१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वृद्धवृद्धा सडकमा, आश्रम प्रयोगविहीन

तृप्ति शाही

बैतडी — दशरथचन्द नगरपालिकाका गोठालापानी, शाहीलेखदेखि पाटन, खोड्पेसँगै अन्य नगर र गाउँपालिकाहरूका मुख्य ठाउँमा घरवारविहीन वृद्धवृद्धा भेटिन्छन् । गाउँघरतिर मागेर जीवन गुजार्दै गरेकाहरूको संख्या पनि बाक्लै देखिन्छ । अरूको काम गरी छाकबासको जोहो गर्ने बुढ्यौली उमेरका बेसहाराको संख्या पनि कम छैन । 

उनीहरूमध्ये धेरैजसो घरपरिवारसँग सम्बन्ध राम्रो नभएर सहाराविहीन बनेका हुन् । अरूको मजदुरी गरी जीवन निर्वाह गर्न बाध्य छन् । उनीहरूको गाँसबासको ठेगानै छैन । अर्कोतिर यस्तै बेसहाराका लागि ३ वर्षअघि निर्माण गरिएको वृद्धाश्रम भने प्रयोगविहीन छ । बैतडीभरी सदरमुकामको गढी बजारमा वृद्धाश्रमका लागि निर्मित एकमात्र भवन छ ।


महिला उत्थान केन्द्र नामक गैरसरकारी संस्थाले तत्कालीन जिल्ला विकास समिति, दशरथचन्द नगरपालिका, शान्तिका लागि विकास नामक संस्थाको सहकार्यमा ०७३ मा उक्त वृद्धाश्रम निर्माण गरेको हो । ‘त्यतिबेला जोडतोडले भवन बनायौं, तर उपयोग हुन सकेन,’ महिला उत्थान केन्द्रकी अध्यक्ष सरस्वती भट्टले भनिन्, ‘एकातिर बासस्थान नपाएर बेसहारा वृद्धवृद्धा भौंतारिरहेका हुन्छन्, अर्कोतिर १४ लाखको लागतमा बनाएको भवन बेकाम भएको छ ।’


उनले विभिन्न संघ–संस्थामा आबद्ध दिदीबहिनी मिलेर भवन निर्माण गरेको बताइन् । वृद्धाश्रम सञ्चालनको जिम्मेवारी लिने कोही नभएर उपयोगमा ल्याउन नसकेको उनको भनाइ छ । ‘कुनै निकायले जिम्मेवारी लिएर वृद्धाश्रम सञ्चालनमा ल्याउन सके वृद्धवृद्धालाई सहज हुने थियो,’ महिला शक्ति केन्द्रकी अध्यक्ष देवु ठगुन्नाले भनिन् । आफूहरूले व्यवस्थापन गर्न नसक्ने भएकाले अगाडिको काम गर्न नसकेको उनले बताइन् ।


सहाराविहीनका लागि बनाएको भवन अलपत्र पर्दा नराम्रो लागेको दशरथचन्द नगरपालिका ४ का भवानीसिंह ठगुन्नाले बताए । चारैतिर झारपातले घेरिन थालेको उक्त भवन अहिले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर १ बैतडीको पाइप थन्काउने स्थल बनेको छ । आफ्नो कार्यालयनजिकै भवन रहेकाले जिसससँग सल्लाह गरी केही महिनाका लागि पाइप राखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर १ का प्रमुख प्रकाश रावलले बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?