१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

परदेशको सीप गाउँमै

मनोज बडू

दार्चुला — उमेरले ५५ नाघेका मालिकार्जुन २, भगवतीका भानसिंह धामीलाई व्यावसायिक तरकारी खेती सुरु गरेको अढाइ दशक हुँदै छ । सानैमा भारतको सिमला पुगेका उनले आफ्नो घरमा पनि सिमलाकै जस्तो हावापानी र मौसम भएकाले व्यावसायिक खेतीको जमर्को गरेका थिए ।

आफ्नै घरमा सिमलाको जस्तै व्यावसायिक तरकारी र फलफूलको खेती गर्न फर्केका भानसिंहले बजार व्यवस्थापनको समस्या झेल्दै आएका छन् । हरियो सागलगायत तरकारीबाट राम्रो आम्दानी हुने भएपनि बजार व्यवस्थापनमा समस्या भएर सोचेजस्तो फाइदा लिन नसकिएको उनी बताउँछन् । ‘साग तरकारीलाई छोटो समयमा बजारमा पुर्‍याउन सके राम्रो हुन्छ । यहाँबाट बजार धेरै टाढा छ,’ उनले भने, ‘खेतबाट ल्याएको तरकारी बजार पुर्‍याउन पुरै दिन लाग्ने हुँदा ताजा नपुग्ने र यसले सोच अनुसारको लाभ नहुँदा तरकारी खेती घटाउदै गएको छु ।’


०५१/५२ सालबाट व्यावसायिक रुपमा साग तरकारी उत्पादन सुरु गरे पनि बजार अभावले फस्टाउन सकेन । भगवतीबाट नजिकको बजार भारतको जौलजीवी र बलुवाकोट थियो । त्यहाँसम्म साग तरकारी पुर्‍याउन बोकेर एक दिन पुरै लाग्थ्यो । बजारसम्म तरकारी पुर्‍याउन अप्ठ्यारो भएपछि ठूलो मात्रामा खेती गर्न नसकिएको उनले बताए । व्यावसायिक तरकारी सुरु गर्ने समयमा सडक मार्गको पहुँच त परै जाओस्, राम्ररी हिड्न सक्ने बाटोसमेत नभएको उनी बताउँछन् ।


व्यावसायिक खेती गरेको करिब १२ वर्षपछि उनले साग तरकारिसँगै मौरीपालन पनि सुरु गरे । मौरीपालन व्यवसायबाट राम्रै कमाउने भानसिंह वार्षिक रुपमा करिब १ सय ५० क्विन्टल बराबरको मह बिक्री गरेको जानकारी दिए । मौरीपालनमा सुरुको जति उत्पादन हुन छोडेको छ । आफूलाई प्राविधिक ज्ञान नभएको र प्राविधिकहरूलाई मौरीपालन व्यवसायबाट राम्रो लाभ नपाएको बारे बुझा वातावरणीय प्रभावको कारण रहेको बताउँछन् ।


मौसममा आउने परिवर्तन र मौरीलाई मह बनाउन चाहिने फूलको मात्रा क्रमिक रुपमा घटै जादा मह उत्पादनमा कमी आएको सुझाव दिने गरेको उनको भनाइ छ । त्यस्तै भानसिंहले फलफूल खेतीलाई पनि व्यावसायिक उत्पादन सुरु गरेको छन् । केहि वर्ष अघिबाट गति र केरा खेतीलाई विस्तार गर्दै लगेका छन् ।


आफ्नो सबै जग्गामा सागपात र फलफूल खेती लगाएर २ वर्ष अघिबाट अर्कोको बाँझो जमिनमा केरा र उखुको उत्पादन बढाएका छन् । यहाँका केही युवा खाली समय पाउने बित्तिकै घुमफिर गर्ने र गफ गरेर बस्छन्, भानसिंह भने दिनभर खेतमै व्यस्त हुने गरेको राष्ट्रिय माविका शिक्षक शेरसिंह सामन्त बताउँछन् । बिहान उज्यालो भएदेखि रात नपरुन्जेल खेतबारीमै हुन्छन्,’ उनले भने, ‘तरकारीमा गोडमेल, माटो सम्याउने काम गरेकै हुन्छन् ।’

प्रकाशित : श्रावण २७, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?