कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छुद्दरी टोल उच्च जोखिममा

बाजुरा — स्वामीकार्तिक गाउँपालिका–२ को छुद्दरी टोल जिल्लाकै सबैभन्दा जोखिममा रहेको ठहर जिल्ला विपद व्यवस्थापन समितिले गरेको छ । उक्त बस्तीमा बाढी पस्दा २७ गाई र १२ गोरु बगाएर मरेका थिए । 

स्वामीकार्तिक–१ को रुडी, मुक्तिकोट, भामखोला, वडा २ को पुडेनी, छुद्दरी, वडा ३ को गोब्रेपाटा, बाबिया र छान्ना टोल पनि बाढीपहिरो र खडेरीको उच्च जोखिममा निष्कर्ष समितिको छ ।


गत बुधबार साँझको मुसलधारे वर्षाले आएको बाढीमा परी छुद्दरी टोलको मेलामा चराउन लगिएका ३९ गाईगोरु एकैसाथ बगेका थिए । २० पशुचौपाया बग्दाबग्दै उद्धार गरिएको थियो । ‘यति धेरै चौपाया एकचोटि बगाउने ठाउँ कत्तिको जोखिममा छ भन्ने कुरा कसैबाट लुकेको छैन,’ स्थानीय मनबहादुर रोकायाले भने, ‘हामीलाई जोखिमको बस्ती भन्नुभन्दा पनि त्यस्ताबेला उद्धार छिटो गर्न सकिने उपाय लाइदिए हुने हो ।’


स्वामीकार्तिकका बर्कु, छुद्दरी, रुडी, जोरु, मुक्तिकोट, सुपाना, पुडेनी, जुकु, वाई, जुकु र मिगुलगायत ठाउँमा वर्षामा बाढीपहिरोको जोखिम त छँदै छ, हिउँदमा खडेरीको पनि समस्या छ । अन्य क्षेत्रमा सार्ने निर्णय भएको थियो । वर्कु, रुडी, जोरु र मुक्तिकोट क्षेत्रलाई सुईजिउलादेखि तिखाजुर क्षेत्रमा स्थानान्तरण गर्ने जिल्ला विपद व्यवस्थापन समितिले योजना बनाएको थियो ।


उक्त योजना कार्यान्वयन भएको छैन । ‘जोखिम क्षेत्र पहिचान गरेर स्थानान्तरण गर्ने निर्णय भए पनि स्थानीय मानेका छैनन्,’ जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने, ‘तत्काल स्थानान्तरण गर्न सुइजिउलाको स्थानीयलमानेनन् ।’ धेरैवटा बस्ती एकैपटक स्थानान्तरण गर्न सहज नहुने भएकाले पनि योजना छिटो अघि नबढेको उनले बताए ।


अविरल वर्षाका बेला छुद्दरीका गाउँले रातभर निदाउँदैनन् । बाढीपहिरोको त्रास छ । छुद्दरीमा प्रायजसो पाखो र भिरालो जग्गा छ । सिँचाइका लागि खेतीयोग्य जमिन छैन । ‘असारमा पानी परे खेती लगाउँछौ नत्र बाँझै रहन्छ । कति साल त बाँझै रह्यो,’ स्थानीय हंस बुढाले भने, ‘हामी रोजगारीका लागि भारतमा गएर कसरी गुजारा चलायौ भनिसाध्य नै छैन ।’


बस्तीका अधिकांश घरबाट पुरुष रोजगारीका लागि भारत जाने गरेको उनले बताए । ‘माथि चट्टान तल वारिपारि बस्ती छ, बीचमा रुडीखोला छ । रातभरि खोलो गर्जिन्छ, तलबाट कर्णाली बग्छ,’ उनले भने, ‘हामीलाई त रातभरि निद्रा लाग्दैन ।’ बस्ती अनुपयुक्त ठाउँमा बसेको भए पनि छाडेर हिंडिहाल्न हिम्मत नभएको उनले बताए ।


गाउँपालिकाले बाढीपहिरोबाट पीडितको अवस्था अध्ययन गरेको १ नम्बरका वडाध्यक्ष जनकबहादुर रोकायाले बताए । ‘गाउँपलिका, वडा, प्रहरी र स्थानीय नागरिक अगुवाको सहभागितामा बस्ती स्थानान्तरणसँगै बाढीपीडित र जोखिम बस्तीको अध्ययन गरिँदै छ,’ उनले भने, ‘विपदबाट जोगाउन बस्ती स्थानान्तरणमै जोड दिनुपर्ने अवस्था छ ।’ उच्च जोखिम क्षेत्रका बासिन्दालाई तत्काल छिमेकीका घरमा पठाइएको र बाँकी परिवारलाई सोही ठाउँमा सुरक्षित रहन आग्रह गरिएको उनले बताए ।

प्रकाशित : भाद्र १, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?