अघोषित लोडसेडिङले सास्ती

धनगढी — धनगढीमा विद्युत सेवा निरन्तर अनियमित भएको छ । उखरमाउलो गर्मीका बेला दिनरात विद्युत् अनियमित हुँदा स्थानीय बासिन्दा हैरान छन् । उद्योग व्यवसाय प्रभावित बनेको छ ।

‘रातभर पटकपटक बिजुली जाने गरेकाले निदाउनै पाइँदैन् । दिउँसो त झन् छिनछिनमै गइरहन्छ,’ धनगढी उपमहानगरपालिका ३ का भरत हितालले भने, ‘चर्को गर्मी त्यसमाथि विद्युत् नभएपछि छटपटिनु पर्ने अवस्था छ ।’ सामान्य हावाहुरी चल्दा पनि विद्युत् सेवा बन्द हुने स्थानीय शंकरप्रसाद चौधरी बताउँछन् ।


‘बाहिरको चर्को गर्मीमा काम गरेर एकछिन पंखामा बसौं भने बिजुली हुँदैन,’ उनले भने । चर्को गर्मी, त्यसैमा बिजुली नहुँदा पसलमा बस्नै नसकिने अवस्था रहेको दीप इलेक्ट्रोनिकका सञ्चालक हिक्मत मल्ल बताउँछन् । उनले चर्को गर्मीमा विद्युत कटौती हुँदा पानीसमेत खान नपाएको गुनासो गरे ।


होटल व्यवसायी पनि विद्युत् कटौतीको मारमा छन् । फ्रिज चालु गर्न नपाएर क्षणभरमै परिकारहरू बिग्रिने गरेको धनगढी ५, हसनपुरस्थित डेरी सञ्चालक सीताराम भट्ट बताउँछन् । उनले गर्मीले दूधजन्य खानेकुरा बिग्रिँदा दैनिक २० हजार घाटा बेर्होनुपरेको सुनाए । ‘पानी पर्दा हावाहुरीको कारण देखाउँदै विद्युत कटौती हुन्छ, तर अहिले विनाकारण भइरहेको कटौतीले डेरी व्यवसाय घाटामा गएको छ,’ उनले भने ।


अघोषित रूपमा भइरहेको विद्युत कटौतीले व्यवसाय धरापमा परेको उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउँछन् । विद्युत प्राधिकरण धनगढी शाखा प्रमुख धीरेन्द्र यादवले भने बिहीबार र शुक्रबार दिनमा ५/६ पटक बिजुली गए पनि त्यसयता नगएको बताए । उनले २ दिनको कटौतीमा पनि कर्मचारीको कुनै गल्ती नभएको बताए । ‘बिहीबार र शुक्रबार अत्तरियादेखि धनगढी आउने लाइनमा तार छुटेकाले समस्या भएको बताए । त्यही कारण अनियमित रूपमा विद्युत् जाने–आउने भएको हो,’ उनले भने ।


तर, अहिले सिस्टम परिवर्तन गर्दा २/३ पटक मात्र जाने गरेको उनले बताए । ‘सर्वसाधारणलाई विद्युत आपूर्तिका लागि अत्तरियामा नेपाल–भारतको पावर हुन्छ । ती दुवैको लोड सन्तुलनमा ल्याउँदा विद्युत् केहि समयका लागि जान्छ,’ यादवले भने, ‘यो समस्या दीर्घकालीन हो । त्यसैले सिस्टम परिवर्तन गर्ने बेलाबाहेक अन्य समयमा विद्युत कटौती भन्नु गलत हो ।’


उनले विद्युतको सिस्टम परिवर्तन गर्दा सहजै भए १५ मिनेटदेखि आधा घण्टा समय लाग्ने गरेको र सिस्टमै गए डेढ घण्टा समय लाग्ने गरेको बताए । कार्यालयका कर्मचारीले कटौती नगरेको दाबी गर्दै उनले भने, ‘हामी जनतालाई सेवा दिन बसेका छौं । त्यसैले कर्मचारीकै कारण कटौती भएको छैन ।’

प्रकाशित : श्रावण ७, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?