१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वर्षातमा पनि खानेपानीको संकट

डीआर पन्त

डडेलधुरा — दुई सातादेखि मनसुनी वर्षा भइरहेको छ । अविरल वर्षाले गाउँमा जताततै पहिरो खसेको छ । वर्षायाममा पनि खानेपानीको अभाव हुंँदा डडेलधुराको अजयमेरु गाउँपालिकाका २ वटा वडाका बासिन्दाले गाउँ छाडेका छन् । 

वर्षातमा पनि खानेपानीको संकट

अजयमेरु गाउँपालिका ५ र ६ का बासिन्दा वर्षात्मा पनि खानेपानीको हाहाकार भएपछि गाउँ छोडेर विस्थापित हुन बाध्य भएका हुन् । गाउँपालिकाको सबैभन्दा बढी जनसंख्या रहेको साविक देवल गाविसका दुवै वडामा खानेपानीको हाहाकार भएपछि सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको छ ।


दुवै वडाका गाल, मटेला, भण्डारी गाउँ, झिङनी, राजुल ओडिगाउँलगायतका एक दर्जन गाउँमा खानेपानीको चरम अभाव हुन थालेपछि गाउँं छोडेर अन्यत्र बसाइँ सर्नेको संख्या दैनिक बढ्दै जान थालेको स्थानीयले बताए । ‘गाउँपालिकाले जथाभावी सडक निर्माण गरेका कारण अधिकांश गाउँ खानेपानीविहीन भएका हुन्,’ स्थानीय हरि रावतले भने, ‘कोही खोला किनार त कोही गाउँ छोडेर तराई झर्न थालेका छन् ।’ गाउँंमा केही गरौं भन्ने भावना भएका युवाहरू समेत पानी नहुँदा अन्यत्र जान थालेको उनले बताए । रावतले भने, ‘खानेपानीको पहिलेदेखि नै समस्या भएको क्षेत्र हो तर दुई वर्षयता गाउँपालिकाले जथाभावी डोजर प्रयोग गरी सडक निर्माण गर्न थालेपछि पानी संकट बढेको हो ।’


‘पानी संकटका कारण अधिकांश स्थानीयले विगतदेखि नै पुस्तैनी गाउँ र नदी किनारमा दोहोरो बस्ती बनाउँदै आएका हुन्’ स्थानीय युवा हरिश लावडले भने, ‘गाउँपालिका बनेपछि खानेपानी समस्याभन्दा सडकलाई प्राथमिकतामा राखेपछि पानी संकट झन बढ्न थालेको हो ।’


पहिलो वर्ष गाउँपालिकाले खानेपानी समस्यालाई प्राथमिकतामा राखेर केही योजना सुरु गरे पनि गत आर्थिक वर्षमा भने खानेपानीका योजनाको रकम समेत सडक निर्माणमा हालेपछि गाउँमा पानीको हाहाकार भएको लावडले वताए । उनले भने, ‘दलितहरू झन् बढी संकटमा परेका छन् । परम्परागत नाउलो र कुवा गैरदलिततहरूको कब्जामा भएका कारण भएको पानीसमेत दलितहरूले पाउन सक्दैनन् ।’


उनका अनुसार परम्परागत पानीका अधिकांश स्रोत सुकिसकेका छन् । ‘पानीका मूल रहेको लेक क्षेत्रमा जथाभावी सडक निर्माण सुरु भएपछि दुई वर्षदेखि पानी संकटका कारण गाउँ छोड्नेको संख्या बढ्न थालेको हो ।’


‘गाउँपालिकाले कमिसनको चक्करमा करोडौं मूल्यका सार्वजनिक गाडी खरिद गर्छ तर खानेपानी जस्तो संवेदनशील समस्यामा आएको बजेट पनि सडकमा लगानी गर्छ,’ स्थानीय महिला अगुवा धर्मादेवी खड्का भन्छिन्, ‘खानेपानी संकटका कारण गाउँ छोड्नेको संख्या बढिरहँदा पनि गाउँपालिका भने कमिसन आउने योजनामा मात्र रकम खर्च गरिरहेको छ ।’


उनका अनुसार गाउँगाउँमा टोल विकास समिति गठन भएको छ तर टोल विकास समितिले आवश्यकतामा आधारित रहेर छनोट गरेको योजनामा गाउँपालिकाले रकम हाल्दैन । उनले भनिन्, ‘पानी संकटका कारण दुईवटै वडाका ३० परिवार बढी अहिलेसम्म विस्थापित भइसकेका छन् ।’ अजयमेरु गाउँपालिका वडा नं ५ मा ५ सय ५९ घरपरिवार र वडा नं ६ का ४ सय ७८ घरधुरी खानेपानीको चरम संकटमा रहेका छन् ।


खानेपानीकै समस्याका कारण हरेक वर्ष थातथलो छोडेर जानेको संख्या बढ्दै गएको वडासचिव केशव भट्टले बताए । पानी संकटका कारण कृषि उत्पादनमा लागेका अधिकांश युवाहरूले पनि गाउँ छोडिसकेको उनले जानकारी दिए । वडा कार्यालयको तथ्यांकअनुसार दुई वर्षमा दुवै वडावाट ७२ परिवार पानी संकटका कारण गाउँबाट विस्थापित भइसकेका छन् । ‘पानी संकटका कारण गाउँ खाली हुन थालेको छ,’ स्थानीय लालबहादुर खड्काले भने, ‘दैनिक ६ घण्टा पैदल हिंडेर खोलाबाट पानी बोकेर मान्छे र गाईबस्तुलाई खुवाउनुपर्ने अवस्थामा छौं ।’


पानीका मूल भएको लेक क्षेत्रको जंगलवाट आधा दर्जन बढी सडक निर्माण गर्न ठूला ठूला डोजर र रोलर प्रयोग भएपछि गाउँमा आउने सवै मूल सुकिसकेको पनि उनले बताए । ‘राजनीतिक भागबण्डा र कमिसनको चक्करमा सडकबाहेक अरू क्षेत्रलाई नहेरेको परिणाम गाउँहरू पानीविहीन भएका हुन,’ खड्का भन्छन, ‘पानीका कारण बालबालिकाको पढाइ समेत प्रभावित हुन थालेको दुई वर्ष भएको छ । गाउँपालिका भने आश्वासन मात्र दिन्छ तर खानेपानीका योजना दिंदैन ।


गाउँपालिका उपप्रमुख कलावती भाँण सुरनाया नदीबाट लिफ्टबाट पानी ल्याउने बताउँछिन् । उनले भनिन्, ‘मूल नहुँदा खानेपानीको संकट बढ्दै गएको हो, सुरनाया नदीबाट लिफ्ट मार्फत पानी ल्याउने सोच बनाएका छौं ।’ सुरनाया नदी बैतडी र डडेलधुराको सीमा नदी हो ।


नदीभन्दा निकै उचाइमा रहेका गाउँमा सुरनाया नदीबाट पानी ल्याउने सपना मात्र भएको स्थानीयको गुनासो रहेको छ । निर्वाचनमा खानेपानी प्रमुख चुनावी मुद्दा बनेको अजयमेरु गाउँपालिकाका अन्य वडा पनि खानेपानीको चरम संकट भोगिरहेका छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?