कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाषा नबुझ्दा घरमै सुत्केरी

टीकापुर — भजनी नगरपालिका ५, पृथ्वीपुरकी भोजकुमारी थापा स्वास्थ्य स्वयंसेविका हुन् । उनी ०६० सालदेखि गाउँमा स्वास्थ्यसम्बन्धी सेवा तथा परामर्श दिँदै आएकी छन् । उनलाई हेक्का भएसम्म यो अवधिमा पृथ्वीपुर गाउँबाट एक जनामात्र महिला सुत्केरी हुन अस्पताल पुगेकी छन् ।

‘कुर्मीदेवी चमारको दोस्रो बच्चा जन्मिँदा अप्ठ्यारो भएपछि मलाई बोलाए, मैले अस्पताल लैजान भनेँ,’ उनले भनिन्, ‘उनी अस्पतालमै सुरक्षित सुत्केरी भइन् ।’ कुर्मीदेवीबाहेक अरु कसैले पनि अस्पतालमा बच्चा नजन्माएको उनले बताइन् । गर्भवतीले सुत्केरी जाँच गराउने, बच्चालाई खोप पनि लगाउने तर, सुत्केरी हुन भने अस्पताल नजाने थापाको भनाइ छ ।


उनले भनिन्, ‘जाँच गराउँदा सुत्केरी हुन अस्पताल जाने सल्लाह दिन्छु तर, जाँदैनन् ।’ अशिक्षा र परम्परागत सोचकै कारण उनीहरू अझै प्रसूतिका लागि अस्पताल नपुगेको थापाको भनाइ छ । ‘समुदायमै चेतनाको स्तर उकासिन सकेको छैन,’ उनले भनिन्, ‘उनीहरूमा घरमै बच्चा जन्माउनुपर्छ भन्छन् ।’


स्थानीय दिनेशकुमार धोबीले बोली र भाषा नमिल्ने भएकाले आफूहरूलाई स्थानीय अस्पताल र स्वास्थ्य चौकीभन्दा सीमावर्ती भारत जान सजिलो लाग्ने गरेको बताए । ‘हाम्रो बिहेबारी सबै भारतबाटै हुने गरेको छ । उतैको बोली भाषा मिल्छ । उतै सजिलो लाग्छ,’ उनले भने, ‘अस्पताल लानुपरे उतै लान्छौं ।’


भजनी नगरपालिका ५ को बस्तीबाट स्थानीय अस्पताल पनि टाढा छ । बाटो बीचमा खोला छ । वर्षामा डुंगा तरेर अस्पताल जान गाह्रो हुने उनी बताउँछन् । अस्पतालमा सुत्केरी गराउनुपर्छ भन्ने चेतना पनि कम भएको उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?