१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

परदेशबाट फर्केर आलु खेती

डीआर पन्त

डडेलधुरा — रोजगारीका लागि तेस्रो मुलुक पुगेर फर्किएका युवाको एक समूह गाउँमै आलुखेती गर्ने विचारमा लागे । विभिन्न विषयमा स्नातक ५ जनाको कुरा मिल्यो । ४० रोपनीको सिंगो प्लट जग्गा खोजे । परिवारको अंशबन्डाले टुक्र्याउने र घडेरीका लागि खण्डीकरणको चलनले सिंगो एउटै ठूलो प्लट फेला परेन । भागेश्वर–४ को नौगाउँमा मुस्किलले २७ रोपनी जग्गा पाए । 

गत वर्ष गन्यापधुरा गाउँपालिकामा ४ जनाको समूहले २ सय रोपनीमा गरेको आलुखेतीवाट एकै सिजनमा ५० लाखभन्दा बढी आम्दानी गरे । अमरगढीका एक जना युवाले २० रोपनीभन्दा कम जमिनमा गरेको आलुखेतीवाट २ सिजनमा २० लाख आम्दानी गरेर चर्चा कमाए । आलु खेतीमा मात्र होइन २ वर्षयता डडेलधुरामा विभिन्न व्यावसायिक तरकारी खेतीमा युवाहरूको संलग्नता निकै बढेको छ ।


ग्रामीण सडक सञ्जाल विस्तारसँगै कृषिउपजले बजार पाउन थालेपछि व्यावसायिक कृषिमा युवाको रुचि बढेको हो ।

‘सधैं विदेश नै जानुभन्दा तरिका पुर्‍याएर खेती गर्न सके गाउँघरमै आम्दानी हुन सक्ने रहेछ,’ जग्गा खोज्दै भागेश्वर पुगेका युवामध्ये अमरगढी–५ का रमेश भट्टले भने ‘बजार, फलाउने तरिका, धेरै फल्ने ठाउँ आदिका बारेमा बुझेर नै हामी पनि आलु खेती गर्ने निर्णयमा पुग्यौं ।’ सुरुमा १० लाख लगानी गरेर खेती थाल्ने योजना बनाएको उनले बताए ।


तरकारीको व्यावसायिक खेतीमध्ये आलुमा मात्र यहाँका सयौं युवाहरू समूहगत रूपमा जुटेका छन् । पछिल्लो समय करिब १७ सय जना युवा व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । यिनमा १३ सय युवा कृषक आलुखेतीमा संलग्न छन् । ‘हाम्रो तथ्यांकमा १३ सय जनाभन्दा बढी कृषक आलुखेतीमा संलग्न छन्,’ आलु सुपरजोन कार्यक्रम डडेलधुराका प्रमुख खेमराज जोशीले भने, ‘आलुबाहेक विभिन्न तरकारी खेतीमा संलग्न युवाहरूको संख्या १७ सयभन्दा बढी छ ।’ परम्परागत रूपमा आलुखेती गर्ने तथ्यांकमा समेटिन नसकेका कृषकको संख्या पनि उल्लेख्य रहेको उनले बताए ।


वर्षमा दुई सिजन उत्पादन गर्न सकिने तरकारीबाट राम्रो मुनाफा लिन लगानी र परिश्रम पनि आवश्यक छ । संलग्न कृषकहरूले तरिका पुर्‍याएर लगानी गर्दा तरकारीले मनग्ये आम्दानी दिने अवस्था रहेको बताएका छन् । केही समययता उत्साही कृषकलाई आलु सुपरजोन कार्यक्रमले विभिन्न प्रकारका सहयोग गर्न थालेपछि पनि युवा सामूहिक आलु खेतीमा आकर्षित भएका हुन् ।


‘राम्रो मुनाफा गर्न सकिने सम्भावना भएकाले आलुखेती युवाहरूको रोजाइमा परेको छ,’ भागेश्वर ४ जिल्लाकै अगुवा कृषक गणेश बुढाऐरले भने ‘आलुखेतीका माध्यमले भए पनि उत्पादनशील क्षेत्रमा युवाहरूको संलग्नता निकै बढेको छ ।’ परम्परागत रूपमा तरकारी खेती गरिरहेकाहरूलाई पनि युवाहरूको संलग्नताले व्याववायिक र आधुनिक बन्ने प्रेरणा दिएको उनले बताए ।


डडेलधुरामा पछिल्लो २ वर्षदेखि १ हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती भइरहेको सरकारी तथ्यांक छ । आलु सुपरजोन र विभिन्न स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार गत वर्षसम्म ६ सय हेक्टरमा मात्र आलु खेती भइरहेको थियो । यस आर्थिक वर्षमा थप ५ सय हेक्टर जमिनमा आलु खेती गर्न आलु सुपर जोन कार्यक्रमले योजना बनाएको छ ।


जिल्लाका ५ वटा स्थानीय तहमा ४७ वटा सहकारी तथा समूह मार्फत सामूहिक रूपमा आलुखेती गरिरहेका छन् । समूह र सहकारीका माध्यमले सामूहिक आलु खेती गर्नेको संख्या मात्रै एक हजारभन्दा बढी रहेको छ ।


युवाहरूलाई प्रोत्साहन गर्न विभिन्न स्थानीय तहले यस आर्थिक वर्षमा ५० देखि ४ सय हेक्टर जमिनमा आलु खेतीका लागि सहयोग गर्न बजेटसमेत छुट्टयाएका छन् । जिल्लाका ७ वटै स्थानीय तहले १ हजार ४ सय रोपनीमा कृषकलाई सहज रूपमा आलुको बीउ उपलब्ध गराउन बजेट छुट्टयाएका हुन् । कृषि सुपरजोन कार्यक्रमका प्रमुख जोशी भन्छन्, ‘आलु खेतीमा युवाहरूको संलग्नता बढेसँगै उत्पादनमा पनि निकै वृद्धि भएको छ ।’


विगत वर्षहरूभन्दा यस वर्ष दोब्बरले आलु उत्पादन बढेको पनि उनले बताए । कृषि ज्ञान केन्द्रको तथ्यांकमा पछिल्लो सिजनमा मात्र ७ करोडसम्मको आलु जिल्लाबाहिर गएको छ ।


कृषि विभागका वरिष्ठ प्राविधिक टेकबहादुर विष्ट कुल उत्पादनको ४० प्रतिशत आलु तराई निकासी हुने गरेको र बाँकी पहाडी जिल्लामा खपत हुने गरेको बताउँछन् । विष्टले भने, ‘जिल्लामा अनुमानित ९ सय मेट्रिक टन आलु उत्पादन भइरहेको छ ।’ उनका अनुसार यो विगतका वर्षभन्दा दोब्बरले बढी उत्पादन हो । ‘व्यावसायिक रूपमा जसरी कृषक उत्पादनमा लागेका छन्, त्योअनुरूप उत्पादन भने हुन सकेको छैन ।’ वरिष्ठ प्राविधिक विष्टले भने, ‘उत्पादनका क्षेत्रमा व्यावसायिक रूपमा युवाहरूको उल्लेख्य प्रवेशले गर्दा यस क्षेत्रमा कार्यरत सबै उत्साहित भएका छन् ।’


यस वर्ष डडेलधुरामा रहेको शीत भण्डारमा मात्र कृषकहरूले ४ सय ५० मेट्रिक टन आलु भण्डारण गरेका छन् । वरिष्ठ कृषि प्राविधिक विष्टका अनुसार नेपालमा २ सिजनमा मात्र आलु उत्पादन हुने गरेकोमा अब वर्षमा ३ पटक आलु उत्पादन गर्ने प्रयास सुरु गरिएको छ । आलु मात्र नभई आलुको बीउ उत्पादनबाट बढी मुनाफा हुने भएकाले कृषकको आकर्षण त्यसतर्फ पनि बढेको छ । आलु सुपरजोन कार्यक्रमका प्रमुख खेमराज जोशी भन्छन्, ‘व्यावसायिक रूपमा गुणस्तरीय बीउ उत्पादनका क्षेत्रमा पनि ठूलो लगानी भइरहेको छ ।’


युवाहरूलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न स्थानीय तहको पनि मुख्य भूमिका रहेको छ । भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्टले भनिन्, ‘कृषि क्षेत्रमा काम गर्न चाहने युवाहरूका लागि हरेक स्थानीय तहले विषेष कार्यक्रम ल्याउनु आवश्यक रहेको छ ।’ आलु सुपरजोन कार्यक्रमका कारण आलु खेतीमा युवाहरू प्रोत्साहित भएजस्तै स्थानीय तहले अन्य उत्पादनका क्षेत्रमा पनि युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने प्रमुख भट्टले बताइन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?