५० करोड बजेट फ्रिज

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरमा गत आर्थिक वर्ष विकास बजेटतर्फको ५० करोड बढी रकम फ्रिज भएको छ । संघीय सरकारबाट आएको बजेटमध्ये ४७ करोड र प्रदेश सरकारको बजेटमध्ये ७ करोड रकम फ्रिज भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार संघीय सरकारको कुल पुँजीगत बजेट ४ अर्ब १९ करोड ८० लाखमध्ये ३ अर्ब ७२ करोड ४० लाख खर्च भएको छ ।

पुँजीगत खर्च प्रगति गत वर्षभन्दा दुई प्रतिशतले बढेको कोष नियन्त्रक खेमराज ओझाले बताए । ‘यस वर्ष ८८ प्रतिशत बजेट खर्च भएको छ, अघिल्लो वर्ष ८६ प्रतिशत थियो,’ उनले भने ।

संघीय सरकारको चालुतर्फ ६ अर्ब ७१ करोडमध्ये ६ अर्ब २७ करोड खर्च भएको छ । पुँजीगत खर्चको तुलनामा चालु खर्च बढी छ । चालु खर्चको ९३ दशमलव ५ प्रतिशत छ । जुन गत वर्षको तुलनामा १ प्रतिशत बढी हो । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारबाट आएको ३५ करोड २४ लाखमध्ये २८ करोड ५८ लाख मात्रै खर्च भएको छ ।

खर्च भएको रकम कुल पुँजीगत बजेटको ८१ दशमलव १ प्रतिशत हो । प्रदेश सरकारको चालुतर्फको बजेट पनि कम खर्च भएको छ । कोष नियन्त्रक ओझाका अनुसार चालुतर्फ ६४ करोड ८१ लाखमध्ये ५० करोड ६८ लाख मात्रै खर्च भएको छ ।

जिल्लामा महाकाली पुल आयोजना, महाकाली सिँचाइ आयोजना तेस्रो चरण लगायतका योजनामा बहुवार्षिक ठेक्काअन्तर्गत निर्माण कार्य चलिरहेको छ । यसबाहेक स्थानीय तह, विभिन्न सडक योजना, तटबन्ध आदिको रकम फ्रिज गएको प्रारम्भिक चरणमा देखिएको छ । जिल्लामा रहेको ७ नगरपालिका र २ गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको बजेट फ्रिज भएको हो ।
स्थानीय तहमा समेत बजेट फ्रिज
संघीय सरकार र प्रदेश सरकारबाट सशर्त र समपूरकको बजेट ढिलो आएका कारण टेन्डर प्रक्रिया सुरु गर्न नपाएरसमेत बजेट फ्रिज भएको हो । ‘भवन निर्माणका लागि वैशाखमा बजेट आएको छ, टेन्डर तथा अन्य प्रक्रिया पूरा गर्नै २०/२५ दिन लाग्छ,’ बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले भने, ‘ढिला बजेट आएकै कारण योजना सुरु नगरेरै बजेट फ्रिज भयो ।’ उनका अनुसार बेदकोट नगरपालिकामा ६ करोड बढी रकम फ्रिज भएको हो ।

कञ्चनपुरकै महाकाली नगरपालिकामा पनि संघीय र प्रदेश सरकारबाट आएको कुल पुँजीगत खर्चमध्ये १० प्रतिशत फ्रिज भएको अनुमान गरिएको छ । ९० प्रतिशत बजेट खर्च भएको महाकाली नगरपालिकाका योजना अधिकृत भानदेव भट्टले बताए । महाकाली नगरपालिकामा विभिन्न कार्यक्रमअन्तर्गत २९ करोड ७६ लाख बढी पुँजीगत बजेट आएको थियो । कृष्णपुर नगरपालिकामा पनि ३ करोडको हाराहारीमा बजेट फ्रिज गएको छ ।

ढिलो गरी बजेट आउने, अहिले पनि आवश्यक कर्मचारीको अभाव लगायतका कारण बजेट खर्च हुन नसकेको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । ‘जेठ अन्तिमसम्म पनि विभिन्न शीर्षकमा बजेट आइरहेको थियो,’ उनले भने, ‘त्यसको कतिबेला टेन्डर गर्ने र कतिबेला काम गर्ने ?’

प्रकाशित : श्रावण २, २०७६ ०९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नौमती घन्काउँदै ब्राह्मण समुदाय

नरसिंहा बजाउनेदेखि सनाई फुक्ने र ट्याम्का, दमाहा ठोक्ने सबै बाहुन–क्षेत्री
विप्लव भट्टराई

इलाम — साताअघि सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा नौमती र पञ्चेबाजा बजाउने यसअघिका भन्दा फरक समुदायका थिए । उनीहरूले यी बाजामा सुरताल मिलाएको नौलो देखिएको थियो ।

कुनै जाति विशेषले मात्र यी बाजा र संस्कृति संरक्षण गर्नुपर्छ भन्ने मान्यताका कारण लोप हुँदै गरेको संस्कृति जोगाउने उद्देश्यका साथ झापाको एक्टिभ नाइन भन्ने समूह नौमती घन्काउँदै इलामसम्म आएको हो । ‘यो समूहमा सबैब्राह्मण क्षेत्री छौं,’ टेप्पो बजाउँदै भेटिएका अध्यक्ष गोविन्द निरौलाले भने,‘आफ्नो आयआर्जनभन्दा पनि नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने र उनीहरूलाई रोजगारीको अवसरसमेत सिर्जना गर्ने उद्देश्यले यो काम थालेका हौं ।’

नरसिंहा बजाउनेदेखि सनाई फुक्ने र ट्याम्को, दमाहा ठोक्ने सबै ब्राम्हण क्षेत्री छन् । झापाको बिर्तामोड क्षेत्रलाई कार्यथलो बनाएका विभिन्न पोसामा आबद्धहरूले यो नौलो काम थालेका हुन् ।

‘फुर्सदको समयमा साथीभाइ जम्मा भएर गफगाफमा बिताउने क्रम पुरानै देखिएको थियो,’ नरसिंह फुक्न माहिर भइसकेका सचिव भानु खनालले भने, ‘उपलब्धीविहीन भेटघाटभन्दा उदाहरणीय र समाजलाई फाइदा पुग्ने केही काम गरुँ भन्ने लागेर यो काम थालेका हौं । अधिकांश छापाखाना व्यवसायी रहेको यो समूहमा १२ जना छन् । सबैले आ–आफ्नो बाजा मज्जाले घन्काउन जानेका छन् । ‘विवाहोत्सवमा बोलाउँदा सबैको समय नमिल्न सक्ने भएकाले अरू साथीलाई पनि प्रशिक्षण दिइरहेका छौं,’ सनाईको मीठो धुन निकाल्ने रोहित भट्टराईले सुनाए ।

आम्दानीको १० प्रतिशत सामाजिक कार्यमा लगाउँदै आएका उनीहरूले नौमती बाजाको संरक्षणका लागि कलेज नै सञ्चालन गर्ने सोच बनाएका छन् । नौलो अभ्यास र संस्कृति जर्गेनाको प्रयास भन्दै धेरैले विवाह उत्सवमा उनीहरूलाई बोलाउने गरेका छन् । उनीहरूले २ महिनाको तालिमपछि बाजा बजाउन थालेका हुन् ।

तालिम गर्ने ठाउँको व्यवस्थापनमा पनि निक्कै झन्झट व्यहोरेका उनीहरूलाई नरेन्द्र दर्नाल र रामचन्द्र डोलीकार्कीले तालिम दिएका थिए । ‘बिहान बेलुकै तालिम गर्नुपर्ने तर टोलमा नै होहल्ला हुने भएकाले निकै ठाउँ चाहरेर मात्र बाजा बजाउन सिकियो,’ सनाई फुक्ने नै काम पाएका विनोद दाहाले अनुभव सुनाए । तालिम सकिएपछि उनीहरूको माग बढदो छ । नौलो पहल लागेर छोराको विवाहमा यो समूहलाई इलामसम्म ल्याएको झापाका दीपक बोहोराको भनाइ थियो ।

प्रकाशित : श्रावण २, २०७६ ०९:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT