कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलिलैमा बिहे, छुट्यो पढाइ

प्रजनन अंगहरु परिपक्व नहुँदै बिहे गर्ने चलन रहेकाले महिलामा पाठेघर खस्ने, सेतो पानी बग्नेलगायत समस्या देखिएको चिकित्सकहरु बताउँछन्
तृप्ति शाही, मोहन शाही

बैतडी / डोटी — पाटन नगरपालिका ८ कि सन्तोषी ऐरी अहिले १९ लागिन् । उनका पति सुमन २० वर्षका भए । सन्तोषी ९ महिनाकी गर्भवती छिन् । उनीहरूको बिहे भएको १ वर्ष बढी भयो ।

कलिलैमा बिहे, छुट्यो पढाइ

हतारमा कम उमेरमै प्रेम विवाह गरेका उनीहरू अहिले भने पछुतो मानिरहेका छन् । सानैमा बिहे गरेकाले पढाइ छुटेको भन्दै सन्तोषीलाई नराम्रो लागेको छ । ११ पढदै गर्दा बिहे गरेकी उनले १२ कक्षा पढ्न पाइनन् । घरपरिवारको साथ भए पनि पारिवारिक जिम्मेवारीले उनको पढाइ छुट्यो ।


स्वास्थ्य संस्थामा पहिलोपटक गर्भजाँच गराउन आएका ४ हजार ६ सय ३६ जना मध्ये ७ प्रतिशत किशोरी छन् । आव ०७४/७५ मा ५ हजार ४ सय ४६ गर्भवती स्वास्थ्य संस्थामा पहिलोपटक गर्भजाँच गर्न पुगेकोमा ४ सय ७ जना (९ प्रतिशत) २० वर्ष मुनिका किशोरी रहेको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले बताए । उनका अनुसार आव ०७३/७४ मा ५ सय ७६ किशोरी गर्भवती थिए । ५ हजार ४ सय ८४ गर्भवतीमध्ये ११ प्रतिशत २० वर्ष नपुगेका रहेको उनले बताए ।


सोही संख्याका किशोरीहरू स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आए पनि उत्तिकै संख्यामा नआएको पनि हुनसक्ने उनले बताए । स्वास्थ्यको तथ्यांक हेर्दा जिल्लामा बालविवाहको अवस्था निकै छ । सानैमै बिहे गर्ने भएकाले महिलाहरूमा प्रजनन् समस्या धेरै देखिने गरेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. वसन्तराज जोशीले बताए ।


उनले भने, ‘जिल्ला अस्पताल, अन्य स्वास्थ्य संस्थासंँगै स्वास्थ्य शिविरहरू सञ्चालन हुँदा प्रजनन् समस्या बोकेका महिलाहरू धेरै आउने गर्नुहुन्छ । सानै उमेरमा बिहे र बच्चा जन्माउँदा हुने मुख्य समस्या यही हो ।’ डा. जोशीका अनुसार प्रजनन् अंगहरू परिपक्व नहुँदै बिहे गर्ने चलन रहेकाले महिलाहरूमा पाठेघर खस्ने, सेतो पानी बग्नेलगायत समस्या देखिने गरेका छन् ।


बन्यो स्तनपान कक्ष

अबदेखि जिल्ला प्रशासन कार्यालय डोटीमा आएका महिलाले स्तनपान गर्न लुक्नुपर्ने झन्झट व्यहोर्नुपर्ने छैन । उनीहरूले ढुक्कसँग आफ्ना नानीबाबुहरूलाई स्तनपान गराउन पाउने छन् । जिल्लामै पहिलोपटक जिल्ला प्रशासनले कार्यालय हाताभित्र स्तनपान कक्ष स्थापना गरेको छ ।


कार्यालयमा सेवा लिन आएका महिलाहरू स्तनपान गराउन असहज महसुस गर्ने भएकाले उनीहरूका लागि बेग्लै कक्षको ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘केही कुर्सी र महिलालाई आरामसँग बस्न मिल्ने बेग्लै कक्ष बनाएका छौं,’ उनले भने, ‘सेवाग्राहीलाई मात्र नभएर प्रशासनमा काम गर्ने महिला कर्मचारीलाई पनि उक्त कक्ष उपयोगी हुनेछ ।’


एकपटकमा कम्तीमा ५ आमाले आफ्ना नानीबाबुलाई स्तनपान गराउन सक्ने कक्ष निर्माण गरिएको छ । सबै सरकारी कार्यालयमा स्तनपान कक्ष बेग्लै स्थापना हुनुपर्ने कुरा उठिरहेका बेला डोटीमा भने प्रशासनले आरम्भ गरेको हो । प्रशासन कार्यालयले हाताभित्रै स्तनपान कक्ष स्थापना गरेपछि सेवाग्राही महिलाहरू खुसी भएका छन् ।


अधिकारवादी महिलाहरूले पनि राम्रो काम भन्दै प्रशासनलाई धन्यवाद दिएका छन् । ‘स्तनपान गर्न पाउनु नवजात शिशुहरूको जन्मसिद्ध अधिकार हो,’ अल्पकालीन सेवा केन्द्र सिलगढीकी संयोजक देवकी बोहराले भनिन्, ‘आमाहरूले उचित वातावरण नपाएर समयमा आफ्ना नानीबाबुलाई समयमै स्तनपान गराउन पाउदैनन् । प्रशासनले स्तनपान कक्ष स्थापना गरेर त्यसको महत्त्व झल्काएको हो ।’ महिलाको बढी सहभागिता हुने कार्यालयहरू मालपोत, जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, नगरपालिकालगायतमा पनि स्तनपान कक्ष स्थापना हुनुपर्ने उनको माग छ ।


शिशुका लागि आमाको दूध खाना र पोषण दुवै हो । विश्व स्वास्थ्य संगठनकाअनुसार जन्मेको ५ वर्षभित्र शिशुको ९० प्रतिशत मानसिक विकास हुन्छ । यसका लागि उनीहरूलाई अनिवार्य रूपमा पूर्ण स्तनपान गराउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्ला अस्पताल डोटीका डा. भूषण मिश्रले नवजात शिशुका लागि स्तनपान नै पहिलो खोप भएको बताए ।


उनले बालबच्चाका लागि आमाको दूधभन्दा पोषिलो चिज केही नभएकाले यस्ता स्तनपान कक्ष स्थापनाले राम्रो सन्देश दिने बताए । कामकाजी परिस्थिति, लाज, झन्झटजस्ता कारण स्तनपान गराउने चलन घटदै गएको छ । स्तनपानको अभ्यासमा सुधार गरे विश्वभर वार्षिक ८ लाख २० हजार बालबालिका बचाउन सकिने तथ्यांक छ । नेपालमा बालमृत्युको ५३ प्रतिशत कारण न्यूनपोषण हो, जसको मुख्य कारण आमाको दूध खान नपाउनु हो ।


बालस्वास्थ्य महाशाखाकाअनुसार ५५ प्रतिशत शिशुले मात्र जन्मिएको १ घण्टाभित्र आमाको दूध खान पाइरहेका छन् भने ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने भनिए पनि धेरैलाई अन्य कुरा खुवाइन्छ । ८ महिना पुग्दासम्म ६ प्रतिशतले मात्रै आमाको दूध खान पाउँछन् । सरकारी तथ्यांकअनुसार २५ वर्षअघि नेपालमा स्तनपान दर ७५ प्रतिशत थियो । जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पूर्ण स्तनपान घटेर ६६ प्रतिशतमा झरेको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?