१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चिकित्सक नहुँदा उपचार प्रभावित

सुदूरपश्चिममा कुल विशेषज्ञ चिकित्सक ६४, मेडिकल अफिसर ७१, जनस्वास्थ्य अधिकृत ६९, मेडिकल रेकर्डर ४, अहेब, अनमी ४ सय १९, नर्स १ सय ३० लगायत ३ हजार १ सय ७७ मध्ये ६ सय ३२ पद रिक्त

धनगढी/बाजुरा — कर्मचारी समायोजनले सुदूरपश्चिममा स्वास्थ्य सेवा प्रभावित भएको छ । कार्यरत चिकित्सक, स्वास्थयकर्मी र कर्मचारी समायोजन रोजेर आफ्नो क्षेत्रमा गइसकेका छन् । समायोजन भई दरबन्दीमा हाजिर हुन नआएकाले स्वास्थ्य सेवा प्रभावित भएको हो ।

चिकित्सक नहुँदा उपचार प्रभावित

सुदूरपश्चिमको ठूलो सेती अञ्चल अस्पताल पनि विशेषज्ञ चिकित्सकीय सेवाविहीन हुन लागेको छ । अस्पतालमा कार्यरत ८ विशेषज्ञ चिकित्सक संघमा समायोजन भएर जान लागेका छन् । दैनिक ३ सय बढीले ओपीडी सेवा र भर्ना भई उपचार हुने सेती अस्पताल अब ३ विशेषज्ञका भरमा चल्नेछ ।


अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले कुल २२ विशेषज्ञ चिकित्सक दरबन्दी भएकामा अहिले कार्यरत ११ मात्र छन् । जसमध्ये समायोजन भई ८ जना गएपछि ३ विशेषज्ञ चिकित्सक मात्रै हुनेछन् । उनकाअनुसार समायोजनमा

संघ रोजेका विशेषज्ञ चिकित्सक जान लागेका हुन् ।


प्रदेश रोजेका हालका मेडिकल सुपरिडेन्ट डा. हेमराज पाण्डे, गाइनोक्लोजिस्ट डा. खगेन्द्र भट्ट र डा. जगदीश जोशी मात्रै अब अस्पतालमा विशेषज्ञ चिकित्सकका रुपमा रहनेछन् । अस्पतालका सुपरिटेन्डेन्ट डा. पाण्डेयले विशेषज्ञ सेवा प्रभावित हुन नदिन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई समायोजन भएका डाक्टरहरू जानुपूर्व विशेषज्ञ चिकित्सक ल्याउन माग गरिएको बताए । सेती अस्पताल प्रदेश सरकारअन्तर्गत छ ।


सुदूरपश्चिम प्रदेशको करिब २८ लाख जनसंख्याको अधिकांश बिरामीले अस्पतालमा हाल कार्यरत ११ विशेषज्ञसहित ४१ डाक्टरबाट मात्रै उपचार सेवा पाईरहेका छन् । प्रदेशको दोस्रो ठूलो महाकाली अञ्चल अस्पतालमा १८ विशेषज्ञ डाक्टरको दरबन्दीमध्ये १ जना मात्र कार्यरत छन् । पहाडी जिल्लाका जनतालाई सेवा दिन डडेलधुरामा खुलेको उप–क्षेत्रीय अस्पताल नाममा मात्रै सीमित भएको छ । २० विशेषज्ञ चिकित्सक दरबन्दी भएको उप–क्षेत्रीयमा हालसम्म कोही हाजिर छैनन् ।


एक/एक विशेषज्ञको दरबन्दी भएको जिल्ला अस्पताल बैतडी, बाजुरा, बझाङ, कैलालीेका मालाखेती, टीकापुर, दार्चुलाको गोकुलेश्वर र डडेल्धुराको जोगबुढामा विशेषज्ञ डाक्टर छैनन् । सुदूरपश्चिममा ६४ विशेषज्ञ र २२ डाक्टर पद रिक्त रहेको प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ । स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल लगायतका स्वास्थ्य क्षेत्रमा ६ सय ३२ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छन् ।


‘पछिल्लो समयमा समायोजनले गर्दा कार्यरत स्वास्थ्यकर्मीहरू पनि आफ्नो कार्यक्षेत्रमा गएकाले दरबन्दी रिक्त छन्,’ क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भने । उनले यहाँ समायोजन भई आउनहरूे हाजिर हुन नहुँदा यहाँका स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत ८० प्रतिशत कर्मचारी अन्य प्रदेशका भएकाले उनीहरू आफ्नो क्षेत्रमा जाँदा खाली देखिएको छ ।


सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य चौकी ३ सय ७६, प्राथमिक स्वास्थ्य केन्द्र १६, जिल्ला अस्पताल ४, अञ्चल , उप–क्षेत्रीय अस्पताल ३, प्रसूति सेवा केन्द्र ३ सय ७१ छन् । ती स्वास्थ्य संस्थामा कुल विशेषज्ञ चिकित्सक ६४, मेडिकल अफिसर ७१, जनस्वास्थ्य अधिकृत ६९, मेडिकल रेकर्डर ४, अहेब, अनमी ४ सय १९, नर्स १ सय ३०, लगायत ३ हजार १ सय ७७ पद छन् । जसमध्ये ६ सय ३२ पद रिक्त रहेका छन् ।


खाने फुर्सदै पाउँदैनन् डाक्टर

जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढेको छ । बर्खाको मौसम, खानपानमा उचित ध्यान नदिँदा सर्वसाधारणमा आउँ, ग्यास्ट्रिक, ज्वरो, झाडापखलाको समस्या देखिएको हो । यिनै समस्या लिएर अहिले हरेक दिन अस्पतालमा सय बढी बिरामी आउने गरेको डा. लोकेन्द्र नाथ बताउँछन् । बिरामीको चाप बढेसँगै चिकित्सकहरूलाई खाने फुर्सद पाउनसमेत कठिन छ ।


‘अहिले जिल्ला अस्पतालका डाक्टरहरूलाई खाना खाने समय पनि छैन,’ उनले भने, ‘बिहानैदेखि खटिएर काम गरिरहेका छौं ।’ अस्पतालमा बढीजसो महिला र बालबालिका उपचारका लागि आउने गरेका छन् । अस्पताल खुल्नुअघि नै बिरामीहरू लाइन लागिसकेका हुन्छन् । जिल्ला अस्पताल बाजुरामा भिडियो एक्सरे, अडियो एक्सरे, ल्याब टेस्ट, एमडीजीपी डाक्टरहरूबाट शल्यक्रियालगायत सेवाहरू प्रदान गरिने भएकाले जिल्लाभरका बिरामी आउने गरेको अस्पताल प्रमुख डा. रोहित गिरीले बताए ।


‘५ दिनदेखि ज्वरो आएको थियो । स्थानीय स्वास्थ्य चौकीमा उपचार गरें । सन्चो भएन टाइफाइड देखियो,’ खप्तड छेडेदह गाउपालिका ३ गुदुखातीका मनबहादुर धामीले भने, ‘अनि घरबाट ४ घण्टाको बाटो पैदल हिँडेर गाडी पुग्ने स्थानसम्म जसोतसो आएर जिल्ला अस्पताल बाजुरामा आएँ ।’ उनका अनुसार बिहान ७ बजे जिल्ला अस्पतालमा आए पनि दिउँसो २ बजेसम्म पनि उनको उपचार हुन सकेको थिएन ।


त्यस्तै समस्या बडीमालिका नगरपालिका ३ रजालीकी ४५ वर्षीया किट्टी चंँदाराको छ । उनी पनि बिहान १० बजेदेखि रिपोर्ट आउने आशामा कुरिरहेकी थिइन् । उनी छाती र पिसाब पोल्ने समस्याले अस्पताल आएकी हुन् । उनी बिहानै ३ घण्टाको पैदल हिँडेर अस्पताल आएकी हुन् । डाक्टरहरूले पिसाब र रगत जांँच गर्नुपर्ने सुझाव दिए । उनी ल्याबमा गइन त्यहाँ पनि उस्तै भीड । ‘४ घण्टापछि बल्ल पालो आयो उपचार भयो,’ उनले भनिन् ।


बिरामीको चाप बढदै गएपछि करिब ५/७ घण्टा कुरेपछि उपचार पाउने अवस्था रहेको डा. नाथ बताउँछन् । अहिले विशेष गरी अस्पतालमा झाडापखाला, आउँ, टाइफाइड, ग्यास्ट्रिक, पिसाबमा समस्या भएका बिरामी आउने गरेको अर्का डाक्टर राजुराज जैशी बताउँछन् ।


उनले भने, ‘हामीले सकेजति लागेर बिरामी उपचार गरिरहेका छौं तैपनि बिरामीको चाप बढेको छ । यो मौसमै यस्तै हो ।’ अस्पताल प्रमुख डा. गिरीले यो मौसममा बिरामीको चाप बढनु सामान्य भएको बताए । ‘यो मौसममा बढी बिरामी आउने गर्छन् । हामीले आफ्नो समयअनुसार उपचार गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?