कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

झगडा गाउँ, बन्यो झलकपुर

वसन्तप्रताप सिंह

बझाङ — बुंगल नगरपालिकाको ६ मा पर्ने खौलाधार बजारबाट ठाडै उकालो २ घण्टा हिँडेपछि डाँडाको टुप्पोमा रहेको गाउँमा पुगिन्छ । डाँडा वरिपरि प्लानिङ गरी बस्ती बसाएजस्ता घरहरू । गाउँको अगाडि फाँट परेका बारी । बारीभरी हरिया मकै । झट्ट हेर्दा पोखरातिरको कुनै पर्यटकीय गाउँ जस्तो लाग्ने यो ठाउँको नाम हो ‘झगडा’ ।

झगडा गाउँ, बन्यो झलकपुर

गाउँको नामै ‘झगडा’ ? सुन्दा सबै लाई अच्चम्म लाग्न सक्छ । तर यो यथार्थ हो । यो गाउँको नाम मात्र झगडा होइन । ९ महिना अघिसम्म यहाँ दैनिक जसो झगडा हुने गर्थ्यो । सामान्य बाझाबाझ र हारालुछ नभएको त दिनै हुँदैनथ्यो । झगडाको कारण थियो ‘पानी’ । डाँडाको टुप्पोमा बस्ती भएका कारण गाउँभन्दा माथि पानीका मुहान छैनन् ।


खानेपानी लिन करिब आधा घण्टा ओरालो झरेर कुवामा पुग्नुपर्थ्यो । कुवामा पालैशान्ति पानी भर्ने चलन थियो । एक जनाले पानी भरेपछि कुवामा अर्को गाग्री पानी जम्मा हुन समय लाग्थ्यो । ‘कुवामा पानी जम्मा हुँदै छ । थपक्कै त्यहीं बस्नुपर्थ्यो,’ स्थानीय अञ्जना बोहराले भनिन्, ‘दायाँ(बायाँ भयो कि झगडा सुरु भइहाल्थ्यो ।’


गाउँको नाम झगडा रहनुको कारणबारे भने सबै जानकार छन् । ‘खासमा यो गाउँको नाम झगडा होइन । झाँकाडा हो,’ स्थानिय अर्जुन गुर्धामीले भने, ‘पानीकै लागि सधैंजसो झगडा हुने भएकाले सबैले झगडा भन्न थाले । पछि गाउँको नामै झगडा रह्यो ।’ गत वर्ष कात्तिकमा यो गाउँमा खानेपानी आयोजना बन्यो । घर–घरमा चौबीसै घण्टा पानी आउने धारा बने । योसँगै पानीका लागि हुने पुस्तौंदेखिको झगडाको शृंखला पनि अन्त्य भयो ।


यही खुसीमा यहाँका बासिन्दाले गाउँको नामै फेरिदिए । गाउँको नाम झगडा हैन अब ‘झलकपुर’ । झलकपुर खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेश गुर्धामीले भन्छन्, ‘झगडा हुने विषय नै अन्त्य भएपछि गाउँको नाम पनि फेरेका हौं । हाम्रा बाजे–बराजुका पालादेखीको पानीको दुःख पनि त्यही नामसँगै सकिएको छ ।’ झगडा गाउँको नाम मात्र नभएर परिचय जस्तै बनिसकेकाले नामै फेरेको उनले बताए । उनले भनेजस्तै नाम मात्र होइन ।


गाउँमा खानेपानी आयोजना बनेयता यहाँका महिलाहरूको दैनिकी पनि फेरिएको छ । ‘बिहे गरी यहाँ आएको २३ वर्ष भयो,’ स्थानीय धौलीदेवी सिंहले भनिन्, ‘ढुक्कले सुत्न पाएको यही ९ महिना हो,’ उनले पानी लिन रातभर जाग्राम बस्नुपर्ने भएका कारण यस गाउँमा धेरै जसोले छोरीचेली दिन (विवाह गरिदिन) नमान्ने गरेको बताइन् ।


हालसम्म कसैले पनि सुल्झाउन नसकेको यहाँको खानेपानी समस्याको समाधान सौर्य ऊर्जा प्रविधिकै कारण सम्भव भएको हो । बुंगल नगरपालिकाको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधि प्रयोग गरी गाउँभन्दा करिब आधा किमि तल पहराको फेदमा रहेको मुहानबाट बनाएको हो ।


विद्यालयमा समेत गरी ७ धारामा चौबीसै घण्टा पानी बग्न थालेपछि अहिले यो गाउँको मुहारै परिवर्तन भएको छ । सधैंजसो फोहोर हुने यहाँका मानिस सफा सुग्घर भएका छन् । धाराबाट खेर गएको पानी प्रयोग गरी प्रत्येक घरका करेसामा तरकारी फलेका छन् । सबैका घर–घर सफा चर्पी बनाइएको छ ।


अहिले र ९ महिनाअघिको अवस्था हेर्दा गौमती गुर्धामीलाई सपना झै लाग्छ । झगडा गाउँको झगडा साम्य पार्ने यो खानेपानी आयोजना निर्माण गर्न झन्डै ४२ लाख रुपैयाँ लागेको छ । ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका सल्लाहाकार विष्णु पोखरेलले कुनै कारणले एउटा मोटरमा समस्या आए पनि त्यो मर्मत गरुन्जेल सम्म खानेपानी समस्या नहोस् भनेर वैकल्पिक मोटरको व्यवस्था मिलाइएको बताए ।


बुंगल नगरपालिका प्रमुख धनबहादुर विष्टले प्रविधिको चमत्कारकै कारण झलकपुरका बासिन्दाको दुःख अन्त्य भएकामा आफूलाई सन्तोष मिलेको बताए । ‘गाउँभन्दा माथि मुहान थिएन । पानीका दुःख देखेर बस्ती नै सार्ने कि भन्नेसम्म पनि सोचेका हौं । तर, सौर्य प्रविधिका कारण गाउँमै पानी पुर्‍याउन सफल भएका छौं ।’ उनले यस्तो समस्या भएको नगरपालिकाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विस्तार गर्ने सोचमा नगरपालिका रहेको बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?