१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

खलंगा–छापरी रोपवे प्रयोगविहीन

दार्चुला — महाकाली नगरपालिका १ मा चारबर्ष अघि निर्माण भएको छापरी–खलंगा रोपवे अहिले प्रयोग विहिन हुन पुगेको छ । साविकको छापरी गाविसमा उत्पादन हुने तरकारी लगायतका स्थानीय उत्पादनलाई सदरमुकाम पुर्‍याउने उद्देश्यले रोपवे निर्माण गरिएको थियो । अहिले ढुवानीका लागि सामान नपाउँदा बन्द हुन पुगेको स्थानीय हरेराम पार्कीले बताए । 

खलंगा–छापरी रोपवे प्रयोगविहीन

‘गाउँमा उत्पादन हुने स्थानीय बस्तुलाई ढुवानी गर्न सहज होस भनेर रोपवे निर्माण गरिएको हो’ स्थानीय रामसिँह कुवरले भने, ‘अहिले उत्पादन घटेपछि ढुवानीका लागि सामान नै नपाईने अवस्था छ ।’ तत्कालिन अवस्थामा गैरसरकारी संस्थाहरूको सहयोगमा स्थानीयले तरकारी लगायतको उत्पादन बढाएपनि अहिले उत्पादनमा कमी आएको स्थानीय बताउँछन् ।


‘स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र बजारबाट खरिद गरिएको बस्तुलाई गाउँसम्म ढुवानी गर्न रोपवेबाट सजिलो थियो’ महाकाली नगरपालिका १ का वडाध्यक्ष कल्यानसिँह कुँवरले भने, ‘अहिले गाउँमा तरकारी लगायत अन्य बस्तु उत्पादन गर्ने सिजन सकिएको र मानिसहरू पनि यार्सागुम्बा संकलनका लागि लेकतिर गएकोले एक महिनादेखि रोपवे सञ्चालनमा आउन नसकेको हो ।’


तत्कालिन समयमा छापरीका दुई सय घरपरिवार व्यवसायिक तरकारी खेती गर्न थालेका थिए । गैरसरकारी संस्थाहरूको प्राविधिक सहयोग पाएपछि व्यवसायीक उत्पादनमा सहजता आएको थियो । अहिले ति संस्थाहरूको आफ्नो कार्यक्रम सकिएपछि स्थानीय किसानमा तरकारी लगायत अन्य नगदे बस्तु उत्पादन गर्ने बानी घटै गएको सदरमुकाम खलंगास्थित कृषि उपज संकलन केन्द्रका दिलेन्द्रप्रसाद भट्टले बताए ।


यो क्षेत्रमा प्राय महिलाहरू नै घरमा उत्पादन हुने बस्तु पिठ्युमा बोकेर सदरमुकाम खलंगा लगायत नजिकका बजारसम्म पुर्‍याएर विक्री गर्दै आएका थिए । त्यही समस्यालाई मध्यनजर गर्दै तत्कालिन स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा १ हजार २६८ मिटर लम्वाइको उक्त ग्रेभिटी रोपवे करिव ४६ लाखको लागतमा निर्माण भएको हो ।


ग्रेभेटी रोपवेमा माथि (छापरी) बाट ९० किलोग्राम तथा तल (खलंगा) बाट ३० किलोग्राम ओसारपसार गर्न सकिने कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिए । रोपवेले सामग्री ओसारपसार गर्दा १ मिनेट ४० सेकेण्ड समय लाग्ने उनले बताए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?