३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोशनको चम्पारन ब्लुज

खगेन्द्र संग्रौला

काठमाडौ — २०५८ सालमा रोशन शेरचनको मस्तिष्कहरूको मृत्युको विमोचनमा मैले पण्डित हुने मौका पाएको थिएँ ।

कृतिमाथि टिप्पणी गर्दा भनेका केही कुराको मलाई सम्झना छ । यस कृतिको केन्द्रीय भावमा आत्मकेन्दि्रत प्रवृत्तिको रन्को थियो । त्यसमा आत्मपीडनको भावना थियो । मैले भनेको थिएँ- शेरचन संवेदनशील युवा हुन् । समाजभरिको पीडा उनी हृदयमा राख्छन् र आफैँलाई पीडा दिन्छन् । परपीडक हुनुभन्दा त आत्मपीडक हुनु नै राम्रो । परपीडक हुनु अकारण अरूलाई दुःख दिनु हो । आत्मपीडक हुनु आफैँलाई दुःख दिनु हो । अरूको दुःख देखेर आफू दुखित हुनुमा म मानवीय संवेदनाको पुट देख्छु । रोशनमा त्यो छ ।
पाण्डुलिपि पढ्दा यसको शीर्षक मलाई थाहा थिएन । रोशनलाई सोधेँ, पाण्डुलिपिको शीर्षक के हो ? उत्तर आयो- चम्पारन ब्लुज  । गातोको सिरानमा कलात्मक अक्षरमा चम्पारन ब्लुज
रहेछ । मेरा बेहोसी आँखा त्यसमा परेनछन् । सोचेँ, मेरा आँखामा बुढौलीको गोधुली छाउन थालेछ क्यार । चम्पारन ब्लुज पढ्दै त्यसको अर्थमा म घोत्लिएँ । ब्लुज अर्थात् दुःख, आह, क्लेश, सन्ताप, भुक्तमान ।
यस ब्लुजका निबन्धमा मैले तीन कुरा पाएँ । यसमा रचनाकार रोशनका जीवनयात्राका डोबहरू छन् । उनी जन्मेर हुर्केका मुस्ताङ, भैरहवा र पोखरामा चक्रीय वृत्तमा घुमेका छन्, यी
डोबहरू । चक्रीय यात्राका स्मृतिहरूलाई उनले संस्मरणको भाकामा लिपिबद्ध गरेका छन् । रोशनको पठनयात्राको अभिलेख पनि हो यो सँगालो । उनले जिज्ञासु पाठक र अन्वेषणशील सर्जकका रूपमा कहिले के पढे, ती लेखक वा ती कृतिले उनमा कस्तो प्रभाव पारे र फर्केर हेर्दा ती प्रभावहरूबारे उनी के सोच्छन्, यसमा त्यसको खुलासा छ । त्यसैले यी निबन्धहरू उनको दृष्टिकोण निर्माणको शृङखलाबद्ध कथाका डोबहरू पनि हुन् । समाजसँग विभिन्न परिवेश र सन्दर्भमा रोशनको नाता गाँसिदै गयो । आफू सामाजिक कार्यकर्ता हुनाले पनि त्यो स्वाभाविक थियो । रोशनको मानसमा समाजको पिँधमा निसासिएका विपन्नहरू, विभेद र वञ्चनामा पारिएकाहरूप्रति समभाव जाग्यो । यो सँगालोले रोशनको जीवन परिवेश, पढेका कृति,  गुरु थापेका लेखक र यी सबैकोे योगबाट बनेको उनको जीवनदृष्टिको
कथा कहन्छ ।
मस्तिष्कहरूको मृत्युमा लेखक आफैँतिर फर्केका थिए । र नै मैले त्यो आत्मकेन्दि्रत थियो भनेँ । यो ब्लुजमा भने रोशन अरूतिर फर्केका
छन् । यो सङ्ग्रह लेखकको आत्मस्वीकृतिको अभिव्यक्ति पनि हो । रोशन  गुरु थाप्ने लेखक हुन् । असामान्य प्रतिभाबाहेक सबै स्रष्टाहरूले साधनायात्रामा गुरु थापेका हुन्छन् । मैले गुरुप्रसाद मैनालीलाई गुरु थापेको थिएँ । सुरुमा मैले तिनको नक्कल गरेंँ । विभिन्न कालमा, विभिन्न श्रेष्ठ लेखकलाई मैले गुरु थापेँ । गुरु थापेर नक्कलमात्र गर्दा लेखक बनिँदैन । तर सुन्दर लेखनको संरचना, विषयगठन र भाषा-शैलीबाट प्रभावित हुनु र रचनात्मक ढङ्गले अनुकरण गर्न खोज्नु लेखक बन्ने दिशातर्फ उन्मुख हुनु हो । रोशनको गुरु थपाइका रोचक अनुभवहरू छन् । यी निबन्धहरूमा लेखकीय जीवनका पृथक कालखण्डमा भिन्नभिन्न लेखकप्रति रोशनको विचित्रको मोह र मोह न्युनीकरणको कथा भनिएको छ ।
कथा भन्छ, एकताक रोशन सरूभक्तबाट सम्मोहित थिए । भनुँ भने उनी सरूभक्तको छायाजस्ता थिए । सरू नजिक हुँदा पनि नहुँदा पनि उनलाई उनको छायाले गाँजिरहन्थ्यो । उनी लेख्छन्, सरूभक्तहरू लेखिसकेपछि सरूप्रतिको अतिशय मोह वा सरूको व्यक्तित्वको दबाबबाट उनी मुक्त भए । अनेक लेखकसित उनको मोहमोचनका अनेक रोचक क्षणहरू छन् । यी रोशनको लेखकीय दृष्टिकोण र रचनाशीलतामा आफू आफैँ भएर उभिने विलक्षण क्षणहरू हुन् ।
रजनीशबारे पनि रोशनको मत यस्तै छ । रजनीशबारे उनको र मेरो मत मिल्छ । कुनै बेला रजनीशलाई म खुब मनपराउँथेँ । म त
वामपन्थी । कम्युनिष्ट पाठशालाको पेटीपेटी हिँड्ने विद्यार्थी म । त्यो बेला वामपन्थी वा कम्युनिष्टले रजनीशको नामै सुन्न मिल्दैनथ्यो । हाम्रो विशुद्ध शास्त्रको कठोर संहिताले रजनीश सुन्न वर्जित गथ्र्यो । तर म परेँ विचार र साहित्यको विद्यार्थी । विचार र स्वभावले अर्ध-अराजक । सुरुमा रजनीश क्यासेट चक्कामा उपलब्ध थिएनन् । पुस्तकमा उपलब्ध थिए । मैले रजनीश पढेँ । पछि चक्का सुनेँ ।
म रजनीशलाई एक विलक्षण तर्कबाज, वागी विचारक, अथक मूर्तिभञ्जक र सम्मोहनकारी वक्ता ठान्थेँ । पछि रजनीशमाथि उनका अनन्य भक्तहरूले लेखेका केही अन्तरङ्ग टिप्पणीहरू र कठोर आलोचनाहरू पढेँ । मैले रजनीशको कथन र आचरणबीच भयावह खाडल देखेँ । र त्यो खाडलमा ढोङको कुरूप चित्र देखेँ । उनका आश्रमहरूमा कृत्रिमता, क्रूरता, यातना र पाखण्ड देखेँ । र मैले रजनीशप्रतिको निष्ठा र मोहलाई घटाएर साइजमा ल्याएँ ।
रजनीशबाट अति प्रभावित रोशनले एकपटक सरूभक्तलाई सोधेछन्, दाइ, रजनीशबारे तपाईंको धारणा के छ ? शब्दका कन्जुस सरूले अर्थपूर्ण मौनता प्रदर्शन गरेछन् । रोशनले लख काटे, सरूभक्तको रजनीशप्रति खासै मोह रहेनछ । आफ्ना अनन्य गुरुबाट मौन प्रतिक्रिया पाएर रोशनले पनि रजनीशप्रतिको मोहको साइज घटाएछन् । रजनीश वास्तवमा जे हुन् र जति हुन्, उनलाई त्यही थान्कोमा राखेर उनलाई हेर्न
थालेछन् । यस्ता दृष्टान्त चम्पारन ब्लुजमा धेरै छन् ।
रोशनले वैयक्तिकता र निर्वैयक्तिकतामाथि रोचक टिप्पणी गरेका छन् । उनी अल्वेर कामुको आउटसाइडरलाई मानवता निरपेक्ष कृति मान्छन् । युजी कृष्णमूर्ति र जे कृष्णमूर्तिको चिन्तन प्रवृत्तिलाई पनि उनले मानवीय तुलोमा तौलिएर हेरेका छन् । कुनै बेला रोशन युजी कृष्णमूर्तिबाट औधी प्रभावित थिए । युजी कृष्णमूर्ति परे एकदमै निर्वैयक्तिक चिन्तक । समाजको सुखदुःख, सपना र नियतिसँग उनलाई चासो छैन । उनी जीवनलाई एउटा फिजिकल इन्टिनीका रूपमा हेर्छन् । तर जे कृष्णमूर्ति फरक छन् । उनी संवेदनशील छन् । उनी समाजसँग छन् । समाजको सुखदुःखको उनी हेक्का राख्छन् ।
रोशनले भीएस नैपल र आरके नारायणमाथि पनि तुलनात्मक दृष्टि प्रक्षेपण गरेका छन् । नैपल रोशनको दृष्टिमा अत्यन्तै निर्वैयक्तिक छन् । त्यसको विपरीत आरके नारायण वैयक्तिक छन् । रोशनको चयनमा निर्वैयक्तिक लेखनभन्दा वैयक्तिक लेखन उत्तम हो । त्यो बढी जीवनमुखी हुन्छ । समाजको नियतिप्रति संवेदनशील हुन्छ । तपाईँका वैयक्तिक अनुभव, सपना वा आग्रह समाजको नियतिसँग नजोडिए तपाईँ आत्मकेन्दि्रत हुनुहुन्छ । र तपाईंलाई पढ्नुपर्ने कुनै जरुरी हुँदैन । व्यक्ति र समाज, वैयक्तिकता र सार्वभौमिकता यी दुई तत्त्वकोे जहाँ योग हुन्छ, त्यहाँमात्र लेखकले अर्थपूर्ण कृतिको सिर्जना गर्न सक्छ । यो धेरै लामो यात्रापछि, धेरै लेखक पढेपछि, धेरैका कुरा सुनेपछि, धेरै चिन्तन र मन्थन गरेपछि रोशनले निर्माण गरेको जीवन र साहित्यप्रतिको दृष्टिकोण हो ।
लेखनको स्वतस्र्फुतताबारे हामी खुब कुरा गर्छौं । लेखक संगठनमा आबद्ध हुनु हुन्छ कि
हुँदैन ? उसले माथिको आदेशमा लेख्नु हुन्छ कि हुँदैन ? लेखक र संगठन अनि लेखक र समाजको नाताबारे विवाद छ । यो विवाद लेखन प्रक्रियासँग पनि गाँसिएको छ । लेखन प्रक्रियाबारे रोशनको आफ्नै धारणा छ । उनी भन्छन्, सामान्यतया लेखन स्वतस्र्फुत हुन्छ । लेख्नुअघि योजना बनाएर, खाका खिचेर, सूत्र निर्माण गरेर लेखिँदैन । कला सामान्यतया अराजक अभिव्यक्ति हो । कलाले मठ र मठाधीशहरूमाथि प्रश्न उठाउँछ । सत्ताहरूमाथि औँलो ठड्याउँछ । राज्यसत्ता, धर्मसत्ता, पार्टीसत्ता आदिलाई कलाले प्रश्न गरिनै रहन्छ । तर  कला राजनीति र समाजबाट विमुख भने हुँदैन । सामान्यतया लेखन स्वतस्फुर्त हुन्छ । तर स्वतस्फुर्त रूपमा केही लेख्नको लागि तपाईंको दिमागमा केही चिज पहिले नै बनिसकेको हुनुपर्छ । अर्धचेत रूपमा तपाईंको दिमागमा कुनै न कुनै प्रतीक, विम्ब र संरचना बनेको छैन भने रहरले वा लडहले साहित्य सिर्जना गर्न सकिँदैन । यो रोशनीय मान्यता हो । यस अर्थमा रोशन सचेत सर्जक हुन् ।
रोशन बागी लेखक हुन् । स्थापित परम्परा, मान्यता, रीति, विधि र रूढीहरूमाथि उनी प्रश्न गर्छन् । छाँटले साहित्यका उनका नायक एलेन गिन्सवर्ग हन् । गिन्सवर्ग अमेरिकाका नागरिक । अमेरिका जहाँ त्यो बेला कम्युनिष्ट शब्दको उच्चारण गर्नुमात्र पनि अपराध ठहरिन सक्थ्यो ।  भियतनाम युद्धको विरोध गर्नेहरू दण्डित
हुनसक्थे । तर गिन्सवर्गले विद्रोह गरे । तिनले कठोर भाषामा युद्धविरुद्ध बोले र अमेरिकी सत्ताको साम्राज्यवादी चरित्रलाई अमेरिकी भूमिमै उभिएर हाँक दिए । कवितामा उनले भने- सानो छँदा म कम्युनिष्ट थिएँ, अहिले म माक्र्सवाद पढ्दैछु । गिन्सवर्गको यो उद्घोष ठट्टा होइन ।
रोशनमा प्रखर कलाचेत छ । विडम्बनावश उनका कतिपय निबन्धहरूमा यथार्थका कोरा तथ्यहरूको सपाट वर्णन छ । सम्पादन गरी यी निबन्धहरूलाई लालित्यको एउटै लयमा राख्न सकिएको भए कति राम्रो हुन्थ्यो ! आशा गरौँ, अर्को संस्करणमा यसो गरिनेछ । रोशन अध्ययनशील र साधनाशील त छँदैछन्, उनी सामाजिक दायित्वप्रति  गम्भीर पनि छन् । समकालीन युवा पुस्ताको उनी एक उम्दा गद्य लेखक हुन् । यो सँगालो पठनीय पनि छ, मननीय पनि छ । बस् ।

प्रकाशित : आश्विन २३, २०६७ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?