कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बस्तीमा पहिरो, १३ परिवार विस्थापित

दार्चुला र बाजुरा — अविरल वर्षाले महाकाली नगरपालिका २, बडाली गाउँमा बस्तीमुनिबाट पहिरो खस्दा १३ परिवार विस्थापित भएका छन् । मुनिबाट सोमबारदेखि पहिरो जान सुरु भएको माथिबाट जमिन सरिरहँदा स्थानीयले घर छाडेका हुन् ।

बडाली गाउँका मानसिंह बडाल, मोहनसिंह बडाल र गौरसिंह बडालको घर तलबाट पहिरो खस्दा उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रवीन्द्र कठायतले जनाए । सोही ठाउँका वीरसिंह बडाल, चन्द्रसिंह बडाल, खडकसिंह बडाल र उदयसिंह बडालको घर पनि जोखिममा रहेको भन्दै छिमेकमा आश्रय लिई बसिरहेका छन् ।


बढी पानी परे पहिरो खस्ने सम्भावना बढ्ने भन्दै बडालीका ७ परिवार अर्कैको घरमा बस्न गएका छन् । प्रहरीका अनुसार महाकाली नगरपालिका २, बुढीचौराका वीरादत्त बडुको खेत पहिरोले बगाएको छ । विभिन्न स्थानमा बाढी–पहिरोले जमिन बगाएको छ । केही बस्तीमा जोखिम बढेको छ ।


त्यस्तै महाकाली नगरपालिका १, मलेराका लालसिंह कार्कीको घरअघि पहिरो आएको छ । उनीहरू पनि छिमेकमा बसाइ सरेका छन् । लास्कु खोलाले घर कटान गर्न थालेपछि देवकी धामी पनि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेम खडकाले बताए । उनका अनुसार अपीहिमाल गाउँपालिका १, अर्कालेकका हरसिंह धामीको कच्ची घरमा पहिरोले क्षति पुर्‍याएको छ । संँगै रहेको अर्को घर पहिरोको उच्च जोखिममा परेपछि उनको परिवार आफन्तकोमा सरेका छन् ।


जिल्ला प्रहरीका अनुसार मानवीय बस्तीभन्दा तल पहिरो खसेको र अझै नरोकिएकाले बडाली गाउँका १३ घरधुरी उच्च जोखिममा छन् । पहिरोको जोखिममा परेका १३ घरबाट सामानहरू अन्तै सारेको छ । वर्षा आउने क्रम नरोकिएको र जुनसुकै बेला पहिरो खस्ने सम्भावना बढेकाले सर्वसाधारण पनि त्रसित छन् ।


पहिरोले घरहरू जोखिममा परेको खबर प्राप्त भएपछि सेनासँगै सशस्त्र प्रहरीका डीएसपी डम्बरबहादुर विष्टको नेतृत्वको २५ जनाको टोली र दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतको टोली उद्धारका लागि खटिएको थियो ।


वर्षा भए रातभर जाग्राम

जथाभावी डोजर चलाएर बनाइएका ग्रामीण सडकका कारण बाजुराका अधिकांश दलित बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । वर्षा सुरु हुनेबित्तिकै पहिरो आउने डरले जोखिम बस्तीका बासिन्दाले बालबच्चा काखमा च्यापेर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।


बुढीनन्दा नगरपालिका ७, सेरकाटियाँको दलितबस्ती पनि पहिरोको जोखिममा परेको स्थानीय लालबहादुर विक बताउँछन् । ‘माथि बस्ती छ, तलबाट डोजर चलाएर सडक काटिएको छ,’ उनले भने । ठूलो वर्षा भएका दिन गाउँलेहरू रातभर जाग्राम बस्ने गरेको स्थानीय जयबहादुर विक बताउँछन् । मार्तडी–कोल्टी सडकमा ४५ परिवारको बसोबास छ ।


बुढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीले १ देखि १० वटै वडामा रहेका प्रत्येक बस्तीमा सडक सञ्जालमा जोडिएसँगै पहिरोको जोखिममा परेको बताए । सोही नगरपालिकाको पीपलडालीमा रहेका हलिया दलित बस्ती पनि दशकौंदेखि पहिरोको उच्च जोखिममा छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले हलिया बस्तीमै आएर स्थलगत अनुगमन गरेका थिए ।


त्यतिबेला उनले बस्ती स्थानान्तरण गर्ने र राहत उपलब्ध गराउन आश्वासन दिए पनि सरकारबाट अहिलेसम्म कुनै राहत नपाएको स्थानीयको गुनासो छ । गत साता गौमुल गाउँपालिका ६, टाडाकोटमा पहिरोमा परि एक दलित परिवारकै आमाछोरीले ज्यान गुमाएका छन् । १८ परिवारको बसोबास रहेको टाडाकोटको पुरै बस्ती अहिले पनि पहिरोको जोखिममा छ । अत्यधिक जोखिम भए पनि सुरक्षित ठाउँमा बसाइ सर्न आफूहरूको वैकल्पिक जमिन नभएको स्थानीय सिरे चदाँरा बताउँछन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?