१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रोकिएन अतिक्रमण

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिकाले गत वर्ष सुरु गरेको खोलानाला अतिक्रमण क्षेत्र खाली गर्ने अभियान बीचमै तुहिएको छ । मनपरि अतिक्रमणकै कारण बर्खाको पानी निकास हुन नपाएर धनगढी क्षेत्रमा जताततै डुबान हुने गरेको छ ।

रोकिएन अतिक्रमण

‘जनप्रतितिनिधिहरू निर्वाचित भएर आएपछि सुरु गरिएको पहिलो कामै खोलानालामा गरिएको अतिक्रमण हटाउने अभियान हो,’ वडा १ का अध्यक्ष एवं धनगढी नगरका प्रवक्ता सन्तोष मुडभरीले भने, ‘विभिन्न कठिनाइले अभियानलाई गति दिन सकिएको छैन ।’ धनगढीमा खोलानाला अतिक्रमण गरी घरघरेडी बढाउने क्रम रोकिएको छैन ।


उनका अनुसार बनेका संरचना हटाउनभन्दा पहिला खोलानालाको क्षेत्र नाप्नुपर्ने भएकाले ढिलाइ भएको हो । ‘प्राविधिक टोलीले प्रतिवेदनै बुझाउन ढिलो गरेको छ,’ उनले भने, ‘प्राविधिक टोलीको प्रतिवेदनमा खोलानालाको कति क्षेत्र अतिक्रमणमा परेको नरपेको आउँछ । त्यसका आधारमा मात्रै एक्सनमा जान सकिन्छ ।’


उपमहानगरका इन्जिनियर कमल ओझाको संयोजककत्वमा कार्यदल गठन गरिएको छ । कार्यदल सदस्य कृष्ण शाहीले नगरपालिकाले खोलानाला अतिक्रमण क्षेत्र नाप्न प्राविधिक टोली गठन गरेको भए पनि त्यही काममा खटिएर काम गर्न नपठाएको बताए । ‘कार्यालयको कामसँगै बाँकी समय निकालेर खोलानाला अतिक्रमण क्षेत्र निकाल्न भन्यो,’ उनले भने, ‘त्यसरी वर्ष दिन होइन ५ वर्षमा पनि नगर क्षेत्रभित्रका खोलानाला नाप्ने काम सकिँदैन ।’


उनका अनुसार कार्यदलले कैलाली खोला मात्रै नापेर सकेको बताए । ‘उक्त खोलामा धेरैका घर र पर्खाल परेका छन्,’ उनले भने, ‘स्पेसल म्याडेन्ट दिएर टोलीलाई खोलानाला नाप्ने काम मात्रै दिइयो भने सम्पूर्ण अतिक्रमित क्षेत्र ६ महिनामा नाप्न सकिन्छ ।’ उनले साँझ–बिहान फुर्सदमा टोलीले काम गर्दा वर्ष दिनमा एउटा खोला नाप्न सकेको बताए ।


तर अहिले पनि कैलाली खोलाको त्रिनगर विद्यालयपछाडि देव तालिम केन्द्रमा माटो भरेर पुर्ने काम भइरहेको स्थानीयको आरोप छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बड भने ढिलो भए पनि अतिक्रममित क्षेत्र खाली गरेर छाडने बताउँछन् । नगर प्रमुखको आश्वासन र कार्यशैलीप्रति नगरवासी भने विश्वस्त छैनन् ।


स्थानीय पुष्पराज ओझाले अतिक्रमण गराउन उद्धत भएको नगरपालिकाले हटाउन नसक्ने बताए । ‘खोलानाला अतिक्रमण गरी बनेका घरहरूको नक्सापास नगरपालिका आफैंले गरेको छ,’ उनले भने, ‘कसरी हटाउन सक्छ ।’


नगरपालिकाकाले खोलामा बनेका घरको नक्सापास गर्‍यो । नगर विकास समितिले पैसा खाएएर खोलानाला, तालतलैया व्यक्तिका नाममा पास गरेको स्थानीय विष्णु भट्ट बताउँछन् । उनले खोलानाला मासिएपछि पानीको निकास नभएर धनगढी बजार क्षेत्र डुबानमा पर्ने गरेको बताए । ‘नगर क्षेत्र भित्रका साना–ठूला गरी दर्जन बढी खोला थिए,’ धनगढी उत्तर बेहडीका ७० वर्षीय रामबहादुर शाहीले भने, ‘२/४ खोला नालामा प्ररिणत भई अस्तित्वमा मात्र छन् ।’


उनका अनुसार साना खोल्सा सबै पुरिसकेका छन् । ठूला भनिएको कैलाली खोलाको क्षेत्रसमेत अतिक्रमिणत भई ठुल्ठूला घर बनेका छन् । त्यस्तै धनगढी ४ का सुरेन्द्र विष्टले घुस्याहा कर्मचारीतन्त्र र भ्रष्ट नेताको सहयोगमा खोलानाला मासिएको बताए ।


‘जहिलेदेखि नगर विकासमा राजनीतिक नियुक्ति भएर अध्यक्ष बन्न थाले,’ उनले भने, ‘उहिलेदेखि खोलाको जमिन पनि आफन्तलाई र पैसा खाएर बाँड्न थालेका हुन् ।’ उनले नगरपालिकाका कर्मचारीहरूले मापदण्डविपरीत रकम असुलेर घरको नक्सापास गरेको आरोप पनि लगाए ।


‘एकातिर खोलानाला मासिँदै गएका छन्, अर्कोतिर नगरमा व्यवस्थित ढल निकासको व्यवस्था भएन,’ राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष हरि रेग्मीले भने, ‘त्यसैले धनगढी डुबानको समस्यामा पर्दै आएको हो ।’ उनले मापदण्डविपरीत घर निर्माण र खोला नालामा हुने अतिक्रमण रोकिनुपर्ने बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?