शुक्लामा बढ्दै पर्यटक

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बर्सेनि बढेको छ । निकुञ्जमा विदेशीभन्दा पनि आन्तरिक पर्यटकको संख्या बढेको हो । 

शुक्लामा बढ्दै पर्यटक

पछिल्लो सयममा घुम्ने संस्कृतिको विकाससँगै प्रचार र शुक्लाफाँटालाई आरक्षबाट निकुञ्जमा स्तरोन्नति गरिएपछि पर्यटकको संख्या बढेको हो । स्थानीय तहदेखि पर्यटन क्षेत्रमा कार्यरत विभिन्न निकायले निकुञ्जको प्रचारलाई विशेष जोड दिएका छन् ।


‘निकुञ्जको प्रचारसँगै घुम्ने संस्कृतिको विकास पनि बढेको देखिन्छ,’ प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले भने, ‘निकुञ्ज घुम्ने पर्यटकमा विदेशीभन्दा आन्तरिककै संख्या बढी छ, नेपालमा घुम्ने संस्कृतिको विकास भएको दर्शाउँछ ।’ उनले गत वर्ष निकुञ्जमा सञ्चालन भएको महोत्सवलगायत गतिविधिले पनि पर्यटकको संख्या बढेको बताए ।


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आवमा ६ हजार ५९ पर्यटक भित्रिएका छन् । जसमा करिब ९५ प्रतिशत आन्तरिक रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सार्क राष्ट्रका १ सय ५४ र अन्य विदेशी १ सय ५२ जनाले मात्रै निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो वर्ष ४ हजार ७ सय ४० जना निकुञ्जमा घुम्न आएका थिए ।


गत आवको चैतमा २२ सय ८ र वैशाखमा १८ सय २ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सफारी गर्न सबैभन्दा उपयुक्त समय पनि त्यहि भएकाले सोही अवधिमा पर्यटकको संख्या बढ्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । भीमदत्त नगरपालिकाले चैतमै शुक्लाफाँटा महोत्सव पनि आयोजना गरेको थियो ।


शुक्लाफाँटा बाह्रसिंगाको प्रमुख बासस्थानका रूपमा चिनिन्छ । यहाँको प्रमुख आकर्षण पनि बाह्रसिंगा नै हो । यसबाहेक बाघ, गैंडा र चरा अवलोकनका लागि पनि यो निकुञ्ज प्रमुख गन्तव्य बनेको छ । बाघ र चरा हेर्न पर्यटकहरू कैयौं दिन निकुञ्ज प्रवेश गर्ने गरेका छन् । ‘यस वर्ष प्रचारसँगै भौतिक पूर्वाधारमा पनि विशेष जोड दिइनेछ,’ पौड्यालले भने, ‘वन्यजन्तु अवलोकनका लागि मचान निर्माण, पोखरीहरू र बाटोघाटो व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौं ।’ उनले हरेक वर्ष झैं यस वर्ष पनि घाँसे मैदान व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको बताए ।


गत वर्षदेखि जिल्लाको दक्षिणी क्षेत्रबाट पनि निकुञ्ज घुम्ने प्रवेशद्वार खुला गरिएको छ । तर उक्त प्रवेशद्वार चल्तीमा आएको छैन । तर यस वर्ष दक्षिणी क्षेत्रबाट पनि पर्यटकको संख्या उल्लेख्य आउने अपेक्षा गरिएको छ । यसैगरी निकुञ्जको बीच भागमा पर्ने चौधरी नदीमा पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढेको छ ।


हालका वर्षमा निकुञ्जबाहिर पनि भौतिक पूर्वाधारको विकास बढेको छ । खासगरी आवास तथा सफारीका लागि पर्यटन व्यवसायीहरू यसतर्फ लागेका छन् । अहिले निकुञ्जको मुख्य प्रवेशद्वार मझगाउँ नजिकै होटेल र होमस्टे सञ्चालनमा छन् । महेन्द्रनगरमा पनि स्तरीय होटेल थपिने क्रम बढेको छ ।


गत वर्षदेखि नै कृष्णपुर नगरपालिकाको वाणीस्थित मुक्त कमैया बस्तीमा पनि होमस्टे (घरबास) सञ्चालन भएको छ । यस वर्ष शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा र बोलडाडीमा होमस्टे सञ्चालनको तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत पौड्यालले बताए ।


असार दोस्रो सातादेखि निकुञ्जमा सवारीसाधनको प्रवेश रोक लगाइएको छ । पर्यटकहरू हात्ती सफारीबाट वा पैदलै प्रवेश गर्न सक्नेछन् । वर्षामा बाटो खराब हुनसक्ने भएकाले सवारी साधन प्रवेशमा रोक लगाइएको हो । असार १५ देखि असोजसम्म सवारी प्रवेश बन्द हुने निकुञ्ज प्रशासनले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?