१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वर्षाले यात्रामा जोखिम

तृप्ति शाही

(बैतडी) — हिउँदमा धुलाम्य हुँदा पनि गाडी चल्थे । ग्रामीण भेगका बासिन्दालाई आउजाउमा धूलोले त्यति धेरै सकस अनुभव थिएन । वर्षा सुरु भएसँगै सडकमा न गाडी चल्छन्, न त पैदल छिचोल्न सकिने अवस्था छ । विभिन्न स्थानमा पहिरो खसेर पैदल हिंड्न पनि जोखिम भएका छन् । 

वर्षाले यात्रामा जोखिम

केही सडकमा डोजर र कामदार प्रयोग गरेर अवरोध पन्छाउँदै जिप र ट्र्याक्टर गुड्ने गरेका छन् । कतिपय ठाउँमा निरन्तर पहिरो जाने भएकाले आवतजावत गर्न जोखिम बढेको छ । लामो दूरीमा सवारी सञ्चालन हुने बैतडीका ग्रामीण क्षेत्रका मुख्य ९ वटा सडक छन् । वर्षाले बिगारेकाले अधिकांशको अवस्था यतिबेला जोखिमपूर्ण छन् । त्रिपुरा–सेरा, देहिमाडौं–गिरेगडा, सतबाज–बरायल र पाटन–पञ्चेश्वर सडकमा वर्षायामको सुरुवातसँगै सडक हिलाम्मे हुन थालेको हो । यस्तै श्रीकोट–कटौजपानी, मेलौली–उग्रतारा, बित्थड–भटना विप्पेकटाल–ढुङगाड, दुदीलाखान–गाँजरी र सतबाँज–रौलेश्वर सडकमा पनि हिलोले सवारी आउजाउ सजिलो छैन ।


जिल्लामा विभिन्न स्थानमा निर्माण गरिएका अन्य कच्ची सडकहरूको अवस्था पनि नाजुक छ । ‘धेरै जोखिम मोलेर गाडी चलाएका छौं,’ देहिमाडौं–गिरेगडा सडकमा गाडी चलाउने शिव जोशीले भने, ‘पेशा यही हो, नगरेर अरू के गर्ने तर आजभोलि सडकमा पहिलेभन्दा बढी दुर्घटनाको डर छ ।’ निर्माणको लामो समय बिते पनि सडक मर्मत नहुँदा जोखिम बढेको उनले बताए । ‘धेरै ठाउँमा सडक माथिबाटै पहिरो खसिरहने भएकाले कतिबेला के हुन्छ डरै छ,’ उनले भने । कच्ची सडकहरूमा सवारीसाधन चलाउन सधैं अप्ठेरो भए पनि वर्षामा अझ कठिन हुने गरेको चालक कृष्ण चन्दले दु:खेसो पोखे । उनले भने, ‘गाडी सजिलै गुडेका होइनन् । गुजारा चलाउन दुस्साहस नै गरेका छौं ।’ सडक पिच गरिए दुर्घटनाको जोखिम कम हुने उनले बताए ।


वर्षायाममा कच्ची सडक अवरुद्ध भइरहँदा दु:ख पाइने गरेको स्थानीयको पनि गुनासो छ । धेरै रकम खर्च गरेर बनाइएका सडकलाई मर्मतका योजना ल्याइएका छैनन् । वर्षामा अवरुद्ध सडक हुने हुँदा घण्टौं पैदल हिंडेर बटुवा गन्तव्यतर्फ गइरहेका भेटिन्छन् । अत्यावश्यक भएका बेला पैदलै भए पनि हिंड्नै परेको दशरथचन्द–४ की कविता भट्टले बताइन् । ‘पहिरोले बाटाभरि जाम हुन्छ । छिटो होला भनेर गाडी चढे पनि घण्टौं ढिलो भइसक्छ,’ उनले भनिन्, ‘हिलो र पानीले गाडी फस्छन्, नहिंडेर सुख छैन ।’ हिलाम्मे सडकमा गाडीमा यात्रा गर्नु अत्यधिक जोखिम हुने उनले बताइन् ।


बिग्रिएका सडकले दुर्घटनाको जोखिम बढाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख आकाश रावलले बताए । ‘एकातिर बाटो डरमर्दो भइसके, अर्कातिर त्यस्ता बाटामा मनपरी भाडा असुलेका गुनासा आउने गरेका छन्,’ उनले भने, ‘हामीले चेकजाँचमा कडाइ गरे पनि गाडी नचलाउ भन्न मिल्दैन ।’

प्रकाशित : श्रावण १९, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?