१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अछाममा उच्च सुरक्षा सतर्कता

मेनुका ढुंगाना

(अछाम) — अछामको दुर्गम भेगका स्थानीय तहमा केही समययता नेत्रविक्रम चन्द नेतृत्वको समूहका गतिविधि बढ्न थालेपछि सुरक्षा सतर्कता बढाउन थालिएको छ । उनीहरूका गतिविधि देखिएको भनिएका दुर्गम गाउँ बस्तीमा प्रहरीको गस्ती जनशक्ति थपेर पठाउन थालिएको छ ।

जिल्लाका कुनै पनि स्थानमा अवाञ्छित घटना हुन नदिन जिल्ला सुरक्षा समितिले सुरक्षा योजना तयार पारेको छ । जनशक्ति अपुग भएमा माथिल्लो कार्यालयमा तत्काल जानकारी गराएर थप मद्दत माग गर्ने समेत समितिले निर्णय गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए । ‘स्थानीय तहमा चन्द समूहका कार्यकर्ताले चन्दा माग्ने र स्थानीय तहले नदिने गरेपछि उनीहरूका गतिविधि बढेको देखिन्छ,’ उनले भने, ‘जुनसुकै बेला पनि घटना हुन सक्ने भएकाले तयारी अवस्थामा रहन टिम छनोट भएको छ ।’


अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार ढकारी, तुर्माखाँद र रामारोशन गाउँपालिकाका दुर्गम वडाहरूमा चन्दका कार्यकर्ताको गतिविधि बढेको खबर आएपछि सुरक्षा तैनाथी बढाइएको छ । कालिकोट, डोटी र सुर्खेतसँग सिमाना जोडिएका वडामा चन्द समूहका कार्यकर्ताले आफ्ना गतिविधि बढाएका छन् । ‘स्थानीय जनप्रतिनिधि र पार्टी प्रतिनिधिसँग चन्द समूहका क्रियाकलाप निस्तेज पार्न समन्वय गरिरहेका छौं । गाउँ र नगरपालिकाका कार्यालयमा चौकीदार राख्न सुरक्षा समितिको बैठकमा निर्णय गरेर पत्रसमेत पठाएका छौं,’ डीएसपी शाहीले भने, ‘भूमिगत समूहमा आबद्ध व्यक्तिको परिवारसँग भेटघाट गरिरहेका छौं ।’ उनका अनुसार अछाम–डोटी, अछाम–दैलेख, अछाम–बाजुरालयागत जिल्लामा अन्तर जिल्ला गस्ती गर्न थालिएको छ । विकासे अडडालाई केन्द्रित गरेर चन्द समूहले गतिविधि सञ्चालन गरेको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । ‘आफ्नो सुरक्षामा आफैं ख्याल गरेनन् भने जनप्रतिनिधिलाई पनि अप्ठ्यारो पर्न सक्छ,’ उनले भने, ‘जिल्लामा जनप्रतिनिधिले प्राथमिक सुरक्षाका उपाय अपनाउन जरुरी छ ।’


विस्फोट र आगजनीका घटना बढाएका चन्द समूहका कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउन सक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । प्रहरीका अनुसार चन्द समूहका १ सय १५ जनाले पार्टी परित्याग गरेको घोषणा गरे पनि विश्वस्त भएर बस्ने अवस्था छैन । शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन प्रदेशका ९ वटै जिल्लामा संख्या थपेर प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी तारिणीप्रसाद लम्सालले बताए । ‘सुरक्षा निकायको परस्पर सम्बन्ध छ । सूचना आदानप्रदान हुन्छन् । अहिले जनताले पनि सहयोग गरेका छन्,’ उनले भने, ‘चन्द समूहका गतिविधि निस्तेज पार्नका लागि सबै जिल्लाका गाउँपालिका र नगरपालिकाका केन्द्रदेखि गाउँसम्म गस्ती पठाउने गरेका छौं ।’


चन्द समूह निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य बन्धु चन्दलाई पक्राउ गरेर प्रहरी गत फागुन दोस्रो साता मुद्दा चलाएको थियो । त्यसयता उक्त समूहका गतिविधि बढेका हुन् । समूहले तत्कालीन जिल्ला सचिव मीना धामीसहित १९ सदस्यीय जिल्ला कार्य समिति गठनको घोषणा गरेको थियो । समूहले गाउँ जनसरकार प्रमुख नवराज विक रहने गरी १३ सदस्यीय कमिटी गठन गर्दै जिल्लाभर गाउँ जनसरकार, गाउँ परिषद्, जनपरिषद् गठनजस्ता नाम दिएर कार्यकर्ता विस्तार गरेको पनि जनाएको थियो ।

प्रकाशित : श्रावण १९, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?