कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भत्ता बुझ्नै सकस

निर्मला खडायत

धनगढी — धनगढी बुद्ध चोककी १ सय ६ वर्षीया कलशी बोगटी सोमबार धनगढीस्थित कृषि विकास बैंकभित्रको एक कुनामा बसेकी थिइन् । वृद्धभत्ताका लागि बैंक पुगेका उनीजस्ता थुप्रै वृद्धवृद्धाहरू हिजोआज बिहानैदेखि बैंकमा पालो कुरिरहेको भेटिन्छन् । घण्टौंम कुर्नुपर्दा सास्ती खेप्नुपरेको उनीहरू गुनासो सुनाउँछन् ।

भत्ता बुझ्नै सकस

‘चार पुस्ताको उमेर खाइसकेँ । अब त एक पाइला हिँड्न पनि हम्मेहम्मे पर्छ,’ कलशीले भनिन्, ‘बिहानै साढे ८ बजे नातिनी लिएर भोको पेटमा वृद्धभत्ता लिन आएकी हुँ । ४ घण्टा भइसक्यो, कतिबेला पालो आउने हो पत्तो छैन ।’ बैंक पुगेकाहरूमध्ये केही कार्यालयको कुनामा बसेका थिए ।


केही बाहिर रुखको फेदमुनि छायामा बसेका थिए । केही चर्को गर्मीमा छाता लिएर उभिएका थिए । ‘वडा कार्यालयबाटै भत्ता उपलब्ध गराइदिएको भए केही राहत हुन्थ्यो । यति टाढा आएर घण्टौंसम्म लाइनमा बस्न साह्रै गाह्रो भएको छ,’ खुट्टाको बिरामी रहेको बताउने धनगढी घुइयाँघाटकी हरद्वारी रानाले भनिन्, ‘सरकारले आउँदा दिनमा घरघरमै नभएपनि वडाबाट वृद्धभत्ता वितरण गरिदेओस् ।’


सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । सोही रकम लिन धनगढी नगरभित्रका विभिन्न वडा क्षेत्रमा बसोबास भएकाहरू भत्ता बुझ्न बैंक धाइरहेका छन् । बैंकमा वृद्धहरूको भीड लागेको हुन्छ । विगतमा साबिकका गाविसका प्रतिनिधिहरू गाउँमै गएर वृद्ध भत्ता बुझाउँथे । हाल उनीहरूले बैंकमै पुग्नुपर्ने नियम बनाइएको छ । धनगढी राजपुरकी हरूली महराले भनिन्, ‘वडा कार्यालयबाटै वृद्धभत्ता वितरण भइदिए सजिलो हुने थियो ।’ चुनावका बेला घरमै वृद्धका हातमा वृद्धभत्ता पुर्‍याउँछौं भनेर वचन दिएका नेताहरूले ढाँटेको उनले बताइन् ।


हरूली बिहानको ८ बजे कृषि विकास बैंकको कार्यालयमा पुगेर कुपन लिएको बताउछिन् । तर, दिउसोको ११ बजिसक्दा पनि हातमा रकम नआउँदा दिक्क लागेको उनले बताइन् । ‘छिटै भत्ता लिएर घर फर्किउँला भनेर भोको पेट आएकी थिए । अझै कुनबेला पाइने हो अत्तोपत्तो छैन,’ उनले भनिन् ।


भोको पेट र चर्को गर्मीमा पानी पनि खान नपाएर छट्पटिनु परेको उनको गुनासो थियो । धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा भने सरकारको निर्णयअनुसार वृद्धहरूको भत्ता बैंकबाटै वितरण गर्ने नीतिगत निर्णय भएकाले सोहीअनुसार गरिएको बताउँछन् ।

प्रकाशित : श्रावण ७, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?