कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिरोको त्रास

अत्यधिक वर्षा भएमा वर्षौंअघि निर्माण भएका कमजोर अवस्थाका कार्यालय भवन भत्किएलान् भन्ने सरकारी कर्मचारीलाई डर
तृप्ति शाही

बैतडी — वर्षा सुरु भएसँगै जीर्ण अवस्थामा रहेका सरकारी कार्यालयका कर्मचारी त्रसित छन् । अत्यधिक वर्षा भएमा वर्षौअघि निर्माण भएका कमजोर अवस्थाका कार्यालय भवन भत्किएलान भन्ने डर उनीहरूमा छ ।

पहिरोको त्रास

०४० सालमा निर्माण भएको डिभिजन सहकारी कार्यालयको भवनमा बसेको सशस्त्र प्रहरी गुल्मको कार्यालय पहिरोको उच्च जोखिममा छ । ‘आम नागरिकलाई सुरक्षा प्रदान गर्नुपर्ने निकायका हामी आफै कार्यालय भवनमा ज्यानको बाजी राखेर बस्न बाध्य छौ,’ गुल्मका प्रमुख डिएसपी दुर्गादत्त पन्तले भने ‘जताततै बाढीपहिरो छ । ठूलो पानी परे आफु बसेकै कार्यालय भत्केला भन्ने डर छ ।’


एउटा ९ कोठे र अर्को २ कोठे गरी २ वटा भवन र ३ वटा शौचालय भत्किनसक्ने जोखिममा छन् । अधिकृतसहित १ सय प्रहरीहरू यिनै जीर्ण भवनभित्र बस्दै आएका छन् । ‘अन्यत्र बस्ने ठाउँ छैन, जोखिम मोलेर यहीँ बसेका छौ’ डिएसपी पन्तले भने ‘भारी वर्षा भएको रात निदाउनै गाह्रो हुन्छ ।’


त्यसैमा भवन तलतिर पहिल्यैदेखि सुख्खा पहिरो खसिरहेको थियो । हाल आएर दशरथचन्द नगरपालिकाले नगरभित्रका सडक स्तरोन्नती गर्ने क्रममा डोजर चलाएपछि पहिरोको जोखिम झन बढेको छ । सहरी विकास तथा भवन निर्माण विभागको आयोजना कार्यालय धनगढीले सुरु गरेको उक्त कामले जोखिम बढाएपनि पहिरो रोकथामको लागि कुनै प्रयास नभएको गुल्मले जनाएको छ । आयोजनाका सव–इन्जीनीयर नारायण बुढामगरले नालीको जग खन्नेक्रममा पहिरो जाने जस्तो भएको बताउँछन् । प्रहरी बसेको भवनलाई असर नपर्ने गरी काम गर्ने प्रयास गरिरहेको उनले बताए ।


डिभिजन वन कार्यालयको भवन ०३० सालमा निर्माण भएको हो । कार्यालय बसेको ६ कोठे भवन, तालिम हलसँगै कर्मचारी निवासका भवनहरू पनि पुराना र जीर्ण छन् । हलुका वर्षामा पनि भवन चुहिएर भित्र पानी आउने गरको कर्मचारीहरू बताउँछन् । डिभिजन प्रमुख केशव पराजुलीले भन्छन् ‘साँघुरा कोठाहरू छन्, वर्किनफर्किन पनि कठिनाई हुन्छ ।’


यस्तै, ०३८ सालमा बनेको कृषि ज्ञान केन्द्रको भवन पनि जीर्ण छ । त्यही भवनलाई रङरोगन गरेर कर्मचारीहरू बसिरहेका छन् । पानी पर्दा चुहिन्छ । लगातार केहि दिन ठुलो वर्षा हुँदा कर्मचारीहरू डराउँछन् । ज्ञान केन्द्रका निमित्त प्रमुख कर्ण बहादुर चन्दले वर्षा सुरु भएसँगै जीर्ण र चुहिने भवन भएकाले भत्किने जोखिम रहेको बताए । उनले नयाँ निर्माण गर्न मन्त्रालयमा प्रस्ताव गरेको जानकारी गराए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?