१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अझै फर्किन सकेनन् दमाई परिवार

प्रजिअ आनन्द पौडेल भन्छन्, ‘सुरक्षाको व्यवस्था गर्छु भनेकै छु, सबैबाट सहयोगको प्रतिबद्धता आएको छ, उनलाई घर फर्किन कुनै समस्या छैन’
तृप्ति शाही

बैतडी — डिलासैनी गाउँपालिका ३, पन्सेरा गाउँमा ६० परिवार ओड समुदायको बसोबास छ । एउटा मात्र परिवार दमाईंको छ । दमाईं र ओड दुवै दलित समुदायमा पर्छन् । तर, ओड उपल्लो र दमाईं तल्लो । दमाईंका हातको पानी ओडलाई चल्दैन पन्सेरामा ।

अझै फर्किन सकेनन् दमाई परिवार

त्यही पन्सेरा गाउँमा बसोबास भएका नरेश दमाईंले ९ वर्षअघि भागीरथी ओडसँग प्रेम विवाह गरे । तल्लो जातले छोरी विवाह गरेको भन्दै ओड परिवारले सहेनन् । एक्लो परिवार भएकाले नरेशको केही चलेन । उनी गाउँ निकाला भए । अझै घर फर्किन सकेका छैनन् उनको परिवार ।


‘आफुभन्दा उपल्लो जातको छोरीसँग बिहे गरेको भन्दै ओड समुदाय (पत्नीका माइतीतिर) का आफन्तहरूले पटकपटक कुटपिट गरेपछि गाउँमा बस्ने वातावरण भएन,’ नरेशले भने, ‘आफ्नै ससुराका परिवार भारत बस्ने भएकाले उनीहरूले केही भनेनन् । तर अन्य छिमेकीहरूले दिनुसम्म पीडा दिए । अनेक बहाना बनाएर लखेटे ।’


०६७ सालमा विवाह गरेका उनी २ महिनासम्म घर छोड्न बाध्य भए । बीचमा घर फर्केको भए पनि ०६९ मा फेरि पहिलाकै जस्तो व्यवहार भएको दुखेसो उनले सुनाए । ‘यतिबेला पनि घर छाडेको २ महिना भयो,’ नरेशले भने, ‘मेरो घरपरिवारलाई ओड समुदायले विभिन्न बहना बनाएर कुटपटि गर्न थालेपछि घर छाड्नुको विकल्प भएन ।’


गत वैशाखदेखि आमा, ३ छोराछोरी, पत्नी र बहिनीलाई ल्याएर नरेश परिवार सदरमकुाम शाहीलेकमा बस्दै आएका छन् । सदरमुकाममा सुरक्षित महसुस गरेको भए पनि गुजारा चलाउन सकस भएको उनी बताउँछन् । ‘आयआर्जन गर्ने कुनै स्रोत नभएकाले समस्या भएको छ,’ उनले भने, ‘विभिन्न निकायमा आफ्नै घरमा फर्कने वातावरण मिलाइदिन अनुरोध गरिरहेको छु ।’


त्यसबीचमा श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्दा डडेलधुरा गएर उपचार गराएको उनले बताए । उनले भने, ‘बहिनीमाथि पनि दुर्व्यवहारको प्रयत्न भयो । आमा र श्रीमतीसँग भएको ८ आनाको तिलहरी र १० हजार नगरसमेत लुटेर लिए ।’


आफुले कुटपिट र लुटपिटको मुद्दा दायर गरेको नरेशले बताए । उनले आफूलाई दुःख दिएका छिमेकीहरूले उल्टै आफ्नो नाममा झुटा मुद्दा लगाएर दुःख दिएको आरोप लगाएका छन् । मन्दिरमा पूजा गर्न घर गएको आफूलाई एकजना छिमेकीलाई कुटेको र लुटेको आरोप लगाइएको उनको दाबी छ । कुटपिट र झुटा मुद्दाको डरले घर फर्कन नसकेको उनी बताउँछन् ।


वडा सदस्यसमेत रहेका ओड समुदायका अगुवा नन्दराम ओड भने आफूहरूले नरेश परिवारमाथि कुनै जातीय विभेद नगरेको दाबी गर्छन् । उनले भने, ‘हामीमाथि लगाएको आरोप झुटो हो । हामीले केही गरेका छैनौं । अहिलेको जमानामा जातीय विभेद गर्ने कुरै भएन ।’ सुरक्षाको महसुस नभएकाले घर फर्कंन नसकेको बताउँदै आएका नरेश परिवारलाई जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललगायतले गत जेठमै सुरक्षा दिने प्रतिबद्धता गरेका थिए । तर हालसम्म कुनै ठोस पहल नभएकाले घर फर्किन नसकेको नरेशको भनाइ छ ।


‘सुरक्षाको व्यवस्था गर्छु भनेकै छु । सबै सरोकारवालासँग छलफल भएकै छ । सबैबाट सहयोगको प्रतिबद्धता आएकाले उनलाई घर फर्किन कुनै समस्या छैन,’ प्रजिअ पौडेलले भने, ‘अझै कुनै सुरक्षा जोखिम हुने भए हामी हेर्छौं भनेको छु ।’

प्रकाशित : श्रावण ७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?