१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महाकाली करिडोरको काम सुस्त 

मनोज बडू

दार्चुला — महाकाली करिडोरअन्तर्गतको कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको खण्डमा वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन नै नआई सडक निर्माण योजना अघि बढाइएको छ । 

महाकाली करिडोरको काम सुस्त 

२ सय ९१ किलोमिटर सडक खण्डको दार्चुला, बैतडी र डडेलधुराका विभिन्न ठाउँहरूमा निर्माणको काम भइरहेको छ । टुक्रा टुक्रामा ठेक्का लगाएर काम हुँदै आएको करिडोरका धेरै ठाउँ कामको गति सुस्त छ । करिडोरअन्तर्गतका वनजंगल र बस्ती नभएका ठाउँमा ठेक्का भएर निर्माण चलिरहेको दार्चुला–तिंकर सडक योजना कार्यालयले जनाएको छ । करिडोरको अलग्गै कार्यालय नभएकाले तिंकर सडक योजनाले नै काम हेर्दै आएको छ ।

करिडोरअन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिकाको जौलजिवी, लेकम गाउँपालिकाको सर्मोली सल्सेना, बैतडीको सिल्लेक, गाजरी, बठ्ठा र डडेलधुराको जोगबुढा क्षेत्रमा सडक निर्माणको काम चालु रहेको इन्जिनियर दिनेश रैखोलाले बताए । ‘अध्ययनले जोखिम नहुने क्षेत्र छनोट गरेर निर्माणको काम भइरहेको छ,’ उनले भने ।

जौलजिवी क्षेत्रमा निर्माणाधीन करिडोरका कारण बस्ती जोखिममा परेको स्थानीयले बताएका छन् । सडक खनेर तल फालेको माटोका कारण बाढीको जोखिम बढाएको स्थानीय बहादुर चन्दले बताए । यसअघि पनि भर्तोला–जौलजिवी सडकले जोखिममा रहेको जौलजिवी बस्ती करिडोरअन्तर्गतको सडकलाई चौडा बनाउँदा सडकको माटो तल फालेको छ । भारी वर्षाका बेला ती ढुंगामाटो बस्तीका घरहरूमा पुग्छ ।

त्यस्तै सर्मोली– सल्सेना खण्डमा सडक निर्माणपछि पहिरोको जोखिम बढेको छ । ‘करिडोरजस्तो बृहत् योजनामा पनि वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यान नदिनु जोखिम निम्त्याउनु हो,’ सर्मोलीका स्थानीय जमनसिंह साउँदले भने । बस्ती र खेत भएको ठाउँमा पनि सडक निर्माणको काम भइरहेको छ ।

तिंकर सडक योजना कार्यालयले भने सामान्य विवादबाहेक अन्य ठाउँमा निर्माणको काम चलिरहेको जनाएको छ । कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भने सडक निर्माणको ठेक्का नै हुन सकेको छैन । ठेक्का भएर काम सुरु गरिएको डडेलधुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगल परेपछि यसअघि सडक निर्माण कार्य रोकिएको थियो ।

‘गत वैशाख जेठ महिनासम्म फिल्डमा खटिएर सडक विभागले ईआईए गरेको छ,’ इन्जिनियर रैखोलाले भने, ‘महाकाली करिडोरको वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय पुगेको छ । अबको केही महिनामा प्रतिवेदन तयार हुनेछ ।’

सरकारले तराई क्षेत्रलाई हिमालसँग जोड्ने तथा त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि बढाएको हो । सुरुमा महाकाली किनारै–किनार सडक निर्माण गरेर तिंकर नाका जोड्ने योजनामा पछि पञ्चेश्वर परियोजनाका कारण दूरी बढ्न गएको हो ।

करिडोरअन्तर्गत एक दशकदेखि दार्चुला–तिंकर सडकखण्ड निर्माणाधीन अवस्थामा छ । अत्तरिया–दार्चुला महाकाली राजमार्गको समानान्तर दूरीमा निर्माण भइरहेको करिडोरका कारण दार्चुला–तिंकर सडक ओझेलमा परेको छ । महाकाली राजमार्ग अत्तरियाबाट ३ सय ८ किलोमिटर दूरीमा सदरमुकाम खलंगा पुग्छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?