कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

काम नसकिँदै भासियो सडक

भवानी भट्ट

कञ्चनपुर — बहुचर्चित भारतको टनकपुर ब्यारेज जोडने ब्रह्मदेव लिंक रोड निर्माण पूरा नहुँदै भासिएको छ । असार अन्तिम साता कालोपत्रे गरिएको लिंक रोड भीमदत्त नगरपालिका ८ र १० को सीमानामा रहेको खन्या खोलाको पुल छेउमै भासिएको हो ।

खन्या खोला पुल छेउमा करिब ३ मिटर चौडा र ३० मिटर लामो क्षेत्रमा सडक भासिएको छ । स्थानीयका अनुसार गत साता वर्षाका बेला उक्त सडक भासिएको हो । ‘भर्खर सडक पिच भएको हो, तर अहिले नै चर्किन थाल्यो,’ तिलकेनीका करसिंह धामीले भने, ‘पुल छेउमा खोलाको बालुवा भरान भएको थियो, त्यहि बगेर गयो, सडक चर्कियो ।’


चुरेबाट बग्ने खन्या खोलाको एउटा भंगालो तिलकेनीतर्फ जान्छ । सोही खोलाको पुल छेउमा सडक भासिएको हो । खोला किनारमा बलियो खालको पर्खाल निर्माण नभएकै कारण भासिएको स्थानीय बताउँछन् । ‘सडक भासिएपछि पुलको छेउमा बनाइएको पर्खाल पनि चर्किन लागेको छ,’ स्थानीय रामसिंह धामीले भने, ‘कालोपत्रे भएको महिनादिनमै सडक पुरै चर्कियो ।’


उक्त सडकको निर्माण ९५ प्रतिशत पूरा भएको छ । भीमदत्त नगरपालिका १, भासीदेखि ब्रह्मदेवसम्मको १२ किमि सडक निर्माणका लागि २०७३ फागुन ९ मा लामा/राजेन्द्र जेभी निर्माण कम्पनीसंँग २३ करोड ६६ लाख ४३ हजारमा ठेक्का सम्झौता भएको थियो । ०७६ भदौ ५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने समयावधि छ ।


‘भासिएको ठाउँसंँगै सडकमा अन्त पनि बीचमा ग्याप भएकाले मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन गरिसकिएको छ, ‘सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर लक्ष्मण दत्त जोशीले भने, ‘सडकको निर्माण सकिएको छैन, काम जारी छ ।’ उनकाअनुसार सडकमा बायो इन्जिनियरिङ र दोस्रो तहको कालोपत्रे गर्ने कार्य बाँंकी छ । दोस्रो तहको कालोपत्रे यहि ठेक्काअन्तर्गत हुन्छ भने बायो इन्जिनियरिङका लागि छुट्टै ठेक्का गरिनेछ ।


लिंक रोडका साइड इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार पुलका दुवैतर्फ निर्माण भएको पर्खालहरू सानो भएकै कारण सडक भासिएको हो । पुल र सडक निर्माण गर्ने कम्पनी फरक–फरक भएकाले अहिले सडक निर्माण गर्ने कम्पनीलाई मर्मतका लागि निर्देशन दिइएको उनले बताए । पुल एमके नीरज र सडक लामा राजेन्द्र जेभी कम्पनीले निर्माण गरेको हो ।


महाकाली सन्धिअनुसार ब्रह्मदेव नजिक टनकपुर ब्यारेजदेखि भासीसम्म १३ दशमलव २ किमि सडक भारतले नै निर्माण गर्नुपर्ने हो । तर लामो समयसम्म भारतीय पक्षले चासो नदिएपछि नेपाली पक्षले आफैले सडक निर्माण गर्न लागेको हो । अहिले पनि टनकपुर ब्यारेजदेखि नेपाली सीमासम्मको १२ सय मिटर सडक निर्माणको काम भारतीय पक्षले सुरु गरेको छैन ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?