१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गौराको तयारी

डीआर पन्त

डडेलधुरा — भारतको गुजरातमा ११ वर्षदेखि बस्दै आएका देवलका लक्ष्मीदत्त जैसीको परिवार गौरा मान्न घर फर्किएको छ । सम्भव भएसम्म उनको परिवारका सबै सदस्य हरेक वर्ष गौरा मान्न जन्मथलो फर्कने गर्छन् ।

जैसीको परिवार झै उनको छर–छिमेकमा पनि रोजगारीका लागि बाहिर गएका र बसाइ सरेर तराइ झरेका पनि गौरा मान्न घर फर्किएका छन । सुनसान हुने गाउँमा चलपहल सुरु हुन थालेको छ ।


गाउँका चोक चौराहमा यातायातका साधन आउने जाने क्रम बढेको छ । डडेलधुराको देवल मात्र होइन, सुदूरपहाडका प्रायः सवै गाउँंमा गौराको तयारी सुरु भएको छ । प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन फर्कनेको लर्को लागेको छ । सदरमुकामवाट ग्रामीण क्षेत्रसम्म यातायातका साधानमा भीड पनि बढेको छ । बजारहरूमा गौराका लागि चाहिने सामान खरिद गर्नेको भीड बढेको हो । गौरा सुरु हुन अझै ३ दिन बाँकी छ । तर सदरमुकामदेखि गाउँं–गाउँमा गौराको रौनक सुरु भइसकेको छ ।


सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौराको सदरमुकामदेखि ग्रामिण भेकसम्म ब्यापक तयारी गरिएको छ । प्रदेशका हरेक जात जाती, बर्ग र क्षेत्रका वासिन्दाको विभेदरहित साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनक वेग्लै हुने गरेको छ ।


गौरा भित्र्याउने घर आँगनदेखि सामुहिक गौरा घरको सरसफाइसँगै गौरा बिर्सजन गर्ने मठ मन्दिरमा पनि सरसफाइ सुरु भएको छ । गाउँदेखि जिल्ला सदरमुकाममा हुने गौरा महोत्सवको प्रचार पनि सुरु भइसकेको छ । वर्षाले बन्द भएका, भत्किएका मठ मन्दिर जाने बाटाघाटा र बिरुडा भिजाउने परम्परागत कुवा, नाउलाको सफाइ गरिएको छ ।


महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरमा पौराणिककालदेखि मनाइदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ । गौरा बिसर्जन गरिने मठ मन्दिरमा भाद्र संक्रान्तिका दिन पुरुषहरू जम्मा भएर देवी–देवताको ठाडो खेल गाउंदै गौरा पर्व सुरु भएको सन्देश दिने गरिन्छ ।


पञ्चमीका दिन महिलाहरूले सामुहिक रुपमा बिरुडा (५ प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवा र नाउलामा गौरा पूज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व वोकेको प्रमुख पर्व पनि हो ।


‘गौरा पर्व मात्र नभएर सभ्यता पनि हो,’ सुदूरको संस्कृतिका विषयमा विद्यावारिधि गरेका प्रा.डा मोहन भट्ट भन्छन्, ‘पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ ।’ गौरामा गाइने फाग, चैत, धुमारी र ठाडो खेल धार्मिक गतिविधिमा आधारित छन् । डेउडा प्राचीन तथा समकालीन विषय वस्तुमा गाउने गरिएको छ । प्राध्यापक भट्ट भन्छन्, ‘गौरा सुरु भएदेखि गाइंदै आएका फाग, चैत, धुमारी र ठाडो खेल जस्ता लोक काब्यमा प्राचिन इतिहास लुकेको छ ।’


एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जिवन्त राख्ने परम्परा छ भने अर्कोतिर नेपाल एकीकरणका वीरहरूका गाथा डेउडाका रुपमा गाएर राष्ट्रिय एकतालाइ पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । संस्कृतिविद् प्राध्यापक डा. भोजराज पन्त भन्छन्, ‘यो धार्मिक तथा सामाजिक महत्वको अद्भूत सांस्कृतिक पर्व हो ।’ बल, तील, गुभा, धान र साउं का बोटबाट बनाइने गौरा र शिवका रुपमा काठको प्रतिमा स्थापित गरि एक हप्ता सम्म पूजा गर्ने परम्परा छ ।


अविवाहित कन्याहरूले घर भित्र्याउने परम्परा रहेको गौरा बिर्सजन गर्दा भने विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँंदै स्थानीय मठ–मन्दिरमा लैजान्छन् । मठ मन्दिरमा धामी र पुजारीहरूले गौरालाइ विधिवत बिर्सजन गर्ने परम्परा छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?