१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वन मासेर संस्थाका भवन

मोहन बुढाऐर

धनगढी — कुनै बेला रुखैरुखले ढाकिएको क्षेत्र अहिले घरैघरले ढाकिएको छ । वन क्षेत्र मासेर बजार बसाइएको छ । विद्यालय, मठमन्दिर जे बनाए पनि वनकै जग्गामा । सुकुम्बासी, बाढीपीडित, मुक्तकमैयाका नाममा मासिँदै आएको वन अब संस्थागत रूपमै अतिक्रमण हुन थालेको छ ।

वन मासेर संस्थाका भवन

अहिलेसम्म कैलालीमा ३० हजार हेक्टर वन क्षेत्र नष्ट भएको छ । जिल्ला वन अधिकृत रामचन्द्र कँडेलले स्थानीय तहले वडा कार्यालय भवन निर्माणलगायत नाममा वन क्षेत्र मासिरहेको बताए । गोदावरी नगरपालिकामा अत्तरिया चोकको उत्तरतिर रेडक्रस, उद्योग वाणिज्य संघ र सहकारी संस्थाले हालै वनकै जग्गामा भवन ठड्याएका छन् । अत्तरिया बजार क्षेत्र आधाभन्दा बढी ऐलानीमा पर्छ ।


गौरीगंगा नगरपालिकाले बनाउन लागेका ५ वटा वडा भवनलाई रोक लगाइएको वन अधिकृत कँडेलले बताए । नगरप्रमुख भीमबहादुर देउवाले ऐलानीमा आवश्यक सार्वजनिक भवन बनाउँदा वन क्षेत्र मासेको आरोप लगाउनु गलत भएको जनाए । आफ्ना सबै वडा कार्यालय ७ नम्बर ऐलानीमा रहेको उनले बताए । अन्य स्थानीय तहले पनि वनको स्वीकृति नलिई आफूखुसी सार्वजनिक संरचना बनाउने गरेको वन अधिकृत कँडेलको भनाइ छ ।


‘स्थानीय तहसंँग बजेट हुन्छ । जग्गा खरिद गरी वडा कार्यालय किन बनाउन नसक्ने ? वन क्षेत्र नै किन मास्ने ?’ उनले भने । पछिल्लो समय गौरीगंगा नगरमा निमार्णाधीन वडा कार्यालय भवन पनि रोकिएको कँडेलले जानकारी दिए । मठ मन्दिर, विद्यालय, बसपार्क, प्रतीक्षालयलगायत संरचना निर्माणमा ठूलो वन क्षेत्र अतिक्रमण भएको छ ।


‘बाह्रवन साझेदारी वन क्षेत्रभित्र एक तपस्वी पसेको छ,’ कँडेलले भने, ‘स्थानीयको समर्थनमा कुटी बनाउने नाममा वन क्षेत्र फँडानी भएको छ ।’ डिभिजन कार्यालयका अनुसार चिसापानी, अत्तरिया, सुक्खड, बौनिया, हसुलिया र भजनीलगायत स्थानीय बजारले वन मासेका छन् ।


साठीको दशकअघि पहाडबाट बसाइँ सर्नेले राजनीतिक दलको आडमा आवादी गरे । संरक्षणकर्मी विजयराज जोशीले २०५७ देखि २०६५ सम्म मुक्त कमैया र त्यसपछि बाढीपीडितका नाममा अतिक्रमण बढेको बताए ।


वन कार्यालयको एक अध्ययन प्रतिवेदनमा उदासीपुर, शिवपुर, मसुरिया, वनखेत, मौहलिया, दोदोधारा, लालबोझी चर्रा, पहलमानपुरको अमखैया, खैराला र बाटगडामा बाढीपीडित, मुक्तकमैया र अव्यवस्थित परिवारको नाममा १० हजार हेक्टरभन्दा बढी अतिक्रमणमा परेको छ ।


यसैबीच नदी, खोलाले बगर बनाएको क्षेत्रमा हरियाली फर्काउन डिभिजन कार्यालयले यस वर्ष ५ लाख बिरुवा रोपेको छ । ७ लाख बिरुवा पुनरुत्पादनका लागि रोपिएको कँडेलले बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?