा र राष्ट्र भाषा बोल्न र बुझ्न सक्नेलगायतका विभिन्न १२ वटा सुचकमध्ये ६ वटा सुचक पुरा गरेमा साक्षर घोषणा गर्न सकिने व्यवस्था छ ।

बडिमालिका नगरपालिका विभिन्न वडामा साक्षर घोषणा गर्न भ्याइनभ्याइ छ । हालै वडा नम्बर ७ ले पहिलो साक्षर वडाको रुपमा घोषणा गर्दै नगरको पहिलोमा नाम लेखायो । वडामा १५ देखि ६० वर्षसम्मका १ हजार ४ सय ११ जनसंख्यामा १ हजार ३ सय ४५ जना साक्षर रहेका वडा कार्यालयको दाबी छ ।

कुल जनसंख्याको साक्षर ९५ दशमलव ३२ प्रतिशत लेखपढ गर्न जान्ने भएपछि साक्षर साक्षर घोषणा गरिएको वडाध्यक्ष धर्मराज पाध्याले बताए । ‘सरकारले निर्धारण गरेका सुचक पुरा गरेर नै साक्षर वडा घोषणा गरेका हौं,’ उनले भने, ‘प्रत्येक टोलटोलमा साक्षरता दर संकलन गर्नका लागि सहजकर्ता परिचालन गरेका थियौं ।’ ६० वर्ष मुनिका निरक्षरलाई पनि सहजकर्ता मार्फत नै कक्षा संचालन गरेर साक्षर घोषणा गरेको उनको भनाई छ ।


बडिमालिकाकै ८ नम्बर वडालाई पनि शुक्रबार नै साक्षर घोषणा गरिएको छ । वडाका १५ देखि ६० वर्षसम्मका ६ सय ७९ जनसंख्याको ७ सय ४५ जना साक्षर रहेको तथ्यांकमा छ । कुल जनसंख्याको ९५.२९ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको वडाध्यक्ष प्रकाश रावलले बताए । उनले भने ‘सरकारले लिएको साक्षर घोषणा वर्ष २०७६ को अभियानलाई सफल पार्नका लागि वडाले सक्रियता देखाएको हो ।’


वडा नम्बर ९ मा १५ देखि ६० वर्षसम्मका जम्मा १ हजार २ सय ३८ जनसंख्यामा १ हजार १ सय ९२ जना साक्षर छन् । कुल जनसंख्याको ९६.२८ प्रतिशत साक्षर भएको वडाध्यक्ष विनोदकुमार विकले बताए । त्यस्तै वडा नम्बर ४ ले पनि साक्षर घोषणाका लागि सरकारले निर्धारण गरेमध्येका ८ सुचक पुरा गरेको जनाएको छ । वडाध्यक्ष सुरेन्द्र नाथका अनुसार ९५.३९ प्रतिशत साक्षरको जनसंख्या छ । वडा नम्बर २ रं ३ ले पनि शुक्रबार नै साक्षर घोषणा गरेका छन् ।


बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा सफल पार्नका लागि गाउँ तथा नगर साक्षर बनाइरहेको बताए । ‘अब नगरपालिकालाई पनि चाँडै नै साक्षर घोषणाको तयारीमा छौ,’ उनले भने ।

प्रकाशित : असार २९, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?