कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डोटीमा लोक सेवा परीक्षार्थीको घुइँचो

मुस्किलले ४ हजार जनालाई बास दिन सक्ने दिपायलमा यतिबेला ७ हजार जना पुगेका छन
मोहन शाही

डोटी — यहाँका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई हिजोआज बेग्लै व्यस्तता छ । टोलबस्तीमा कसको घर खाली छ, कुन सरकारी निवासमा कति जनालाई आवासको व्यवस्था हुन सक्ने सक्ने क्षमता छ भन्दै खोजबिन गरिरहेका छन् ।

डोटीमा लोक सेवा परीक्षार्थीको घुइँचो

लोकसेवा आयोगले खुलाएको परीक्षा दिन आएकाहरू बास नपाएर अलपत्र पर्ने अवस्था आएपछि उनले व्यवस्थापनमा दौडधुप गरिरहेका हुन् ।


विभिन्न पदका लागि खुलेको आयोगको परीक्षा दिन आएका परीक्षार्थीहरूको संख्या क्षमताभन्दा बढी दिपायलमा ओइरिएपछि प्रजिअ पौड्याल आफैं उनीहरूको गाँस, बास र सुरक्षाका लागि खटिनुपरेको हो ।


प्रजिअको जिम्मेवारीका हिसाबले परीक्षार्थीहरूका लागि डेरा खोज्दै हिँड्ने नभए पनि नागरिकका हैसियतले आफू खटनपटनमा लागेको पौडेलले बताए । परीक्षार्थीहरूको व्यवस्थापनका लागि प्रजिअ आफैं अग्रसर भएपछि रेडक्रस सोसाइटी, होटल व्यवसायी संघ, डोटी उद्योग बाणिज्य संघ र च्याम्बर अफ कमर्सलगायत संघसंस्था र स्थानीय पनि अघि आएका छन् । सबैको सहयोगले परीक्षार्थीहरू अलपत्र पर्नुपर्ने अवस्था आउन नदिने प्रजिअ पौडेल बताए ।

दिपायलमा लोकसेवा आयोगको परीक्षा दिन आउने परीक्षार्थीलाई खान र बस्ने व्यवस्थाको अभाव हुँदा कतिपय अलपत्र पर्ने गरेका छन् । पछिल्लो समय स्थानीयहरूले डेरा नपाएकाहरूलाई आफ्नै घरमा समेत आश्रय दिने चलन सुरु गरे पनि समस्या अझै टरेको छैन ।


बाजुराबाट परीक्षा दिन आएका सरोज सिंहको चार जनाको समूह बिहीबार राति ९ बजे सिलगढी पुगेको थियो । ‘कसैसँग चिनजान पनि थिएन । भएका होटल सबै भरिभराउ थिए,’ उनले भने, ‘पछि सीडीओ साबले हामीलाई सरकारी कार्यालयको हलमा सुत्ने व्यवस्था मिलाइदिएपछि ठूलो राहत भयो ।’ कतिपय महिला परीक्षार्थीहरूसमेत दिपायलमा खाने–बस्ने समस्या भएको दुखेसो पोखिरहेका थिए । ‘होटलजति सबै एक महिनाअघिबाट नै बुकिङ रहेछन्,’ चितवनबाट आएकी सरस्वती आचार्यले भनिन्, ‘पहिलोपटक आएकाले हामी २ घण्टा सडकमै अलपत्र बस्नुपर्‍यो । पछि सरकारी गेस्टहाउसमा ठाउँ पायौं ।’ दिपायलमा होटलका हलहरू पनि परीक्षार्थीको भीडले भरिभराउ छन् ।


दिपायलको सिलगढीका साना ठूला सबै प्रकारका होटल गरेर क्षमता एक रातमा चार हजार जना पाहुनालाई बास दिन सक्ने मात्रै हो । केही दिनयता परीक्षार्थी र तिनका आफन्त गरी ७ हजार जना बिहीबारदेखि दिपायलमा छन् । ‘होटल र मान्छेका घरहरूमा ठाउँ अपुग भएपछि प्रशासन, सरकारी आवास गृह, क्वाटर र हलहरूको सूची संकलन गरेर बास नपाएर अलपत्र परेकाको हामीले सहज रूपमा व्यवस्थापन गरिरहेका छौं,’ प्रजिअ पौडेलले भने, ‘करिब २ हजारको व्यवस्थापन सरकारी गेस्टहाउस र निवासहरूमा

गरेका छौं ।’


प्रजिअको टोलीले राजपुर, पिपल्ला, एयरपोर्ट र सिलगढीका विभिन्न स्थानहरूमा अनुगमन गर्नुका साथै परीक्षार्थीको बसाइँ व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउन समन्वय गरेको थियो । पौड्यालले कुनै पनि परीक्षार्थीले अलपत्र पर्नु नपरेको दाबी गरे । शनिबार परीक्षार्थीहरूको बढी घुइँचो थियो । केही दिनसम्म अझै परीक्षा चल्ने भए पनि बिस्तारै संख्या घट्दै जाने प्रजिअ पौडेल बताउँछन् ।


थोरै होटल भएका कारण परीक्षार्थीलाई डोटीमा बास बस्नका लागि बर्सेनि समस्या हुँदै आएको होटल व्यवसायी संघका महासचिव राजेन्द्र शाहीले बताए । लोकसेवा आयोगले गत असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा स्थानीय तहका विभिन्न पदमा देशैभरिमा ९ हजार १ सय ६१ कर्मचारीको विज्ञापन माग गरेको थियो ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?