२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

छबिसमा दियोबलाई

कान्तिपुर संवाददाता

बझाङ — छबिस पाथीभेरा गाउँपालिकामा साता दिनसम्म लाग्ने दियोबलाई पर्व सुरु भएको छ । छबिस क्षेत्रका बासिन्दाले चोखोनितो भएर दियो बालेर सुर्मा देवीको पूजा गर्छन् ।

छबिसमा दियोबलाई

साउन शुक्ल त्रयोदशीबाट सुरु भई जनै पूर्णिमासम्म यो पर्वमा मेला लाग्ने गर्छ । मेलाको मुख्य आकर्षण पहिलो दिन दियोबालाई हो । गाउँभरीका मानिस व्रत बसेर आ–आफ्नो घरबाट निउज (चोयाले बुनेको टोकरीमा राखिएको जौं, फलफूल, दियो, घिउलगायतका सामग्री) लिएर मुम्लास्थित सुर्मा मन्दिर जाने गर्छन् ।


मन्दिरका पुजारीले गाउँभरिका बासिन्दाले ल्याएको निउजलाई एकै ठाउँमा मिसाउने र त्यो सबैको टोकरीमा राखी दियो बालेर फिर्ता दिने गर्छन् । सबैको पूजा सामग्रीमा एक साथ दियो बालिने भएकाले यो पर्वको नाम दियोबलाई रहन गएको यस क्षेत्रको संस्कृतिका जानकार दानबहादुर अयडीले बताए ।


दियोबलाई मेलाको अर्को रोचक पक्ष भनेको मन्दिरबाट आएको पूजा सामग्रीमा रहेको फलफूलका आधारमा गर्भवतीको पेटमा रहेको शिशुको लिंग भविष्यवाणी गर्नु हो । ‘कसको पाथो (चोयाले बुनेको टोकरी अर्थात् पाथी) मा कुन फलफूल छ । त्यसका आधारमा त्यो घरकी गर्भवतीले छोरा वा छोरी पाउनेबारे गरिएको अनुमान मिल्ने विश्वास छ,’ स्थानीय मधुकला अयडीले भनिन्, ‘त्यही भएर पनि यहाँ यो पर्वको विशेष महत्त्व छ ।’


उनले दियो बालेको पाथीमा नासपाती भए छोरा हुने, ओखर भए छोरी हुने बताइन् । त्यसैगरी, आरु भए छोरी, स्याउ भए छोरा, निबुवा भए छोरी र काँक्रो भए छोरा हुने गरेको जनविश्वास रहेको बताइन् । अन्य विभिन्न फलफूलका आधारमा गर्भवतीले छोरा पाउँछ कि छोरी भन्ने भविष्यवाणी हुने गरेको र त्यो मिल्ने अयडी बताउँछिन् ।


जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र सुर्मा सरोवरमा जनै पूर्णिमाको दिन लाग्ने विरिजात मेलाको तयारी स्वरूप छबिसमा यो पर्वको सुरु हुन्छ । दियोबलाई पर्व सुरु भएको दिनदेखि विरिजात मेलाको दिनसम्म सुर्मा सरोवर यात्रामा जानेले एकछाक मात्र खाने र खाली खुट्टा हिँड्ने परम्परा रहेको छबिस पाथीभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडीले बताए ।


उनले विरिजातको बेला गाउँबाट समुद्र सतहदेखि ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोवर तालसम्म खाली खुट्टानै जानुपर्ने भएकाले त्यसको तयारी गर्न यस्तो चलन रहेको हुन सक्ने बताए । यसरी साता दिनसम्म व्रत बसेर सुर्मासरोवर जाने तीर्थालुलाई स्थानीय बोलीमा बालावीर भनिन्छ ।


पर्वको अवधिभरि छबिस क्षेत्रका महिला र पुरुषहरूले दैनिकजसो विभिन्न देवीदेवता र वीर गाथामा आधारित भारी खेल (कथानक देउडा गीत) खेल्ने, चाभाई (देव प्रशस्ती) गाउने गरेको सुर्मा मन्दिरका नाइक चन्दु कडायतले बताए । यस अवधिमा काम विशेषले गाउँ, जिल्ला तथा देशबाहिर रहेका यहाँका बासिन्दाहरू गाउँ फर्किने भएकाले गाउँको माहौल उत्सवमय हुने गरेको सुर्माका धामी भीमबहादुर अयडीले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?