कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३३ वर्षदेखि सिँचाइ योजना अधुरै

तीन गाउंँमा सिँचाइ गर्न बनाइएको  योजना सरकारी लापरबाही र उपभोक्ताको द्वन्द्वले पूरा भएन
डीआर पन्त

(डडेलधुरा) — विकास योजनामा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाहरण बनेको छ जिल्लाको मनसुता सिँचाइ योजना । तीन गाउँको १५ सय रोपनी सिँचाइको लक्ष्य राखेर ३३ वर्षअघि थालिएको योजना सरकारी लापरबाही र उपभोक्ताको द्वन्द्वले पूरा हुन सकेको छैन ।

३३ वर्षदेखि सिँचाइ योजना अधुरै

योजना जम्मा ५ किमि हो । नवदुर्गा गाउँपालिकाको दोगाडबाट डोंगरा, गुन्यला र वलीगाउँमा सिँचाइ गर्न पाइपलाइनमार्फत पानी लैजाने योजना थियो । तत्कालीन जिल्ला पञ्चायतमार्फत २ वर्षभित्र सम्पन्न गर्ने गरी ३ लाख खर्चिइएको योजनामा पटकपटक गरी ९० लाखभन्दा बढी बजेट निकासा भइसकेको छ । कुनै वर्ष आएको बजेट फ्रिज भयो भने कुनै वर्ष सरकारी कार्यालय र उपभोक्ताको मिलेमतोमा खर्च भएको देखाइयो । तर काम अगाडि बढेन ।


०४६ को परिवर्तनपछि ३ पटक उक्त योजनामा बजेट आएको साबिक जिल्ला विकास समितिको तथ्यांकमा छ । पछिल्लो समय ०६७ मा योजनाको पुनः सर्भे गर्ने भन्दै सरकारले ७ लाख खर्चिएको छ । ०७०/७१ मा पनि १० लाख खर्च गरिएको छ । आव ०७४/७५ देखि करिब १ करोड रकम उपभोक्ता समिति र टेन्डरमार्फत छुट्टाछुट्टै खर्च भएको छ । प्रगति ५० प्रतिशत पनि छैन ।


‘सिँचाइ योजनाको पानीले खेत रोप्ने सपना मात्र भयो,’ स्थानीय अगुवा पदम वली भन्छन्, ‘निर्माण सुरु भएको देख्ने जति बुढा हुन थालिसके तर अहिलेसम्म सम्पन्न हुने आधार देखिँदैन ।’ सरकारी लापरबाही र निर्माण कम्पनीको ढिलासुस्तीका कारण यस वर्ष पनि योजनामा धेरै प्रगति हुन नसकेको उनले बताए ।


‘उपभोक्ताबीचको असमझदारी, काम गर्ने वातावरण बन्न नसक्नु र निर्माण कम्पनीले सहज तरिकाले काम गर्न नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो,’ उपभोक्ता समिति अध्यक्ष दानबहादुर ओलीले भने, ‘योजनाको धेरै काम सम्पन्न भइसके पनि भौगोलिक कठिनाइले केही ठाउँमा हुन नसकेको हो ।’


ओलीले पञ्चायतपछि एकैपटक ०६७ मा मात्र योजनामा रकम आएको आफूलाई जानकारी भएको बताए ।


योजनामा अहिलेसम्म ४ हजार ७ सय ६० मिटर पाइप जडान भएको छ भने मुख्य इन्टेक र रिजर्भ ट्यांकी निर्माण भएको छैन । उपभोक्ताको विवादले काममा ढिलाइ भएकाले अर्को वर्षमात्रै योजना सम्पन्न हुने सिँचाइ डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ । डिभिजन कार्यालयले उपभोक्तालाई दोष दिने तर उपभोक्ताले कार्यालयले लापरबाही गरेको गुनासो गर्दै आएका छन् ।


‘हरेक वर्ष योजनामा पैसा बग्छ तर गाउँमा पानी आउँदैन,’ स्थानीय रतन सिंहले भने, ‘सरकारी निकायले चासो राखेर काम गराएको भए योजना उहिल्यै बनिसक्थ्यो तर ३३ वर्षसम्म लापरबाहीको नमुना बनेको छ ।’


योजनामा अहिलेसम्म कति खर्च भयो ? सिँचाइ डिभिजन कार्यालयसँग पनि यकिन तथ्यांक छैन । डिभिजन प्रमुख मेघराज अवस्थीले भने, ‘यस विषयमा धेरै जानकारी कार्यालयसँग छैन ।’ अवस्थीले पछिल्लो समय आएको बजेटका विषयमा पनि जानकारी नभएको बताए । उनले भने, ‘काम भइरहेको छ, अर्को वर्षसम्म सम्पन्न हुन्छ तर बजेट कति हो जानकारी छैन ।’


प्रकाशित : असार ३०, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?