कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ग्रामीण महिलालाई शिविरकै भर

तृप्ति शाही

(बैतडी) — पाटनकी सरु भाटलाई तल्लो पेट दुख्ने, पाठेघर झरे जस्तो हुने, सेतो पानी बग्ने समस्याबाट पीडित भएको ७ वर्ष नाघ्न थाल्यो । रोगले च्यापेको लामो समय भए पनि उपचार गर्न नपाएर सहेरै बसिन् ।

ग्रामीण महिलालाई शिविरकै भर

पाटनकै जयमती महराको समस्या पनि सरुको भन्दा फरक छैन । वर्षौं अघिदेखि पाठेघर समस्या देखिए पनि उनले उपचार भने गर्न सकेकी थिइनन् । सरु र जयमती जस्तै ग्रामीण क्षेत्रमा बसोवास भएका महिलाहरूले पाठेघरलगायत स्वास्थ्य समस्याको उपचार गर्न गाउँठाउँमा सञ्चालन हुने स्वास्थ्य शिविर पर्खनुपर्ने अवस्था छ ।


जिल्ला स्वास्थ्य कार्यालयले आइतबार आयोजना गरेको एकिकृत प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्‍यो । पाटनको सिद्धेश्वर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एकदिने शिविरमा उपचार गर्न आउने महिलाको घुइँचो लाग्यो । एक दिनमात्रै सञ्चालन हुने भएकाले उपचार गराउन बिरामी महिलाको तछाडमछाड थियो । शिविरमा १ सय ५० बढी महिलाले उपचार गराए ।


धेरै समयपछि गाउँमा शिविर आएकाले धेरै दिदिबहिनीले उपचार गराउन पाएको पाटनकी बेलु महराले बताइन् । उनले भनिन्, ‘सबैलाई तल्लो पेट दुख्ने, सेतो पानी बग्नेलगायत एकैखालको समस्या छ ।’


घर छाडेर बाहिर नयाँ ठाउँमा उपचार गराउन अप्ठ्यारो हुने भएकाले गाउँ नजिकै सञ्चालन हुने स्वास्थ्य शिविरमा उपचार गर्न सहज हुने स्थानीय बताउँछन् । ‘आर्थिक अवस्था कमजोर, त्यसैमा घरबाहिर लैजाने कुरुवाको समस्या भएकाले उपचार गराउन सकेकी थिएन,’ सरुले भनिन्, ‘गाउँनजिकै शिविर सञ्चालन भएकाले सजिलो भयो ।’


पाटनकी सीता भाटले घर छाडेर बाहिरका अस्पतालमा उपचार गर्न जान अप्ठ्यारो लाग्ने भएकाले महिलाहरू रोग पालेर बस्ने गरेको बताइन् । पाटनकै कलावती महराले सबै चिनजानका महिला दिदिबहिनी भएपछि उपचार डाक्टरहरूसँग चेकजाँच गराउन अप्ठ्यारो नलाग्ने भएकाले यस्तै शिविर पर्खने गरेको बताइन् ।


उपचार गराउन आएका अधिकांश महिलालाई तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरसम्बन्धी विभिन्न समस्या पाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र बैतडीकी डाक्टर रोश्ना छुकाङले बताइन् । उनले भनिन्, ‘अस्पतालहरू टाढा छन भनेर जान मान्दैनन् । गाउँमै शिविर सञ्चालन भएका बेला उपचार गर्न आउनेहरूको घुइँचो लाग्छ ।’ धेरैजसो महिला रोग लुकाएर बस्ने गरेकाले जटिल हुने गरेको पाइएको डा. रोश्नाको भनाइ छ । ‘यस क्षेत्रमा निरन्तर शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन् ।


गाउँघरमै महिलाहरूलाई एकै ठाउँमा सबै प्रजनन् रोगहरूको सेवा दिन एकीकृत प्रजनन् स्वास्थ्य शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले बताए । प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना गरिएको कार्यक्रममा परिवार नियोजन, गर्भवती महिलाहरूको भिडियो एक्सरे सेवा, पाठेघर खसेकाहरूको पहिचान र उपचार, गर्भवतीहरूको रगत जाँचलगायतका सेवा प्रदान गरिएको जोशीले बताए । उनले पाठेघरको क्यान्सरको प्रारम्भिक परीक्षणसमेत गरिएको बताए ।


ग्रामीण क्षेत्रका महिला प्रजनन् समस्याबारे खुलेर बाहिर आउन नसक्ने र आर्थिक अवस्था पनि कमजोर हुने भएकोले गाउँगाउँमा शिविर सञ्चालन गरी सेवा उपलब्ध गर्ने गरेको जोशीले बताए ।


जिल्लाका सबै पालिकामा यस्तै एकीकृत शिविर आयोजना गर्ने योजनाअनुरूप यसअघि दशरथचन्द नगरपालिका, डिलाशैनी, दोगडाकेदार, सुर्नया, सिगास, शिवनाथ गाउँपालिकामा सञ्चालन गरिसकिएको उनले बताए । अन्य स्थानीय तहहरूमा स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको बताए । उनले भने, ‘जिल्ला बाहिरबाटसमेत विशेषज्ञ डाक्टरहरू ल्याएर स्वास्थ्य सेवा उपलब्ध गराइएको जोशीले बताए ।


प्रकाशित : असार ३०, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?