कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई चालकमा व्यवसायीको छलढाँट

भवानी भट्ट

कञ्चनपुर — लामो दूरीका सवारी साधनमा दुई चालक हुनुपर्ने धेरै अघिदेखि आएको कुरो हो । तर अहिले पनि रातभरि वा त्यसभन्दा बढी समयसम्मको दूरीमा समेत एउटै चालकले सवारीसाधन चलाइरहेका छन् । अधिकांश सवारी साधनमा देखाउन दुई चालक राख्ने गरे पनि गाडी भने एउटैले चलाउने गरेका छन् ।

दुई चालकमा व्यवसायीको छलढाँट

पछिल्लो समय कन्डक्टर र सहचालकको समेत लाइसेन्स बनाएर तिनलाई नै चालकका रूपमा देखाइने गर्दा दुर्घटना बढन थालेको व्यवसायीहरू नै बताउँछन् । सवारी चालक इजाजत पत्र दिने प्रक्रियामा निकै खुकुलो र अनियमितताले यस्तो भएको उनीहरू बताउँछन् ।

‘गाडीको स्टेरिङसमेत नसमाएकाले लाइसेन्स पाएका छन्, साहुले तिनलाई नै चालक बनाएर लैजान्छन्,’ महाकाली यातायात प्रालिका एक व्यवसायीले भने, ‘चेक हुने ठाउँमा चालकै हुन्छन्, तर गाडी त जति लामो बाटो भए पनि एउटैले चलाउँछ ।’ उनले भाडामा बढदो मोलमोलाई (बार्गेनिङ) र सार्वजनिक यातायातमा यात्रुको संख्या घटदै गएका कारण दुई चालकको भार धान्न सकिने अवस्थासमेत नहुँदा व्यवसायीहरू छलढाँटमा लागेको बताए ।

लाइसेन्स भएका तर गाडी चलाउन राम्ररी नजानेकाकै कारण दुर्घटना हुने चालक बताउँछन् । ‘अधिकांश दुर्घटना सहचालकले चलाउँदा भइरहेका हुन्छन्, चेकजाँचका बेला र चालकलाई आराम दिन चलाउँदा यस्तो भएको पाइन्छ,’ सुदूरपश्चिमका पहाडी रुटका लामो समयदेखि बस चलाउँदै आएका एक चालकले भने, ‘पहाडी रुटमा यो अवस्था अझ बढी छ ।’

केही गाडीमा अहिले पनि छलढाँट गरेरै दुई चालक देखाइने गरेको १८ वर्षदेखि लामो दूरीमा बस चलाउँदै आएका लक्ष्मण राना बताउँछन् । ‘यात्रु कम हुनु र आर्थिक भार बढी हुँदा दुई चालकको खर्च धान्न नसकिने भएकाले पनि व्यवसायीहरू विभिन्न उपाय अपनाउँछन्,’ उनले भने । उनका अनुसार पछिल्लो समय डिलक्स र वातानुकूलित बसमा दुई चालक राख्ने गरे पनि साधारण बसहरूमा एउटै चालक रहने गरेको बताए ।

२ सय ५० किमि वा ६ घण्टा बढी समय लाग्ने ठाउँमा २ चालक अनिवार्य राख्नुपर्ने व्यवस्था छ । महेन्द्रनगर–काठमाडौं मात्रै होइन दिल्ली–काठमाडौं बसमा समेत एउटै चालक हुने गरेको यात्रु बताउँछन् । चेकजाँच हुने ठाउँमा दुई चालक देखाइने पनि गरेको छ ।

कागजी रूपमा सबै ठीकठाक भेटिए पनि कहीं न कहीं ढाँटने काम भइरहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी केदार राजौरे बताउँछन् । काठमाडौं वा पूर्वतिर जाने गाडीका चालकहरू र त्यहीं ठाउँबाट आउने चालक बीचमा पुगेर बदलिने गरेको आशंका रहेको उनले बताए ।

‘हामीले हेर्दा चालक त फेरियो तर एउटै चालकले निरन्तर चलाउने क्रम रोकिएन,’ उनले भने, ‘जो जुन ठाउँबाट आएको त्यहीँ फर्कियो, यस्तो पनि सेटिङ मिलाएको हुन सक्छ । हामीले लाइसेन्स हेरेर चालकको फोटो खिचेर अगाडीको चेक प्वाइन्टमा पठाउछौं, सवारी साधन चलाउन जाने नजानेको हेर्न सकिने अवस्था हुँदैन ।’

उनका अनुसार ट्राफिक प्रहरीको नेटवर्किङ सिस्टमले चालक फेरिए नफेरिएको हेर्न सकिने भएपनि छलढाँट गरेको अझै समात्न नसकिएको बताए । एक चेकपोस्टले अर्कोलाई फोटो र चालकको विवरण पठाउने गरेकाले फेरिए नफेरिएको सहजै पहिचान हुने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?