बाजुरा जिप दुर्घटना : १२ घाइतेकाे हेलिकप्टरबाट उद्धार (अपडेट)

चालकसहित दुईजनाकाे मृत्यु
संगीता तिमिल्सेना 

बाजुरा — शुक्रबार बिहान बाजुराबाट कालीकोट गइरहेको जिप दुर्घटनामा घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाजुरा जिप दुर्घटना : १२ घाइतेकाे हेलिकप्टरबाट उद्धार (अपडेट)

जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएकालाई सेनाकाे हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।


दुर्घटनामा घाइते हुनेमा मुगुकाे खत्याड गाउँपालिका–६ बस्ने २८ वर्षका उभजंग बहादुर शाही, सोही वडा बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट बताए ।


यस्तै बाजुराको हिमाली गाउँपालिका–४ रुगिनको फैतीका ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेज लगिएको भाटले जानकारी दिए ।


दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।


दुर्घटनामा कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय जिप चालक रमेश बोगटी र मुगुको खत्याड गाँउपालिका–६ का २४ वर्षीय रामबहादुर शाहीकाे घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुईजनाको सकुशल उद्धार गरिएको थियाे । प्रहरीका अनुसार कर्णाली करिडोर अन्तरगत जगन्नाथ गाउँपलिका–पीलुचौरबाट कालिकोटको जितेगडा जाँदैगरेको क १ ज २१ नम्बरको जीप उकालोमा चढ्न नसक्दा ५० मिटर तल खसेको हाे ।

जीप बिहान ८ः३० मिनेटमा दुर्घटना भएको हाे । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीद्वारा घटनास्थलमै प्राथमिक उपचार गरिएकाे थियाे ।

प्रकाशित : श्रावण ३, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?