कार्ययोजनासहित बजार अनुगमन

कान्तिपुर संवाददाता

दार्चुला — जिल्लाको बजारलाई कार्ययोजनासहित अनुगमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला अनुगमन समितिको बैठकले कार्ययोजनासहित जिल्लाभरी रहेको बजारहरूलाई अनुगमन गर्ने निर्णय गरेको हो ।

गुणस्तरिय वस्तु तथा सेवा प्राप्त गर्ने सबै उपभोक्ताको संवैधानिक एवं कानुनी अधिकार भएकोले बजार अनुमगनलाई प्राथमिकता राखिएको जिल्ला प्रशासनले जनाएको छ ।


उक्त अधिकार संरक्षणका लागि बस्तु तथा सेवाको सहज आपुर्ति, मुल्य, गुणस्तर र शुद्धतालगायत विषयमा बजार अनुगमन गरी कानुनी राज्य तथा सुशासनको अनुभुती दिलाउन सरकारको दायित्व हुने हुँदा बजारलाई कार्य योजना सहित अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले बताए ।


स्थलगत रुपमा बजारको सुपरीवेक्षण तथा अनुगमन गरी कालो बजारी लगायतका अनियमितता गर्ने उपर कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेश गर्न, आम उपभोक्ताहरूको स्वास्थ्य, सुबिधा र आर्थिक हित संरक्षणमा टेवा पुर्‍याउन तथा एकाधिकार वा अनुचित व्यापारिक क्रियाकलापद्वारा मुल्य बृद्धि हुन नदिई बजारमा स्वच्छ प्रतिष्प्रर्धा कायम गर्ने उद्देश्यले २०७६ कार्य योजना तयारी पारी अनुगमन गरिन लागिएको जिल्ला प्रशासनले जनाएको छ । अबदेखि महिनाको एक पटक अनिवार्य रुपमा बजार अनुगमन गर्ने लक्ष्य लिइएको छ ।


बजारमा सबै प्रकारका खाद्यान्न, पानी, दुध र दुधजन्य पदार्थ, खानेतेल, नुन, मिठाई, औद्योगिक र सबै प्रकारका प्रशोधित खानेकुराहरू, पसलमा रहेका ढक तराजु, डिजिटल कांटा र सुन चादी पसलमा रहेका मेसिन उपकरणहरूको अनुगमन गरिने छ ।


यस्तै फलफुल र तरकारीजन्य पदार्थ, औषधी तथा जनस्वास्थ्यसंग सम्बन्धित सेवाहरू, पशु र मासुजन्य पदार्थ, मदिरा, सुर्तिजन्य तथा पेय पदार्थ, पेट्रोलियम, शिक्षा, यातायात क्षेत्र होटल तथा रेस्टुरेन्टहरूमा सरसफाईको अवस्था, सामानहरूको म्याद भए नभएको बारे अनुगनम गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बजार अनुगमन एकल तथा संयुक्त रुपमा गरिने जनाइएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?