२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बर्खामा सधैंको दुःख

पानी पर्न सुरु हुनेबित्तिकै सडक अवरुद्ध, यातायातका साधन थन्किएसँगै यात्रु पैदल हिँड्न बाध्य
संगीता तिमिल्सेना 

बाजुरा — न वर्षअघिको हिउँको महिना । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने कोल्टीनजिक विरसैनसम्म पहिलोपटक बोलेरो जिप पुग्दा स्थानीय बासिन्दा खुसीले गदगद थिए । गाउँलेहरूले चालक र जिपधनीलाई बाजागाजासहित भव्य स्वागत गरे । आपसमा खुसी साटे ।
हिउँदे सिजनमा सुरु भएको त्यो सडकमा गाडी गुडदाको खुसी धेरै लामो समय भने टिकेन । बर्खा सुरु भयो ।

बर्खामा सधैंको दुःख

सडक जताजतै बिग्रियो । सदरमुकामदेखि सञ्चालन हुने सवारी तथा ढुवानीका साधनहरू बन्द भए । कोल्टी क्षेत्रका बासिन्दालाई उही पुरानै अवस्थाको सास्तीका दिन फर्किए । सदरमुकाम मार्तडी पुग्न दिनभरिको उकालो–ओरालो हिँड्नुको विकल्प भएन । ‘गाडी चढ्नु त हाम्रा लागि दुई दिनको रहर,’ जस्तो मात्र हुन्छ । अघिपछि सधै पिठ्युको भारी छुट्दैन,’ पाण्डुसैनको सत्यवादी माविका शिक्षक मदनराज जोशीले भने ।


यसै गरी ३ बर्खा गुज्रिए । ‘यतिबेला पनि त्यही अवस्था छ । जब बर्खा सुरु भयो, तब गाडी पनि ठप्प भए,’ बुढीनन्दा ५ कोल्टीकी उजीरा जैशीले भनिन्, ‘हिउँदका महिना सुक्खा हुन्छन् । बर्खा लागे उही हालत ।’ उसो त सडकछेउका बासिन्दालाई गाडी चल्ने हिउँदका ४ महिना पनि सास्ती नै हुन्छ । घरको भान्सासम्मै धूलो पुर्‍याउने गरी गाडी हुइँकिन्छन् । नुहाएर बसे पनि गाडीको धुवाधूलोले केही मिनेटमै पुरै शरीर र कपडा उस्तै बनाइदिन्छ । ‘घरमा बस्ने अवस्थै छैन,’ उजिराले भनिन्, ‘कुहिरो लागेजस्तै गरी

धूलो उड्छ ।’


गाडी ठप्प भएपछि बर्खामा त्योभन्दा बढी दुःख । कोल्टीदेखि सदरमुकाम मार्तडी पुग्न १२ घण्टाको पैदल नहिँडी पुगिन्न । स्वार्मिकार्त्तिक गाउँपालिकाका नीरजन शाहीले भने, ‘अहिले कोल्टी मात्रै होइन कर्णालीका हुम्ला, मुगु, कालीकोट जानेहरूलाई पनि निकै कष्ट छ ।’


पैदल पनि जोखिम

बर्खामा मार्तडी–कोल्टी खण्डमा यातायातका साधन नचल्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । मार्तडी(कोल्टी खण्डमा यात्रा गर्दा बीचमा बाउली खोला छ । खोलामा आवतजावत गर्न साना(साना काठका साँघु बनाइएका छन् । कतिखेर चिप्लिएर खोलामा खसिन्छ भन्ने डर पनि यात्रा गर्दा उत्तिकै रहेको हिमाली गाउँपालिकाको बिछ्याका धर्म सुनारले बताए ।


बाटोमा पर्ने पोरखे लेकमा जिल्लाकै ठूलो र बाक्लो जंगल पर्छ । पटकपटक लुटपाटका घटना हुँदै आएको पोरखे लेकमा पैदल यात्रा गर्न निकै जोखिमयुक्त रहेको सुनारको भनाइ छ । अर्कोतिर बाटोमा पहिरो खस्ने समस्या पनि उस्तै छ । धेरै ठाउँमा माथिबाट पहिरो आएर दुर्घटना हुनसक्ने उनी बताउँछन् ।


यातायातका साधन सडकमै थन्किए

मार्तडी–कोल्टी खण्डको बीच सडकमै सवारी साधनहरू थन्किएका छन् । बर्खा सुरु हुनेबित्तिकै सडक अवरुद्ध भएकाले सवारीसाधनहरू बीच सडकमै थन्किएका हुन् ।


खप्तड छेडेदह गाउँपािलका ५ डोगडीका लोकेश बुढाले केही समयअघि मात्रै जिप व्यवसाय सुरु गर्न बोलेरो भाडामा ल्याए । हिउँदको केही समय मात्रै उनको मार्तडी(कोल्टी खण्डमा ओहोरदोहोर गराउन पाए । वारि बाउली खोलो गर्जिएर बग्छ, पारि बाटोमा ठूलो पहिरो गएको छ । अहिले उनको गाडी बीच सडकमै थन्किएको छ । ‘यता पनि आउन नसक्ने उता जान नसक्ने गरी सडकमै गाडी थन्किएपछि भाडा पनि कहाँबाट तिर्ने भन्ने समस्या आएको छ,’ उनले भने । उनको बोलेरोसहित मोटरसाइकल, जिप, ट्र्याक्टरलगायत सवारी साधनहरू पनि सडकमै थन्किएका छन् ।


बर्खामा खच्चडकै भर

सडक अवरुद्ध भएको १ महिनायता मार्तडी(कोल्टी खण्डमा अहिले खच्चडले सामान ढुवानी गरिरहेका छन् । कोल्टी क्षेत्रमा आवश्यक व्यापारिक सामानहरू ढुवानीका लागि महँगोमा खच्चडबाट ढुवानी गर्नुको विकल्प नभएको कोल्टीकी जानकी मियाँको भनाइ छ । यही मौका छोपेर खच्चड व्यवसायीले पनि ढुवानी भाडा महँगो लिने गरेको व्यापारीहरूको गुनासो छ । जसको प्रत्यक्ष प्रभाव उपभोक्ताहरूमाथि परिरहेको मियाँले बताइन् ।


८ करोड बढी बजेट विनियोजन

मार्तडी(कोल्टी खण्डको मर्मतका लागि प्रदेश सरकारबाट ६ करोड ३२ लाख बजेट विनियोजन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मार्तडी कोल्टी सडकको केही भाग मर्मत गरी यातायातका सवारीसाधन निरन्तर सञ्चालन गर्ने र केही भाग मर्मत गरी कालोपत्रे गर्ने योजना छ ।


सडक डिभिजन कार्यालय अछामका अनुसार डिभिजन कार्यालयबाट सडक स्तरोन्नतिका लागि २ करोड बढी बजेट विनियोजन गरिएको छ । बजेट विनियोजन भइसककेको र यही मंसिरबाट काम सुचारु गरिने डिभिजन कार्यालय अछामका प्राविधिक जंगबहादुर थापाले बताए । बाउली खोलामा पुल निर्माणका लागि भने हालसम्म तयारी नभएको उनले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?