सडक संरचनाले बढ्यो जोखिम

मेनुका ढुंगाना

अछाम — टोलटोलमा सडक पुर्‍याउने होडवाजीले जति फाइदा गरेको छ, त्योभन्दा धेरै ज्यानको जोखिम बढाएको छ । जथाभावी डोजर चलाएर बनाइएका सडकमा तलमाथिबाट आउने पहिरो, जमेको पानीले दुर्घटना बढाएको छ । 

रामारोशन गाउँपालिका ७ सुतारमा ३ वर्षको अवधिमा नयाँ निर्माण गरिएका सडकमा आएको पहिरो सडकको खाल्डाखुल्डीमा जमेको पानीमा परेर हालसम्म ६ बालबालिकाको मृत्यु भइसकेको छ । ०७४ मा सुतारको किम्तोलामा ७ वर्षीया बालिका रंगी भण्डारीको सिँचाइ पोखरीमा डुबेर मृत्यु भयो । ०७५ जेठयता अन्य ४ बालबालिकाले ज्यान गुमाए ।

यीमध्ये स्थानीय कृष्णसिंह की ५ वर्षीया छोरी पूजा सिंहको सडकमा आएको पहिरोसँगै खसेको ढुंगा लागेर ज्यान गयो । स्थानीय मानसिंह अयडीकी ४ वर्षीया छोरी निर्मला अयडीको सडकमा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो । ती सबै घटना सडक बनाउँदा उपभोक्ता समितिले सम्भावित जोखिमलाई ख्याल नगरेकाले हुन गएको स्थानीय बताउँछन् ।

३ वर्ष नपुग्दै एकै गाउँमा ६ बालबालिकाको ज्यान जानुमा निर्माण हुने विकास संरचना र राज्यका निकायको पनि उत्तिकै दोष रहेको स्थानीय एकेन्द्र साउँदले बताए । ‘गाउँमा सडक खन्छन्, त्यो पनि पहिरोले बगाएर लान्छ । गाडी कहिल्यै गुडैनन् । बरु त्यही कारणले ज्यान गुमाउनु पर्ने अवस्था आइलाग्छ’ उनले भने ।

वर्षर्नेी गाउँमा बनाइएका संरचनाले ज्यान गइरहेको सुनिँदै आएको भएपनि औपचारिक रुपमा कार्यालयमा जानकारी भने नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीे बताउँछन् । ‘प्रक्रिया झन्झटिलो मानेर प्रहरीलाई खबर नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘घटनापछि हामीले प्राप्त गर्ने खबरमा पनि ज्यान गुमाउनेको संख्या वर्षेनी बढै छ ।’ स्थानीय तहमा भरखरै सम्पन्न भएका नगर तथा गाउँसभाले प्राथमिकतामा सडक निर्माणलाई राखेका छन् । तर कुनैपनि स्थानीय तहले मापदण्ड भने बनाएका छैनन् ।

स्थानीय तहमा उपभोक्ता समिति र दलका कार्यकर्ताहरूको इच्छाअनुसार सडक निर्माण भइरहेको स्थानीयको भनाइ छ । मापदण्डविपरीत बनाइएका सडक र संरचनामा जोखिम बढेपछि सतर्कता अपनाइएको रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावल बताउँछिन् । ‘सुतारमा सडकमा जमेको पानीमा डुबेर मृत्यु हुँदा र सडकमै पहिरो गएर ज्यान गएपछि हामीले सुधार गर्दै संरचना बनाइरहेका छौं,’ उनले भनिन्, ‘सबैको उद्देश्य संरचना बनाउने र गाउँमा सडक पुर्‍याउने छ ।’

उपाध्यक्ष रावल डोजर चालक नै प्राविधिक भएर काम हुने गरेको बताउँछिन् । स्थानीयले नयाँ सडक बनाउनुको सट्टा बनेका ग्रामिण सडकको मर्मत गर्न जोड दिनुपर्ने उनले बताइन् । ‘गाउँका जान्ने बुझ्नेहरू नै आफ्नो घरछेउमा सडक लैजाने खोज्छन्’ सुतारका स्थानीय लाल चदाराले भने, ‘डोजर प्रयोगमा कडाइ नगरेसम्म विकासको बदला विनाश मात्र हुने देखिन्छ ।’

जनप्रतिनिधिले मापदण्ड नबनेका सडक योजनाको नयाँ ट्र्याक खोल्न रोक्नुपर्ने इन्जिनियर माधव अधिकारी बताउँछन् । निरन्तर वर्षा भएपछि अछामका ग्रामीण सडक र गोरेटो बाटो अवरुद्ध भएका छन् । वर्षामा कच्ची सडक भत्किएर हिलाम्मे भएकाले अधिकांश सडकमा यातायातसेवा अवरुद्ध भएको छ । कतिपय ठाउँ गोरेटो बाटो भएकै ठाउँमा डोजर प्रयोग गर्दा झन् सास्ती भएको गाउँलेहरू बताउँछन् ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उमेर बूढो भया पन मन बूढो छैन

मेनुका ढुंगाना

अछाम — साल बित्या, समय बित्या आउँदैन घुमेरजोस जाँगर छ, रोग छैन, असी भो उमेर जात्रा लाग्दा बलि दिँदा पारि तिमिल्सैनउमेर बूढो भया पन मन त बूढो छैन

वर्षाको समय किसानले रोपाइँ गर्ने, उज्गला (पाखोबारी) मा लगाएको धान, कोदो गोड्ने मौसम हो । पहाडका कुनाकन्दरासम्म बसोबास गर्ने बासिन्दालाई परम्परागत खेतीकिसानीको कामकै भ्याइनभ्याई छ । बालादेखि वृद्धसम्म खेतबारीमै खटिएका हुन्छन् । गीतका भाका हाल्दै ।

गाउँघरका बूढापाकाको जाँगर र उत्साह पनि तन्नेरीभन्दा कम देखिन्न । मंगलसेन नगरपालिका ५ की ८० वर्षीया कल्धरी सुवेदी नातिनातिनाको स्याहार गरेर दिन गुजार्नुपर्ने उमेरमा छोराबुहारीसँगै बिहानैदेखि खेतबारीमै हुन्छिन् । घरमा बसेका बेला खाना पकाएर परिवारलाई सघाउँछिन् । ‘घर भित्र–बाहिरको काम सासू–बुहारी मिलेर मिलिजुली गर्छौं,’ कल्धरीले भनिन्, ‘दिनभर घरमै त्यसै बस्नुपरे मन नै शान्त हुन्न ।’ खाना पचाउनका लागि पनि काम गरिराख्नुपर्ने उनको भनाइ छ । हालसम्म रोगव्याधिले थला पर्नु नपरेको उनले बताइन् । भनिन्, ‘अझै पनि तन्नेरीकै जति काम गर्न सक्छु भन्ने हिम्मत छ ।’

जेठानी, देउरानीहरू कलिलै उमेरका भएकाले उनीहरू ‘बूढी दी’ भनेर जिस्कने गरेका भए पनि सबैले आफूलाई माया गर्ने गरेको कल्धरी बताउँछिन् । गाउँमा हुने देउडा, रत्यौली, रोपारादेखि गोडमेललगायतका साझा काममा सबैले बोलाइदिँदा खुसी मान्ने उनले कुरा गर्दागर्दै देउडा गीतका टुक्का सुनाइरहन्थिन् ।

कल्धरीको विवाह ७ वर्षकै उमेरमा भयो । उनी आफ्नो विवाह भएको समय र अहिलेको समयलाई तुलना गर्दा धेरै फरक पाउँछिन् । ‘त्यति बेला चेलीबेटी पानी छाउ ओर्लेपछि कन्यादान दिन हुँदैन भन्ने चलन थियो । छाउ (महिनावारी) भएर पनि बिहे नगरेकी छोरीलाई मत्तली भन्थे,’ कल्धरीले भनिन्, ‘मलाई आफ्नै बिहे भएको दिन खासै याद छैन । डोलीमा बस्न नजानेर ससुराले काखमा च्यापेर ल्याएको मात्रै सम्झन्छु ।’

अहिलेको विवाह गर्ने चलन र आफ्नो बेलाको विवाह चलनलाई उनले तुलना गरिन्, ‘त्यतिबेला आमाबाबुलाई आफ्ना छोरी ५ वर्ष नाघ्न थालेपछि विवाहको चिन्ता सुरु हुन्थ्यो । अहिलेका छोरीहरू १७/१८ वर्षको उमेरमै बिहे गरेको देख्दा कति छिटो विवाह गर्न हतारिएका हुन् भन्ने लाग्छ ।’ अहिले घरछेउमै रहेको फराकिलो मध्यपहाडी लोकमार्गमा ओहोरदोहोर गरिरहने गाडी देखेर उनी खुसी हुन्छिन् । ‘त्यो बेला गाडी, मोटरका कुरै हुन्थेनन् । तर अहिले आँखै अगाडि बदलिएको जमान देख्न पाइयो ।’

अहिलेको परिवर्तित अवस्था देखेर उनका समकालीन पनि चकित पर्ने गरेका छन् । जन्म, विवाह, मृत्यु र अन्य सामाजिक काम गर्ने शैली फेरिएका छन् । त्यति मात्र होइन, मान्छेका स्वभाव पनि बदलिएको छ । ‘हाम्रो पालामा जन्मदिन भन्ने थाहै थिएन । अहिले त बर्थ डेकै खर्च पनि थुप्रै लाग्छ । बिहेको त कुरै छोडौं ।’

कल्धरीकै छिमेकी ८१ वर्षीया कोकिला ढुंगानाका ५ छोरा र ३ छोरी छन् । उनी जेठा छोराबुहारी, नातिनातिनी बुहारीसँग बस्छिन् । ३ पुस्तासँगै बस्ने घरमा उनको अरूसँग कुरा मिल्दैन । कुरा नमिल्ने अरू केही किचलोका कारणले भने हैन । कोकिला आफू पनि हात खाली बस्दिनन्, घरका परिवारलाई पनि काम गरिरहून् भन्ने उनलाई लाग्छ ।

मेलापातदेखि खेतबारीकोको काममा सक्रिय कोकिला पहिलेको समयभन्दा अहिलेको समय देखेर उत्साहित पनि हुन्छिन्, निराश पनि । ‘यत्रो उमेर भइसक्यो, हामीलाई केही रोग छैन । अहिले त जन्मँदै रोग लिएर आउने र’ैछन्,’ उनले भनिन्, ‘काम नगरी बस्दा उकुसमुकुस हुन्छ । जति काम गर्‍यो त्यति हातखुट्टा हलुका हुन्छन् ।’

उनी सबेरै उठेर खेतबारीमा गएदेखि साँझ अँध्यारो नहुँदासम्म काममै व्यस्त रहन्छिन् । ‘ओखलमा धान कुट्दै, जाँतोमा गहुँ पिसेर गुजारा चलाउनेदेखि मिलमा कुटानीपिसानी हुनेसम्मका सुविधा देखिए,’ कोकिला भन्छिन्, ‘सुविधा मात्रै भएन यसले त मान्छेलाई अल्छी पनि बनायो ।’ आफ्नो उमेरका बूढापाकाहरू आफ्नै बेलाको जस्तो चलन खोज्छौं ।

तर बदलिएको समयमा नातिनातिनाको भाषाअनुसार पनि चल्नै पर्‍यो भनेर चित्त बुझाउँछु ।’ अछामका दुर्गम बस्तीमा सडक पहुँच, गाउँगाउँमा कुटानीपिसानी गर्ने मिलहरू स्थापना हुनुले स्थानीयको दैनिकी सहज भएको छ । ५/७ वर्षको अवधिमा गाउँमा भएको परिवर्तन देखेर बूढापाका खुसी देखिन्छन् । यातायातको सुविधा गाउँसम्मै पुगेपछि शिक्षा, स्वास्थ्य, रोजगारी र यहाँको समग्र जीवनशैली नै बदलिएको छ ।

नेपालसँग सिमाना जोडिएको भारतको तिकुनियाबाट १० दिनको बाटो हिँडेर नुन ल्याएर गुजारा चलाएका यहाँका स्थानीय अहिले घरआँगनबाटै नुन किन्छन् । ‘घामपानी र भोकन्द्रिा सहँदै तिकुनियाबाट नुन ल्याएको सम्झँदा अझै पनि थकित महसुस हुन्छ,’ मंगलसेन ८ का ८२ वर्षीय राप्रसाद खनालले भने, ‘हाम्रो गाउँमागाडी आउँछ भन्ने कुरा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउँछ होलाभन्ने लागेकै थिएन ।’

लुगा कपडा आफैं बुन्ने, एउटै घरमा ७/८ भैंसी पाल्ने यहाँका स्थानीयको जीवनशैली थियो । समय बदलिएसँगै धेरैको पेसा पनि परिवर्तन भयो । ‘पन्ध्र किलोसम्म घ्यू बोकेर चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यसबाट आएको पैसाले नुन किनेर ल्याउँथ्यौं,’ अर्का स्थानीय मानबहादुर भाटले भने, ‘अहिले गाउँमा भैंसी पाल्नेलाई नराम्रो नजरले हेर्छन् । तरमैले एउटा भैंसी अहिलेसम्म पालेकै छु । घाँसपात पनि आफैं गर्छु ।’

प्रकाशित : असार ३१, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT