सुदूरपश्चिममा पानी अभाव : यूएनडीपी

कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिम देशकै सबैभन्दा बढी पानीको अभाव भएको प्रदेश रहेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपिले बिहिबार धनगढीमा गरेको एक कार्यक्रममा नेपाल सरकारले गरेको अनुसन्धानमा पानीको चरम अभाव रहेको जानकारी दिइयो ।

‘नेपालका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा पानीको चरम अभाव देखिएको छ,’ बीबीसी विश्व सेवाका वातावरण संवाददाता नविनसिंह खड्काले भने, ‘यसको मुख्य कारण वातावरण प्रदूषण र यससँंग जोडिएका अन्य कुरा हुन् ।’


उनले विगतदेखि नै वातावरणसम्बन्धी कुरालाई सबैले महत्त्व नदिँदा पछिल्लो समय त्यसको प्रभाव देखिन थालेको बताए । ‘वातावरण हाम्रो जीवनमा सबैभन्दा महत्वपूर्ण छ । त्यसैले यसबारे सबैले गम्भिर हुनुपर्छ,’ उनले भने, ‘नेपालका केहि सञ्चारमाध्यम बाहेक सबैले वातावरणलाई त्यति महत्त्व दिएका छैनन् । अब भने ध्यान दिनुपर्ने देखिएको छ ।’


कार्यक्रमका सहभागीहरूले पनि पछिल्लो समय सुदुरपश्चिमको वातावरणमा परिवर्तन आएको बताएका छन् । उनीहरूले केहि वर्षयता वर्षा पनि समयमा नभएको बताए । हरेक वर्ष असार, साउनमा लगातार पानी पर्ने पनि यस वर्ष साउनमा धनगढीमा वर्षा नै नभएको सहभागीहरूले बताए ।


यस्तै खड्काले नेपाल सरकारले गरेको एउटा सर्वेक्षणका अनुसार जलवायु परिवर्तन खेप्न सक्ने क्षमता सुदुरपश्चिमको वातावरणसंँग न्यून देखिएको बताए ।


जसमध्ये सुदुरपश्चिममा जलवायु परिवर्तन खेप्न सक्ने क्षमता निकै न्यून रहेको जिल्लामा डोटी, अछाम, बाजुरा र बझाङ छन् । जलवायु परिवर्तनलाई खेप्न सक्ने क्षमता कम भएका जिल्लामा भने डडेल्धुरा र बैतडी छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?