१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छाडा चौपायाले किसान हैरान

गणेश चौधरी

टीकापुर — छाडा चौपायाका कारण यहाँका किसानले सास्ती खेप्नुपरेको छ । छाडा चौपायाले धानबाली सखाप पार्न थालेपछि जोगाउनै मुस्किल भएको उनीहरू बताउँछन् । 

छाडा चौपायाले हैरान पार्न थालेपछि किसानहरू खेती गर्ने कि नगर्ने दोधारमा रहेको टीकापुर नगरपालिका १ का चम्मन चौधरी बताउँछन् । ‘मिहिनेत र लगानी खेर जान थाल्यो । बगालका बगाल चौपाया आउँछन् । कति धपाउने । खेती गर्ने कि नगर्ने भइसक्यो,’ उनले भने । रानी जमरा कुलरिया सिँचाइ कुलोले यस क्षेत्रमा पानीको सुविधा भए पनि छाडा चौपायाका कारण खेती विस्तार गर्न गाह्रो भएको उनको भनाइ छ ।


‘स्थानीय तह चुनावको मुख्य एजेन्डा छाडा चौपाया व्यवस्थापन थियो । तर स्थानीय तहमा सरकार सञ्चालन भएको पनि २ वर्ष बिते पनि व्यवस्थापन भने भएन,’ चम्मनले भने, ‘कि चौपाया नियन्त्रण हुन पर्‍यो, कि किसानलाई सरकारले क्षतिपूर्ति दिनुपर्‍यो ।’ ५ कठ्ठामा हिउँदे मकै लागाए पनि एक घोगा पनि भित्र्याउन नपाएको उनले सुनाए । उनले भने, ‘अहिले धान रोपेका छौं । त्यो पनि भित्र्याउन पाइने हो कि होइन केही ठेगान छैन ।’


टीकापुर नगरपालिकाले ६ सयभन्दा बढी गाईगोरु भुराखानी सामुदायिक वनमा करिब ३ बिघामा तारबार घेरेर राखेको थियो । थुनिएका चौपायालाई आहारा दिन नसक्ने भएपछि ट्रकमा राखेर पहाडी जिल्ला पनि पठाइयो । तर नगरपालिकामा छाडा चौपायाको संख्या घटेन । टीकापुर नगरपालिकाका प्रवक्ता वडाध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘धेरै छाडा चौपाया पहाडी जिल्ला पनि पठायौं । तर थपिएर फेरि उत्तिकै भइहाल्छन् ।’


ठकुल्लाले तारबार गरी गाईगोरु थुन्न नगरपालिकाले लगानी गरेको बताए । पाल्न समस्या भएपछि पहाडी जिल्ला पठाउन नगरपालिकाबाट ढुवानी खर्च पनि उपलब्ध गराइए पनि समस्या नटरेको उनले बताए । टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रणमा सघाउ पुग्ने भन्दै पशु बिमा कार्यक्रम पनि लागू गर्‍यो । छाडा गाईगोरु पहाडी जिल्ला पनि पठायो । काँडेतार लगाएर पनि राख्यो । तर तर छाडा पशु नियन्त्रण हुन सकेको छैन ।


बाली जोगाउन कतिपय किसानले आफ्नो खेतबारीमा तारबार लगाए पनि सबैले त्यो गर्न सक्दैनन् । जानकी गाउँपालिका ६ का किसान भोजबहादुर चौधरीले भने, ‘गाईगोरु व्यवस्थापन गर्न नसक्ने सरकारले कि अनुदानमा तारबार गर्ने व्यवस्था गरिदिनुपर्‍यो कि बाली खाएअनुसारको क्षतिपूर्ति दिनुपर्छ । होइन भने बाली लाउने छाडा गाईगोरुका लागि मात्र होला जस्तो छ ।’


छाडा चौपाया व्यवस्थापनका लागि भनेर स्थानीय तहले बर्सेनि बजेट पनि विनियोजन गर्ने गरेका छन् । तर व्यवस्थापनको स्पष्ट खाका उनीहरूसँग नभएकाले रकम त्यसै खेर गइरहेको किसानहरू बताउँछन् । छाडा चौपायाले राजमार्ग तथा बजारमा सवारीसाधन आउजाउमा समेत अवरोध पुर्‍याउँदै आएका छन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?