कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यार्चा टिप्न ज्यानकै जोखिम

मनोज बडू

दार्चुला — यहाँका बासिन्दाको आम्दानीको मुख्यस्रोत मानिएको यार्चा संकलन निकै जोखिमपूर्ण मानिन्छ । उच्च लेकाली भेकका बासिन्दाका लागि ज्यान जोखिममै पारेर भए पनि आय–आर्जनका लागि अन्य विकल्प छैन । यार्चा टिप्न उच्च हिमाली क्षेत्र पुगेका कतिपय संकलकले बर्सेनि ज्यान गुमाउने गरेका छन् ।

यार्चा टिप्न ज्यानकै जोखिम

यार्चा संकलनको सिजनमा घर खर्च जुटाउन विद्यार्थीहरू पढाइ छोडेर र अन्य सर्वसाधारण घरको सम्पूर्ण काम थाती राखेर लेकाली क्षेत्रका पाटनतिर जाने गरेका छन् । धेरै कठिनाइ झेल्दै यार्चा संकलनबाट हुने आम्दानीले अधिकांशले केही नयाँ गर्ने सोच बोकेका हुन्छन् । तर, केहीका लागि यो सोंच फर्केर आउँदैन । यो वर्ष मात्र यार्चा टिप्न लेक गएकामध्ये ५ जनाले ज्यान गुमाउनुपरेको छ । १२ जना घाइते भएका छन् ।

यार्चाका कारण यसअघि पनि धेरै मानिसको ज्यान गइसकेको छ । केही संकलनका क्रममा र केहीको यार्चा लुटपाटका घटनामा हत्या गरिएको छ । यो वर्ष चोरी वा लुटपाट गर्न हत्या नभए पनि यसअघिका वर्षमा यार्चा व्यापारी तथा ओसारपसार गर्ने मानिसको हत्या भएको प्रहरीको भनाइ छ ।

गत वर्ष गुल्जरको घोल्जर, त्यसअघि खण्डेश्वरी, पाटनमै यार्चाकै कारण झगडा हुँदा केही सर्वसाधारणको मृत्यु भएको डीएसपी दीपेन्द्र शाहीले बताए । गाउँघरमा पनि यार्चाकै कारण विभिन्न समयमा झगडा हुने र त्यसपछि हत्यासम्मका घटना हुने गरेको उनले बताए ।

‘भीर र पाखो भएको ठाउँमा यार्चा बढी पाइन्छ,’ डीएसपी शाहीले भने, ‘केही यार्चा पाउने लोभले अफ्ठ्यारो क्षेत्रमा जान्छन् । त्यही भिरालो क्षेत्रबाट चिप्लेपछि ज्यान जान्छ भन्ने ध्यान पुग्दैन ।’ संकलनका क्रममा यो वर्ष ज्यान गुमाउने र घाइते भएका अधिकांश भीरबाट लडेको जिल्ला प्रहरीले जनाएको छ । बालबालिकाहरूले यार्चा चाँडो देख्न सक्ने भएकाले अभिभावकहरू घरमा ताला लगाएर लेक उक्लेका हुन्छन् । बालबालिकालाइ आफूसंँगै लेकतिर लैजाँदा बढीजसो भीरबाट लडेर र लेक लागेर ज्यान गुमाउनुपरेको शाहीको भनाइ छ ।

यार्चा एक व्यक्तिले थोरैमा डेढ/दुई सयको हाराहारीका टिप्छन् । संकलन हुने ठाउँ पाटनमै बिक्री हुन्छ । बिक्रीका लागि बजार धाउनु पर्दैन । एक परिवारले एक सिजनमा ५० हजारदेखि ५/७ लाखसम्म कमाइ गर्ने हुँदा ज्यान जोखिममा राखेर भए पनि संकलन गरिरहेका देखिन्छन् ।

केही स्थानीयले यार्चा सिजन सुरु हुनुअगावै व्यापारीसँंग आफूले संकलन गरेको यार्चा दिने सर्तमा ऋण लिएका हुन्छन् । ‘ऋण तिर्नकै लागि भए पनि जोखिम मोलेर संकलन गर्दा भिरालो ठाउँबाट लडेर मृत्यु हुने गरेको अध्ययनबाट देखिएको छ,’ अपीनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष चक्रसिंह ह्यांकी भन्छन् ।

कतिपय ठाउँमा त हिउँ पन्छाउँदै टिप्नुपर्ने स्थानीय यार्चा संकलक लालसिंह धामी बताउँछन् । उनी भन्छन्, ‘बादल लाग्नेबित्तिकै हिउँ पर्न थाल्छ । यार्चा खोज्दा तछाड–मछाड हुने भएकाले सबैले स्वास्थ्यप्रति ध्यानै दिँदैनन् ।’ पूर्वतयारी र सावधानीबिनै पाटन जाने भएकाले उनीहरू बिरामी पर्ने र कतिपयले त ज्यानै पनि गुमाउने गरेका छन् । यार्चा समुद्री सतहबाट ३ हजार ६५० मिटरको उचाइमा पाइन्छ । ‘पाटनमा जति माथि गयो त्यति नै अक्सिजन कम हुँदै जान्छ । अक्सिजनको कमीले सास फेर्न कठिन हुने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखा पर्छन्,’ धामीले भने ।

यार्चा टिप्न जानेले लेक लाग्नबाट जोगिन घरेलु औषधिका रूपमा खुर्सानी, टिमुर, मह, चिनी र लसुन लिएर गएका हुन्छन् । दम बढ्न थालेपछि त्यही लसुन औषधिका रूपमा खान्छन् । योबाहेक उनीहरूसँग अरू औषधि हुँदैन । बिरामी भइहाले स्वास्थ्य संस्थासम्म पुग्न ३/४ दिन लाग्ने हुँदा लेक लागेर ज्यान जाने गरेको यार्चा संकलक धामीले बताए ।

सिजनमा पूरै बस्ती नै सुनसान हुने गरी संकलन गर्न मानिस लेकतिर जान्छन् । कतिपय विद्यालय केही महिना पूरै बन्द नै हुने गर्छन् । मुख्य संकलन समय जेठ पहिलो सातादेखि असारको दोस्रो सातासम्म यार्चा पाइने जिल्लाका हिमाली पाटन क्षेत्रमा मानिसको लर्को लाग्ने गर्छ । संकलनका समयमा सयौंका संख्यामा मानिस ती क्षेत्रमा पुग्दा विभिन्न वातावरणीय समस्या देखा पर्न थालेका छन् । यार्चा संकलन पनि कम हुँदै गएको सरोकारवालाको भनाइ छ ।

प्रकाशित : श्रावण ११, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?