कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अधिकांश प्रहरीचौकी भाडाकै घरमा

पानी पर्नासाथ चुहिने र हावा हुरी लाग्नासाथ ज्यान जोगाउन जुट्नुपर्ने प्रहरीहरूको अवस्था
तृप्ति शाही

(बैतडी) — जिल्लामा रहेका अधिकांश प्रहरी चौकी भाडाका घरका छन् । जिल्ला प्रहरी कार्यालयलगायत ३२ चौकी रहेको जिल्लामा १८ युनिट भाडाकै घरबाट चलिरहेका छन् । 

अधिकांश प्रहरीचौकी भाडाकै घरमा

जिल्ला प्रहरी कार्यालयका अनुसार भाडा तिरेर बसिरहेका कार्यालयहरूमा दशरथचन्द नगरपालिकामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र, दशरथचन्द नगरपालिकाकै बाराकोट, थालिगडा, नागार्जुन प्रहरीचौकी छन् ।


यस्तै पञ्चेश्वर गाउँपालिकाको हल्दुविनायक, महाकाली, कुलाउ, धर्मघाट, डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, शिवनाथ गाउँपालिकाको कुस्मौतघाट, मेलौली नगरपालिकाको रोडिदेवल चौकी पनि भाडाकै घरबाट सञ्चालित छन् ।


भाडाका घरमा भएका अन्य चौकीमा दोगडाकेदार गाउँपालिकाको खोचलेक र सिगास गाउँपालिकाको शिवलिंग चौकी छन् । सुर्नया गाउँपालिकाको रौलेश्वर र सतबाज, शिवनाथ गाउँपालिकाको सुल्लेखान, मेलौली नगरपालिकाको सलेना अस्थायी प्रहरी पोस्टहरू पनि भाडाकै घरबाट सेवा दिइरहेका छन् ।


प्रहरी कार्यालयहरूको नाममा जमिन नहुनु, ३ तहका सरकार भइसकेपछि पनि प्रहरीको जग्गा र भवनका लागि बजेट विनियोजन नगर्नुले भाडाकै घरमा बस्नुपर्ने अवस्था छ । आफ्नै घर नहुँदा काममा बाधा पुगेको प्रहरीहरूको भनाइ छ ।


कोही घरमा घरबेटीहरू पनि सँंगै बस्ने भएकाले कुनै अनुसन्धानका गोप्य कुरा बाहिर जाने डर रहेको बैतडीका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) डिल्लीनारायण पाण्डेयले बताए । उनले भने, ‘भाडाका घरमा बसिरहनु पर्दा थुप्रै कठिनाइ भोगिरहेका छौं । खुला स्थान हुने भएकाले हाम्रा गतिविधि अरूले नियाली रहेका हुन्छन् । घट्नाको अनुसन्धानमा गाह्रो पर्छ ।’


जीर्ण घरहरूमा प्रहरी

बर्खा सुरु भएसँगै प्रहरीलाई पनि चिन्ता सुरु भएको छ । जिल्लामा रहेका आफ्नै भवनका केही र भाडाका घरमा बसिरहेका सबै घर पानी पर्दा चुहिन्छन् । आफ्नै भवन धेरै वर्षअघि बनेकाले जीर्ण भएका छन् । भाडामा नयाँ घर नपाउने भएकाले चुहिने घरहरू छन् । पानी पर्ना साथ चुहिने र हावाहुरी लाग्नासाथ ज्यान जोगाउन लाग्नुपर्ने प्रहरीहरूको अवस्था छ ।


भाडामा बस्दा पनि छानेर बस्न पाउने घरहरू नपाएको उनीहरूको गुनासो छ । भाडामा दिन नमान्ने, दिएका घरहरू धेरै पुराना भएको पाण्डेयले बताए । उनले भने, ‘प्रहरी बस्ने जस्तो धेरै अटाउने संरचनाको घर नभएकाले पनि पुरानो भत्किन लागेको घरबाट गुजारा गरिरहेका छौं ।’


विभिन्न स्थानीय तहमा रहेका चौकीको संरचना पुरानो भएर सेवा दिन कठिनाइ भए पनि सिगास गाउँपालिकाबाहेक अन्य स्थानीय तहका जनप्रतिनिधि यसबारे बेखबर छन् । न त कुनै पहल गरेका छैन् । पालिकाको सहयोगमा सिगासमा भने प्रहरीका लागि भवन बनिरहेको छ । पछिल्लो समय पालिकाका केन्द्रहरूमा अस्थायी पोस्टहरू स्थापना भए पनि सबै भाडाकै घरमा गुजारा गरिरहेका छन् ।


भाडाका घरबाट सेवा दिन चुनौती रहेको थालिगडा चौकीका इन्चार्ज श्यामसिंह महराले बताए । असुरक्षित रुपमा सेवा दिन बाध्य भएको उनले बताए । ‘नागरिक यसको सजाय भोगिरहेका छन्,’ उनले भने, ‘खुला ठाउँबाट सेवा दिँदा गोपनीयताका कुरा बाहिर जाने सम्भावना रहन्छ । भत्किन लागेका घरमा डर पनि हुने भयो ।’


प्रहरीले भाडामा लिएका घरमा उपयुक्त थुनुवा कोठासमेत नहुँदा कुनै आपराधिक क्रियाकलापमा मुछिएका व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा राख्नसमेत समस्या पर्छ । ‘त्यस्ता अभियुक्तलाई जिल्ला वा इलाका प्रहरी कार्यालय पाटनमा लैजानुपर्ने बाध्यता रहेको छ,’ महराले बताए ।


प्रकाशित : असार ३०, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?