३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पक्की तटबन्ध बने पनि जोखिम उस्तै

कान्तिपुर संवाददाता

दार्चुला — दार्चुलातर्फ महाकाली किनारमा पक्की तटबन्ध बने पनि भारतीय क्षेत्रको खोतिला पहिरोका कारण सदरमुकाम क्षेत्र अझै असुरक्षित छ । नेपालतर्फ पक्की तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगे पनि भारतीय पक्षले पहिरो व्यवस्थापन गर्न सक्रियता नदेखाउँदा जोखिम कायमै छ ।

पहिरो हटाउन भारतीय पक्षको आनाकानीले खलंगाका बासिन्दा महाकालीमा बाढीको जोखिम कायम रहेको बताउँदै आएका छन् । भारतीय पक्षले ०७३ असोजमा आएको सुक्खा पहिरो नपन्छाउँदा हरेक बर्खामा महाकाली तटीय क्षेत्रका स्थानीयलाई बाढीले त्रास कायमै छ । पहिरो हटाउनु नै दुबै क्षेत्रका लागि सुरक्षित मानिन्छ ।


तत्काल पहिरो हटाउन नसकिने भएपछि एकैपटक पहिरो खस्यो भने महाकाली थुनिने जोखिम छ । उक्त जोखिम पहिल्यैदेखि औल्याइँदै आएको भए पनि भारतीय पक्षले भने हालसम्म काम सुरु नगरेकाले नेपालतर्फ पनि जोखिम बढेको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मित्र बरालले बताए । महाकाली नदी नियन्त्रण आयोजनाकाअनुसार समान्य वर्षामा पहिरो खस्ने सम्भावना कमै छ । प्राविधिक दृष्टिकोणले हेर्दा पहिरो समान्य अवस्था नखस्ने देखिए पनि पहिरोका बीच भागमा रहेको ठूलो ढुंगा खस्यो भने फुट्ने र बिस्तारै खसे नदी किनारमै रहने सम्भावना रहन्छ ।


‘पहिरोको बीच भागमा ठूलो ढुंगा रोकिएको छ । ढुंगा जुनसुकै बेला तल खस्न सक्छ,’ आयोजना प्रमुख बरालले भने, ‘उक्त ढुंगा एकैसाथ खसे महाकाली थुनिने र महाकाली जस्तो नदी थुनिएर पुरै सदरमुकाम क्षेत्र र महाकाली तटीय क्षेत्रमा बाढी जान सक्छ ।’ उक्त पहिरो सुक्खायाममा आएको र पहिरो आएको वर्षदेखि नै भारतीय पक्षले पहिरो हटाउन मौखिक सहमति गर्दै आएको हो ।


खोतिला पहिरो हटाउन स्थानीयस्तरमा हुने भारतीय र नेपाल पक्षबीचको द्विपक्षीय भेटघाट, सीमा बैठक, प्रदेश, संघीय विभागका सचिव र मन्त्रीस्तर बैठकमा यो विषयलाई उठाए पनि अझै कार्यान्वयनमा ल्याएको छैन । भारतीय पक्षको भूगर्भविद्को टोलीले स्थलगत अवलोकन गरेर पहिरोलाई समयमै व्यवस्थापन गरिएन भने ०७० सालको बाढीको जस्तै नोक्सानी व्यवहार्नुपर्ने अवस्था आउने औंल्याएका थिए ।


जोखिम रहेको क्षेत्रमा पक्की तटबन्ध बनिसकेको र बाँकी भूभागमा तटबन्ध निर्माणाधीन अवस्थामा रहेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । खोतिला पहिरोसँगै भारतमै निर्मित २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको ड्यामले बाढीको जोखिम झन बढाएको नेपाली पक्षले अनुमान गरेको छ ।


ड्यामको माथिल्लो क्षेत्रमा वर्षा हुने बित्तिकै भारतीय पक्षले उक्त ड्यामका ढोका खोल्न गरेको छ । तर, ड्यामको ढोका खोल्नु अगाडी सीमा क्षेत्रमा जानकारी गराउनुपर्ने भएपनि भारतले नेपाललाई जानकारी नगराई बाधको ढोका खाल्ने हुदा यहाँको तटीय क्षेत्रमा बाढी जोखिम कायमै रहेको स्थानीयको भनाइ छ ।


सदरमुकाम बाहेकको जिल्लाका धौलाकोटदेखि लालीसम्मको विभिन्नमा महाकाली कटान गरेको अवस्था छ । उक्त क्षेत्रहरूमा नदीमा पानीको सतह बढ्ने बित्तिकै यहाका स्थानीयमा बाढीको त्रास कायमै रहेको छ । राज्यले जिल्ला सदरमुकाम खलंगा क्षेत्रलाई मात्र हेरेर पक्की तटबन्ध निर्माण गरेको छ ।


नदी तटीय क्षेत्रको अधिकांश भागमा जमिन कटान र धसिएको हुनाले बाढीको जोखिम कम नभएको लेकम गाउपालिका ३ का तारासिह भण्डारीले बताए । महाकाली नदी नियन्त्रण आयोजनाका अनुसारका सदरमुकाम क्षेत्र बाहिर पनि चालु आर्थिक वर्षमा पक्की र अस्थायी तारजालीको तटबन्ध बनाउने योजना छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?