कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुंगल छाउगोठमुक्त

९ जिल्लाका ८८ स्थानीय तहमध्ये बुंगल छाउगोठमुक्त हुने प्रदेशको पहिलो नगर
वसन्तप्रताप सिंह

बझाङ — बझाङको बुंगल नगरपालिका छाउगोठमुक्त घोषणा भएको छ । नगरभर कुनै पनि घरमा महिलाहरू महिनावारी भएका बेला बाहिर अलग्गै छाउगोठमा नराख्ने सुनिश्चित भएपछि शुक्रबार घोषणा गरिएको हो । छाउगोठमुक्त हुने यो सुदूरपश्चिम प्रदेशकै पहिलो नगरपालिका हो ।

बुंगल छाउगोठमुक्त

‘सदियौंदेखिको छाउप्रथालाई हटाउन सफल भएकोमा सबै बझाङबासीको तर्फबाट बधाई दिन चाहन्छु,’ घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खडगबहादुर खडकाले भने, ‘मानव समाजको कलंकका रूपमा रहेको यो प्रथा हटाउन अन्य स्थानीय तहले पनि बुंगलबाट सिक्नु जरुरी छ ।’

महिनामा २५ दिन छोरीचेलीलाई देवीका रूपमा ढोग्ने र पाँच दिन अछूत जस्तै व्यवहार गर्ने चलनका कारण जिल्लाको बेइज्जत भइरहेको उनले बताए ।

जनसंख्याका हिसाबले जिल्लाकै ठूलो नगरपालिका भए पनि विभिन्न गैरसरकारी संघसंस्थाहरूको लामो प्रयासपछि छाउगोठमुक्त घोषणा सम्भव भएको नगरप्रमुख धनबहादुर विष्टले बताए । ‘हिजो अस्तिको प्रयासले हामीले यो उपलब्धिप्राप्त गरेका हैनौं ।

गाविसहरू हुँदादेखि नै सुरु गरेको अभियानको प्रतिफलस्वरूप हामीले छाउगोठमुक्त पहिलो नगरपालिका हुने सौभाग्य पाएका हौं ।’ अब बुंगललाई जिल्लाकै पहिलो पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउन सघन रूपमा अभियान सुरु गरिएको उनले बताए । नगरपालिकामा ५ हजार ६ सय घरधुरी छ ।


नगरपालिकामा गाभिएका साविकका ५ वटा गाविसले २०६७ देखि नै छाउगोठमुक्त अभियान थालेका थिए । छाउगोठमुक्त नगरपालिका अभियानमा सघाउँदै आएको गैसस ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले संकलन गरेको सुरुवाती तथ्यांकमा नगर क्षेत्रमा १ सय ४४ वटा छाउगोठ थिए ।

छाउपडी प्रथा कायम रहेका बस्ती लक्षित गर्दै नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा अभियान चलाएको थियो । झन्डै दशक लामो अभियानपछि गत वर्ष संकलन गरिएको तथ्यांकमा नगर क्षेत्रभरि ८ वटा छाउगोठ मात्र बाँकी थिए । यो वर्षमा छाउगोठ भएका परिवारलाई विभिन्न तरिकाले सम्झाईबुझाई गरेपछि उनीहरू घरभित्र बस्न थालेकाले छाउगोठमुक्त घोषणा गर्न सहज भएको नगरपालिकाले जनाएको छ ।


सुआहारा, बहुसरोकारवाला पोषण कार्यक्रम र एकीकृत विकास समाज, स्थानीय गैसस, युवाक्लब, आमा समूह र समुदाय स्तरका विभिन्न सामाजिक संस्थाहरूले अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

छाउप्रथाविरुद्ध घर भेट तथा परामर्श, पोषण र सरसफाइसम्बन्धी विभिन्न क्षमता विकास कार्यक्रम, सडक नाटक तथा अन्य जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा थिए ।


‘छाउप्रथा मान्ने प्रत्येक घरलाई हामीले विभिन्न तरिकाले सम्झायौं,’ ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहकार विष्णु पोखरेलले भने ‘विद्यालयदेखि समुदायसम्म सञ्चालन गरेको अभियानका कारण यो उपलब्धि प्राप्त भएको हो ।’ नगरपालिकाको नेतृत्वमा विभिन्न राजनीतिक दलका कार्यकर्ता, शिक्षक विद्यार्थी र धामीपुजारीहरू सबैले आआफ्नो ठाउँबाट अभियानको नेतृत्व गरेका कारण छाउगोठमुक्त नगरपालिका बनाउन सम्भव भएको उनले बताए ।


‘सबैको समान बुझाइ र प्रतिबद्धता भयो भने जस्तो सुकै अन्धविश्वासको पनि अन्त्य गर्न सकिन्छ भन्ने कुराको उदाहरण हामीले देखाएका छौं,’ छाउगोठमुक्त अभियानमा सुरुदेखि नै अभियन्ताका रूपमा लागेकी रमिता सिंहले भनिन्, ‘लामो प्रयासपछि हामीले एउटा कलंक मेट्न सफल भएका छौं,’ उनले सुरुमा छाउप्रथा विरुद्धमा सम्झाउँदा आफूहरूलाई लखेटेको र पछि तिनै लखेट्ने महिला र धामीपुजारीहरूसमेत अभियन्ताका रूपमा हिँडेको रोचक घटनाको समेत स्मरण गरिन् ।


बझाङ जिल्लामा अन्य सबै जसो स्थानीय तहमा अहिले पनि छाउपडी प्रथा व्याप्त छ । छाउपडी प्रथाका कारण महिला र बालबालिकाहरूले विभिन्न खालका समस्याहरू भोग्नुपरेको भन्दै यो प्रथा उन्मूलनका लागि प्रयास भइरहेको भए पनि सफल हुन सकिरहेको छैनन् ।

प्रकाशित : असार २९, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?