दर्जन बढी गाउँमा सम्पर्कविच्छेद

कान्तिपुर संवाददाता

बझाङ — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले एनसेलको टावरमा आगजनी गरेयता बझाङका दर्जनपछि गाउँहरू सञ्चार सम्पर्कविहीन भएका छन् । सञ्चार सञ्जाल विच्छेद भएपछि यहाँका बासिन्दाहरूको दैनिकी असहज बनेको छ । 

गत बुधबार जिल्लाका ३ वटा एनसेल टावरमा चन्द समूहका कार्यकर्ताले आगजनी गरेका थिए । मष्टा गाउँपालिकाको रिलु, बित्थडचीर गाउँपालिकाको धारी र थलारा गाउँपालिकाको चित्रुमा रहेको एनसेल टावरमा आगजनी गरेपछि संचार सम्पर्क विच्छेद भएको हो ।


तल्कोट, मष्टा, बित्थडचीर, थलारा, छविस पाथीभेरा गाउँपालिका, बुंगल नगरपालिकाका धेरै गाउँमा मोबाइल सेवा ठप्प छ । टेलिफोन सेवा अवरुद्ध भएपछि सामान्य खबर पुर्‍याउन पनि घण्टौं पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको र गाउँ बाहिर रहेका आफन्तको अवस्था पनि यहाँका बासिन्दाहरू बेखबर रहेको स्थानीयले बताए ।


‘कि त हिँडेरै खबर पुर्‍याउन जानुपर्छ । कि त ४/५ घण्टा हिँडेर डाँडामा गएपछि मात्र नेटवर्क टिप्छ,’ तल्कोटका स्थानीय मानबहादुर कठायतले भने, ‘सञ्चारविहीन हुँदा साह्रै समस्या भएको छ ।’ उनले कोही बिरामी भयो, कसैलाई आपतविपत पर्‍यो भने पनि खबर गर्नका लागि मान्छे दौडाउनुपरेको बताए ।


‘घरमै बसेर देश विदेशको खबर पाइरहेका थियौं,’ मष्टा गाउँपालिकाका राजेश खडकाले भने, ‘हप्ता दिनदेखि अन्धकारमा बसे जस्तै भएको छ । टेलिफोन नहुँदा निकै दुःख पाइएको छ,’ यस्तै गाउँपालिका नै सञ्चार सम्पर्कबाट विच्छेद भएपछि दैनिक प्रशासनिक कामकाज गर्न पनि आफूहरूलाई समस्या भइरहेको तल्कोट गाउँपालिका ४ का वडा अध्यक्ष मनबहादुर घर्तीले बताए ।


‘कार्यालयको काम पनि प्रभावित भएको छ,’ उनले भने, ‘बैठक बोलाउनुपर्‍यो वा कुनै विषयमा जानकारी लिनुदिनुपर्‍यो भने फोनबाट गर्ने गरेका थियौं । मोबाइल सेवा नभएपछि एकै छिनमा हुने काम पनि समय लाग्ने गरेको छ ।’


एनसेलको टावरले कभरेज गरेको क्षेत्रमा नेपाल टेलिकमको मोबाइलले काम गर्दैन । कतिपय गाउँमा नेपाल टेलिकमको टावरले काम गर्ने भए पनि लगातार बादल लागेको कारणले सौर्य ऊर्जा चार्ज नभएर काम नगरेको टेलिकम बझाङ शाखाले जनाएको छ । क्षतिग्रस्त एनसेलका टावर पुनः सञ्चालनमा आउने विषयमा एनसेलको धनगढीस्थित कार्यालय र केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले आफूहरूलाई जानकारी नभएको बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?