२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

महाकाली किनारमा पक्की तटबन्ध बने पनि जोखिम उस्तै

खोतिला पहिरोसँगै भारतमै निर्मित २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको ड्यामले बाढीको जोखिम बढायो
मनोज बडू

दार्चुला — दार्चुलातर्फ महाकाली किनारमा पक्की तटबन्ध बने पनि भारतीय क्षेत्रको खोतिला पहिरोका कारण सदरमुकाम क्षेत्र अझै असुरक्षित छ  । नेपालतर्फ पक्की तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगे पनि भारतीय पक्षले पहिरो व्यवस्थापन गर्न सक्रियता नदेखाउँदा जोखिम कायमै छ  ।

महाकाली किनारमा पक्की तटबन्ध बने पनि जोखिम उस्तै

पहिरो हटाउन भारतीय पक्षको आनाकानीले खलंगाका बासिन्दा महाकालीमा बाढीको जोखिम कायम रहेको बताउँदै आएका छन् । भारतीय पक्षले ०७३ असोजमा आएको सुक्खा पहिरो नपन्छाउँदा हरेक बर्खामा महाकाली तटीय क्षेत्रका स्थानीयलाई बाढीले त्रास कायमै रहेको छ ।

पहिरो हटाउनु नै दुबै क्षेत्रका लागि सुरक्षित मानिन्छ । तत्काल पहिरो हटाउन नसकिने भएपछि एकै पटक पहिरो खस्यो भने महाकाली थुनिने जोखिम छ । त्यहाँ पहिरो खसेमा दुबै क्षेत्रमा खतरा बढ्ने सम्भावना उच्च छ । उक्त जोखिम पहिल्यैदेखि औंल्याइँदै आए पनि भारतीय पक्षले भने हालसम्म काम सुरु नगरेकाले तटबन्ध बनेर पनि नेपालतर्फ जोखिम कायमै रहेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख मित्र बरालले बताए ।

महाकाली नदी नियन्त्रण आयोजनाकाअनुसार समान्य वर्षामा पहिरो खस्ने सम्भावना कमै छ । प्राविधिक दृष्टिकोणले हेर्दा पहिरो समान्य अवस्था नखस्ने देखिए पनि पहिरोका बीच भागमा रहेको ठूलो ढुंगा खस्यो भने फुट्ने र बिस्तारै खसे नदी किनारमै रहने सम्भावना हुँदा यतिसम्म जोखिम बढाउन भन्न नसकिए पनि जोखिम भने हटेको छैन ।

‘पहिरोको बीच भागमा ठूलो ढुंगा रोकिएको छ । ढुंगा जुनसुकै बेला तल खस्न सक्छ,’ आयोजना प्रमुख बरालले भने, ‘उक्त ढुंगा एकै साथ खसे महाकाली थुनिने र महाकाली जस्तो नदी थुनिएर पुरै सदरमुकाम क्षेत्र र महाकाली तटीय क्षेत्रमा बाढी जान सक्छ ।’ उक्त पहिरो सुक्खा समयमा आएको र पहिरो आएको वर्षदेखि नै भारतीय पक्षले पहिरो हटाउन मौखिक सहमति गर्दै आएको हो । विभिन्न समयमा प्रतिवद्धता गरेको भए पनि पहिरो पन्छाउने काम भने अझै सुर गरेको छैन ।

खोतिला पहिरो हटाउनका लागि स्थानीयस्तरमा हुने भारतीय र नेपाल पक्षबीचको द्विपक्षीय भेटघाट, सीमा बैठक, प्रदेश, संघीय विभागका सचिव र मन्त्रीस्तर बैठकमा यो विषयलाई उठाएको भएपनि अझै कार्यान्वयनमा ल्याएको छैन । भारतीय पक्षको भूगर्भविदको टोलीले स्थलगत अवलोकन गरेर पहिरोलाई समयमै व्यवस्थापन नगरिए ०७० सालको बाढीको जस्तै नोक्सानी व्यवहार्नुपर्ने बताएको थियो ।

खोतिला पहिरोसँगै भारतमै निर्मित २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामले बाढीको जोखिम झन बढाएको नेपाली पक्षले अनुमान गरेको छ । ड्यामको माथिल्लो क्षेत्रमा वर्षा हुने बित्तिकै भारतीय पक्षले उक्त ड्यामका ढोका खोल्न गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?