कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मदिरा पिउन सरकारी गाडी

कान्तिपुर संवाददाता

टीकापुर — जनतालाई छिटो छरितो सेवा सुविधा दिन कार्यालयमा सवारी साधनको व्यवस्था गर्ने गरिन्छ । तर कैलालीको जानकी गाउँपालिकामा भने सवारी साधनको दुरुपयोग भइरहेको छ । गाउँपालिकाका केही कर्मचारी राति गाडी लिएर मदिरा खान जाने गरेका छन् ।

गाउँपालिकामा २ जिप छन् । एउटा हाइलक्स र अर्को स्कर्पिओ । बुधबार कार्यकारी अधिकृतलाई थाहै नदिई बा.१झ ७१९८ नम्बरको सरकारी जिप चढेर गाउँपालिकामा कार्यरत गंगाराम चौधरीलगायत कर्मचारीको टोली मदिरा खान जोशीपुर पुगेको थियो ।


‘सरकारी गाडी लिएर साथीहरू जाँड खान जाँदा रहेछन् भन्ने बल्ल थाहा भयो । कर्मचारी आफैं जिम्मेवार हुनुपर्ने हो,’ गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘एउटा गाडी लिएर उपाध्यक्ष धनगढी जानुभएको थियो । मैले सोधखोजी गर्दा कार्यालय समयपछि एउटा जिप जोशीपुर गएको पक्का रहेछ । त्योबारे न हाकिमलाई थाहा दिए न मलाई ।’


गाउँपालिकाका कार्यकारी अधिकृत नारायणबहादुर विष्टले गाडी सबै गाउँपालिकामा राख्ने गरेको र राति गाडी लिएर कोही गएको हो भए सोधीखोजी गर्ने र त्यसो गरेको भए कारबाही गर्ने बताए । उनले भने, ‘गाउँपालिकाको जिप अध्यक्ष, उपाध्याक्ष र कार्यकारी प्रमुखले चढने व्यवस्था छ । कतै लग्नुपरे पनि अनुमति लिएर जानुपर्ने हो ।’


इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकी गाउँपालिकाको गाडी बुधबार जोशीपुरमा गएको जानकारी पाएको बताए । उनले भने, ‘गाउँपालिका/नगरपालिका आफैं सरकार भएका र गाडी प्रयोगका विषयमा हामीले केही गर्न सक्ने अवस्था छैन । जनप्रतिनिधि आफैंले यस्तोमा सचेत हुनुपर्ने हो ।’


गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका लागि छुट्टाछुट्टै चारपांग्रे सवारीसाधन छन् । ९ वडाध्यक्षलगायत कर्मचारीका लागि १८ मोटरसाइल, २ टिपर र एउटा जेसीबी गाउँपालिकाको रकमबाट खरिद भएर सञ्चालनमा छन् । कार्यालयको काममा यसको उपयोग गरिनुपर्ने भए पनि धेरै दुरुपयोग हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।


गाउँपालिकाले आव ०७४/७५ मा भौतिक विकास निर्माणका लागि भनेर खरिद गरिएका टिपर प्रयोगविहीन छन् । वडा ३ का अध्यक्ष प्रदीपकुमार शाहले टिपरमा भएको लगानी पुरै अनुत्पादक भएको बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?