कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप

 ४ वर्षअघि नै ५१ शय्यामा स्तरोन्नति गरिए पनि जनशक्ति अभावले बिरामीले सहज उपचार पाउन सकेनन्
गणेश चौधरी

टीकापुर — टीकापुर अस्पतालमा बिरामीको चाप बढेको छ । गर्मी बढेसँंगै बिरामीको चाप बढेको अस्पतालले जनाएको हो । अस्पतालमा बिरामी पुर्जाका लागि एउटा मात्र टिकट काउन्टर हुँदा बिरामीले नाम दर्तामै सास्ती भोग्नुपरेको छ ।

गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप

नाम दर्ताका लागि ३ घण्टासम्म लाइन बस्नुपर्ने बाध्यता छ । पुर्जा लिन लाइनमा बसेका विजय रावलले भने, ‘डाक्टर भेट्नु त कता–कता टिकट काट्नै नसकिने अवस्था छ ।’ दैनिक ५ सय सम्म सेवाग्राही आउने र एउटै काउन्टरबाट बिरामी पुर्जा दिन निकै ढिला हुने गरेको छ । कर्मचारी अभावमा एउटै ठाउँबाट टिकट दिने गरिएको अस्पतालको भनाइ छ ।


दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राहीले सेवा पाउन पनि सकेका छैनन् । ४ वर्षअघि नै ५१ शय्यामा स्तरोन्नति गरिए पनि जनशक्ति अभावले सेवाग्राहीले सेवा पाउन सकेका छैनन् । ६ विशेषज्ञसहित १४ डाक्टरको दरबन्दी भए पनि उपलब्ध छैनन् । दरबन्दीअनुसार बालरोग, स्त्रीरोग, हाडजोर्नी, साइकियाट्रिक, फिजिसियनलगायत विशेषज्ञ डाक्टरको व्यवस्थाका लागि पटक–पटक मन्त्रालयमा अनुरोध गरे पनि व्यवस्था नगरिएको अस्पताल प्रशासनले जनाएको छ ।


शय्या थप भए पनि विशेषज्ञ डाक्टर अभावका कारण यहाँका बिरामी नेपालगन्ज तथा भारतका विभिन्न सहरमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले बताए । ‘अस्पतालमा प्रसूति, ओपिडी, आकस्मिक सेवा र वार्ड तथा शल्यक्रियाका लागि छुट्टाछुट्टै भवन बनेको छ,’ डा. खनालले भने, ‘दरबन्दीअनुसार डाक्टर भए धेरै सेवा दिन सकिन्छ ।’


प्रशस्त पूर्वाधार हुँदाहुँदै पनि विशेषज्ञ डाक्टर अभावमा रेफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । दैनिक सयौं बिरामी उपचारका लागि आउने यो अस्पतालमा जनशक्ति अभावमा अप्ठ्यारो भइरहेको डा. खनालले बताए ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?